नयाँ पत्रिका राष्ट्रिय दैनिकले पत्रिकाको मूल्य बढाएको छ । पाठकहरूले अब नयाँ पत्रिका १० रूपैयाँमा किन्नुपर्ने छ । आइतबारदेखि नयाँ पत्रिकाको मूल्य बढेको हो । यसअघि नयाँ पत्रिकाको मूल्य ५ रूपैयाँ थियो ।
देशमा देखिएको आर्थिक मन्दी र त्यसले मिडिया क्षेत्रमा पारेको प्रभावका कारण आर्थिक भार थेग्न नसकेर मूल्य बढाउनु परेको नयाँ प्रकाशन प्रालिका अध्यक्ष, प्रबन्ध निर्देशक तथा नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले मिडिया कुराकानीलाई जानकारी दिए ।
"अहिले आर्थिक संकटले ५ रुपैयाँमा बेचेर पत्रिका धान्न सकिएन, विश्व मिडिया नै खर्च कटाउने अवस्थामा पुगेको अवस्था छ", अध्यक्ष देवकोटाले भने, "पाठकलाई सहुलियत दिउँ भन्ने नसोचेको होइन तर सकिएन ।"
तीन ब्रोडसिट दैनिक कान्तिपुर, नागरिक र अन्नपूर्ण पोस्टले २०६८ मंसिर २८ गतेदेखि कार्टेलिङ गरी एकैपटक ५ रुपैयाँबाट १० रुपैयाँ मूल्य बनाएका थिए। तर त्यसबेला नयाँ पत्रिकाले मूल्य वृद्धि गरेको थिएन ।
पहिलो पटक हैन मूल्यवृद्धि !
उसो त, नयाँ पत्रिकाले यसअघि २०७२ असोज २१ मा पनि नयाँ प्रकाशन प्रालिले पत्रिकाको मूल्य १० रुपैयाँ बनाएको थियो ।
पत्रिकाको मूल्य बढाउने निर्णय अप्रिय र विवशपूर्ण भएको भन्दै प्रकाशकीय छापेर मूल्य वृद्धि गरिएको थियो । भारतको अघोषित नाकाबन्दीपछि कागज, मसी र इन्धनको डरलाग्दो असन्तुलन र विज्ञापनमा परेको प्रभावपछि हामी मूल्य बढाउन नयाँ प्रकाशन प्रालि बाध्य भएको प्रकाशकीयमा उल्लेख गरेको थियो ।
तर, सो समयमा बढाइएको मूल्य ३ वर्षमात्रै सीमित रह्यो । संविधान घोषणासँगै भारतले लगाएको नाकाबन्दी पछि नयाँ पत्रिकाले २०७५ असार ३० गते प्रकाशकीय छापेर पुन: ५ रुपैयाँमा नै पत्रिका विक्री थालेको थियो ।
अहिले मूल्यवृद्धि गर्दा भने नयाँ पत्रिकाले कुनै औपचारिक प्रकाशकीय वा जानकारी छापेको छैन ।