नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपमा जारी आन्दोलनका क्रममा मङ्गलबार गर्ने भनेको 'ऐन कार्यान्वयनका लागि कान्तिपुरलाई एक रुपैयाँ सहयोग कार्यक्रम' स्थगन गरेको छ ।
महासंघले सोमबार सूचना निकालेर वार्ताको वातावरण बनाउन भन्दै यसअघि घोषित 'कान्तिपुरलाई एक रुपैयाँ सहयोग' कार्यक्रम स्थगित गरेको जनाएको हो ।
महासंघले कान्तिपुर व्यवस्थापनबाट 'निष्कासितलाई पूर्नवहाली, सरुवा बदर, प्रष्टिकरण फिर्ता, कानुन बमोजिम अवकाश प्रक्रिया अघि बढाउने र काम गर्ने वातावरण सिर्जना गर्ने पूर्वप्रतिबद्धता सहित वार्ता आह्वान गरिएको' जनाएको छ ।
"महासंघले राखेको मागका सन्दर्भमा वार्ताको माध्यमबाट निष्कासितलाई पूर्नवहाली, सरुवा बदर, प्रष्टिकरण फिर्ता, कानुन बमोजिम अवकाश प्रक्रिया अघि बढाउने र काम गर्ने वातावरण सिर्जना गर्ने पूर्वप्रतिबद्धता सहित वार्ता आह्वान गरिएकाले....", महासंघको सूचनामा भनिएको छ, "वार्ताको वातावरण सिर्जना गर्न मिति २०८० मंसिर १२ गतेको घोषित कार्यक्रम स्थगन गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।"
कान्तिपुरमा ८२ जना पत्रकारहरूलाई गैरकानुनी ढङ्गले निष्कासन तथा सुरुवा गरिएपछि महासंघको नेतृत्वमा आन्दोलन जारी छ । कार्यक्रम अन्तर्गत सोमबार पनि पत्रकारहरूले कान्तिपुरमा धर्ना दिएका थिए ।
गत कात्तिक १७ गते घोषित दोस्रो चरणको आन्दोलन मंसिर २० गतेसम्मका लागि तय गरिएको थियो । महासंघले श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारका जायज माग यथाशीघ्र सम्बोधनका लागि गत असोज २९ गतेदेखि दबाबमूलक आन्दोलनको घोषणा गरेको थियो ।
नेपालको प्रभावशाली मिडिया कान्तिपुरमा के भइरहेको छ ? कान्तिपुरको श्रम सङ्कटमाथि मिडिया कुराकानीको निगरानी पढ्नुहोस् ।
यस्ता छन् महासंघका संघर्षका कार्यक्रमहरू:-
- मंसिर ८- कान्तिपुरमा धर्ना (दिउँसो ४ देखि बेलुकी ५ बजेसम्म) -थापाथलीमा सबैजना
- मंसिर ९ - कान्तिपुर संघर्ष समन्वय समिति आन्तरिक तयारी छलफल
- मंसिर १०- ऐन कार्यान्वयनका लागि छलफल केन्द्रीय समिति
- मंसिर ११ - धर्ना (दिउँसो ४ देखि बेलुकी ५ बजेसम्म)- थापाथलीमा सबैजना
- मंसिर १२ - ऐन कार्यान्वयनका लागि कान्तिपुरलाई एक रुपैयाँ सहयोग अभियान देशैभरका शाखामार्फत- सार्वजनिक स्थानमा
- मंसिर १३ -धर्ना (दिउँसो ४ देखि बेलुकी ५ बजेसम्म) -थापाथलीमा सबैजना
- मंसिर १४ - ऐन कार्यान्वयनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउने शाखाले जिल्ला प्रशासनमार्फत र केन्द्रमा -सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत
- मंसिर १५ - धर्ना (दिउँसो ४ देखि बेलुकी ५ बजेसम्म) -थापाथलीमा सबैजना
- मंसिर १६ - सरोकारवालासँग छलफल आन्दोलन संयोजन समिति र अन्य सरोकारवालासँग
- मंसिर १७ - सार्वजनिक स्थलमा अन्तरक्रिया तथा ऐन कार्यान्वयनका लागि हस्ताक्षर अभियान पाठक, दर्शक तथा स्रोतासँग -काठमाडौंमा
- मंसिर १८ - धर्ना (दिउँसो ४ देखि बेलुकी ५ बजेसम्म)- थापाथलीमा सबैजना
- मंसिर १९ - नागरिक समाजसँग महासंघको अन्तरक्रिया- काठमाडौंमा
- मंसिर २० - धर्ना (दिउँसो ४ देखि बेलुकी बजेसम्म ५)- थापाथलीमा सबैजना
महासंघ र कान्तिपुरबीच बढेको तिक्तता अचानक कसरी हट्यो ?
कान्तिपुर पब्लिकेसन्सले ८२ जना पत्रकारहरूलाई गैरकानुनी ढङ्गले निष्कासन तथा सरुवा गरेपछि त्यहाँका पत्रकारहरू आन्दोलित छन् । कतिपय पत्रकारहरूले व्यवस्थापनले घोषणा गरी त्यहाँस्थित महासंघ शाखासँग गरेको सहमतिअनुसारको प्याकेज स्वीकार गरी राजीनामा पनि गरेका छन् भने कतिपयले उक्त प्याकेज स्वीकारेका छैनन् ।
उक्त सहमतिलाई बहुसंख्यक पत्रकारहरूले अस्वीकार गरेपछि पत्रकार महासंघले कान्तिपुरलक्षित आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो । यसक्रममा महासंघले व्यवस्थापनको स्वार्थमा रहेको भन्दै कान्तिपुरमा रहेको आफ्नै शाखालाई निलम्बन गरेको थियो ।
कान्तिपुर पब्लिकेसन्स लिमिटेडले यसअघि सार्वजनिक विज्ञप्तिमार्फत् महासंसँग कुनै पनि हालतमा सम्झौता नगर्ने अडान लिएको थियो । तर अचानक महासंघ र कान्तिपुर वार्ताको 'वातावरण बनाउन' तयार भएका हुन् ।
Developing Sotry