युवा तथा खेलखुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कारको लागि आवेदन खोलेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै ३० दिन भित्र आवेदन दिन भनेको छ।
पत्रकारिताको माध्यमबाट नेपालको युवा विकासमा महत्वपूर्ण योगदान पुर्याएका नेपाली पत्रकारहरूलाई आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने पुरस्कारको लागि 'युवा पत्रकारिता पुरस्कार कार्यविधि, (पहिलो संशोधन) २०७५ को अनुसुचि १ बमोजिमको फारम भर्न भनिएको छ ।
फारम अनुसारको विवरणलाई पुष्टि गर्ने कागजातहरू समेत संलग्न गरी पत्रकार आबद्ध संस्था वा दुई जना वरिष्ठ पत्रकारहरूद्वारा सिफारिस गरी मन्त्रालयमा दर्ता गराउन वा मन्त्रालयको इमेल [email protected] मा पठाउन भनिएको छ ।
छापा (दैनिक, साप्ताहिक, पाक्षिक, मासिक र अन्य पत्रपत्रिका), रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यममा कार्यरत युवा पत्रकारले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् ।
छनोटका आधार
युवा पत्रकारिता पुरस्कारको लागि छनोटका न्यूनतम आधारहरु –
(क) युवाका सवाल, युवाका अधिकार, कर्तव्य, उद्यमशीलता, स्वरोजगार, स्वयंसेवा, सहभागिता, सकारात्मक सोच प्रवाह लगायतका क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको,
(ख) युवा पत्रकारिता क्षेत्रमा कम्तिमा तीन वर्ष निरन्तर क्रियाशील रहेको
(ग) प्रेस काउन्सिल नेपाल तथा नेपाल पत्रकार महासंघबाट कुनै कारबाहीमा नपरेको,
(घ) कुनै फौजदारी अभियोगमा दोषी नठहरिएको,
(ङ) सरकारी पेश्की तथा बेरुजु नरहेको ।
पुरस्कारको लागि मूल्याङ्कनको आधारः
| क्र.सं. | मूल्याङ्कनको आधार | पूर्णाङ्क |
| (क) | युवा जागरण, श्रमको सम्मान र सकारात्मक सोच प्रवर्द्धन तथा सामाजिक विकृति, विसङ्गति, विभेद न्यूनीकरण, सामाजिक सद्भाव र शान्ति निर्माणका सवालमा पत्रकारिताको माध्यमबाट सहयोग पुर्याएको | १६ |
| (ख) | युवा विकासका सवालमा उपलब्ध अवसर र सम्भावना उजागर गरेको | १६ |
| (ग) | युवा उद्यमशीलता विकास, रोजगारी/स्वरोजगारीका सवालमा पत्रकारिता मार्फत योगदान पुयाएको | १६ |
| (घ) | पत्रकारिताको माध्यमबाट विशेष प्राथमिकताका समूहका युवाको विकासमा क्रियाशील रहेको |
१६ |
| (ङ) | युवा पत्रकारिताको क्षेत्रमा निरन्तर क्रियाशील रहेको | २० |
| (च) | दुर्गम तथा पिछडिएको क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट युवा विकासको क्षेत्रमा क्रियाशील रहेको | १६ |
| जम्मा | १०० |
आवेदन परेकाहरू मध्येबाट उत्कृष्ट युवा पत्रकारहरूको नाम सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा ६ सदस्य सिफारिस समिति निर्धारण गर्ने व्यवस्था कार्यविधिमा छ ।
समितिले मूल्यांकन तालिकाको आधारमा अधिकतम अंक प्राप्त गर्ने कम्तिमा एकजना महिलासहित चारजना उत्कृष्ट पत्रकारहरुलाई पुरस्कार प्रदान गर्न मन्त्रालयसमक्ष सिफारिस गर्ने जनाइएको छ ।
युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेले सम्मान पत्र सहित जनही ५० हजार रुपैयाँ पुरस्कार पाउँछन् ।