गत मंसिर २३ गतेदेखि बबरमहलस्थित नेपाल कला परिषदमा भारतीय फिल्ममेकर तथा अभियन्ता अमर कन्वरको 'सार्वभौम वन' को प्रदर्शनी भइरहेको छ । फोटो सर्कलले गरेको यो प्रदर्शनी आउँदो चैत १८ सम्म चल्ने छ ।
फिल्ममेकर कन्वरले सुधिर पट्टनाइक(समदृष्टि) र शेरना दस्तुरको सहकार्यमा रचना गरेको 'सार्वभौम वन' मा डकुमेन्ट्री, फोटो, विभिन्न प्रजातिका रैथाने बिउबिजन, लिखित दस्तावेज, चित्र लगायतका विभिन्न दस्तावेजहरूलाई प्रस्तुत गरिएको छ ।
के हो 'सार्वभौम वन'?
'सार्वभौम वन ' विकासका नाममा हुने विनास विरुद्धको विद्रोह हो । भारतको उडिशामा राज्यले विकासका नाममा कसरी त्यहाँका रैथाने जनजाति तथा किसानलाई जबर्जस्ती विस्थापन गरिरहेको छ भन्ने कथा यसमा छ । सार्वभौम वन अपराध, राजनीति, मानवअधिकार तथा पर्यावरणबारे उन्नत बुझाइको एक विचारोत्तेजक अन्वेषण हो ।
सन् १९५० को दशकदेखि नै उडिशामा रैथाने जनजाति तथा किसानहरूलाई जबर्जस्ती विस्थापन गर्ने क्रुर जीवनचक्र अहिलेसम्म चलिरहेको छ ।
पछिल्ला २५ वर्षमा थुप्रै पर्वत श्रृंखला, वनजंगल तथा कृषियोग्य जमिन व्यावसायिक प्रयोजनका लागि खनिज उत्खनन् समूह तथा व्यापारिक प्रतिष्ठानहरूलाई दिइएको वा बेचिएको छ ।
फलस्वरुप, त्यहाँका थुप्रै वनजंगल, पर्वत श्रृंखला र कृषियोग्य जमिन व्यापारिक प्रतिष्ठानहरूले हडप्न सुरु गरे । यस्ता प्रतिष्ठानहरूलाई पोस्दै राज्यले उल्टो त्यहाँका आदिवासी स्थानीयहरूमाथि दमन गर्यो ।
राज्यले मात्रै दमन गरेन, राजनीतिक दलका नेताहरू, सरकारी अधिकारी, प्रहरी, प्रशासन तथा आपराधिक समूहको मिलेमतोमा उनीहरूलाई चरम यातना दिइयो ।
राज्यले सजिलै मानिसहरूको जमिन अधिग्रहण गर्न थाल्यो । बदनियतपूर्ण तरिकाले त्यसको प्रक्रिया सजिलो बनाइएको थियो ताकि बिना कुनै झन्झट मानिसहरूलाई लखेटेर व्यापारिक महत्त्वाकांक्षा पूरा गर्न सकियोस् ।
राजनीतिक दलहरू, सरकारी विभागहरू तथा न्यायालयभित्र भ्रष्टाचार विकराल बन्यो । किसान, माझीहरू र रैथाने आदिवासी समुदायहरूद्वारा स्थानीय प्रतिरोधको श्रृंखला सुरु भयो ।
'सार्वभौम वन' तिनै रैथाने जनजाति तथा किसान, वनजंगल, पर्वत श्रृंखला र कृषियोग्य जमिनहरूको संरक्षणको आह्वान हो । फिल्ममेकर कन्वरले सन् १९९९ देखिका दस्तावेजहरूलाई प्रदर्शनमा समेटेका छन् ।
फोटोमा हेर्नुहोस् प्रदर्शन-
कन्वरले सार्वभौम वनमा एउटा रुखलाई प्रतिबिम्बित गर्दै विकासका नाममा हुने विनास र आदिवासीमाथि हुने दमनको विरोध गरेका छन् ।
'सर्वभौम वन'का मुख्य पात्र निधान (रुख) हो । आफ्नाहरु लुटिएपछि (प्राकृतिक स्रोत र साधन दोहन) उनि यतिबेला न्यायको पर्खाईमा छन् । उनिसँग विधोसंकारि (व्यवसायिक प्रतिष्ठान)हरु विरुद्ध धेरै प्रमाणहरु छन् । तर न्यायधिस (राज्यसत्ता) मुकदर्शक बनेर बसेको छ।
निधान आफ्नाहरुको न्ययको लागि दिनरात डटीरहेको छ । उनले अदालत झकझक्यायो, संविधान बनायो तर उनको लागि बोल्दिने कोही भएनन् ।

न्याय चियाइरहेको निधान (रुख)। र, निधानलाई चियाइरहेका दर्शक, जो निधानको लडाईमा सारथि बन्दै छन् ।

निधानले आफ्नाहरूको न्यायका लागि लड्न बनाएको संविधान, जहाँ कोरिएका छन्, उनका अधिकारका गाथा ।

न्यायाधीशले अन्देखा गरेको दस्तावेज र लाचार संविधान ।

राज्यसत्ता र न्यायाधीशले अन्देखा गरेका दस्तावेजहरूमा विकासका कारण विस्थापितहरूका कथा लिपिबद्ध छन् ।

'सार्वभौम वन' पुँजीवादी विकास विरुद्धको लडाईँको दस्तावेजीकरण पनि हो ।

माटोको गन्धसँग रत्तिने किसानहरूलाई अराष्ट्रिय करार गर्न राज्यसत्ताले विकासका नाममा अनेक प्रमाणहरू तयार पारेको छ ।

निधानको दुखान्त अडियोमा पनि सुन्न सकिन्छ ।

निधानको व्यथा बुझेपछि प्रमाण नियालिहरेका दर्शक, जो निधानको राज्यसत्तासँग चिढिएका छन् ।

निधानको पक्षमा खटिएका पाइलाहरू ।

निधानलाई जोगाउनका लागि आफ्नो ज्यान जोखिममा पार्नेहरूको दस्तावेज नियाल्दै दर्शक ।

नथाकेका पाइलाहरू ।

अझैपनि निधानको पक्षमा खटिरहेका छन् रैथाने किसानहरू ।