पत्रकार महासंघको संस्थापकको विवादलाई निहुँ बनाएर पुस्तक विमोचनमा जे भयो, त्यो पत्रकारिता जगतकै लागि लज्जास्पद घटना हो
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरूले ‘अग्र अनुहार’ विमोचन गर्न के लागेका थिए, एकथरी पत्रकारहरू मञ्चमै उग्र रूपमा प्रस्तुत भए । आक्रोश यतिसम्म थियो कि उनीहरूले अतिथिहरूको हातबाटै थुतेर पुस्तक च्यातिदिए ।
नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले तयार पारेको ‘अग्र अनुहारः कथा अग्रजको, गाथा महासंघको’ पुस्तक विमोचन कार्यक्रम आइतबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको थियो ।
नेपाल पत्रकार महासंघको पहिलो अध्यक्ष को हो भन्ने विवाद नयाँ होइन । इतिहास ऐतिहासिक तथ्य हो । र, यसको अध्ययन उत्खननमा बन्देज लगाइनु हुँदैन । तर त्यही विवादलाई निहुँ बनाएर पुस्तक विमोचन कार्यक्रममा जे भयो, त्यो समग्र पत्रकारिता जगतकै लागि लज्जास्पद घटना हो ।
प्रतिष्ठान प्रदेश समितिले तयार पारेको पुस्तकमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरूको जीवनी समेटिएको छ । पुस्तकमा वि.स. २०१२ मा गठित ‘नेपाल पत्रकार संघ’का संस्थापक कृष्णप्रसाद भट्टराईलाई नै पहिलो अध्यक्ष मानिएको छ ।

सत्यनारायणबहादुर श्रेष्ठको तस्बिरसहित पत्रकारहरू । फोटो साभारः रातोपाटी
तर त्यसअघि नै वि.स. २००८ मा सत्यनारायण बहादुर श्रेष्ठको अध्यक्षतामा ‘नेपाल पत्रकार संघ’गठन भएको थियो । र, फोनिजको जिकिर उनलाई महासंघको पहिलो अध्यक्ष भन्नुपर्छ भन्ने छ । तर आफ्नो तर्क राख्न फोनिजको नेतृत्त्वमा आइतबार जे भयो, त्यो स्वयम् फोनिजका लागि पनि सुखद थिएन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) र नेवाः पत्रकार राष्ट्रिय दबूले माघ २७ गते शनिबार विज्ञप्ति निकालेर पुस्तक विमोचन कार्यक्रम स्थगित गर्न भनेका थिए । तर पूर्व निर्धारित कार्यक्रम रोकिएन ।
फलस्वरुप, विमोचन तयारीमा रहेको पुस्तक हातबाटै खोसेर च्यातियो । महासंघका पूर्वअध्यक्षहरू र हालका अध्यक्षविरुद्ध नाराबाजी भयो । र, कार्यक्रम बिथोलियो ।
हामी तपाईँलाई नेपाल पर्यटन बोर्डको सभाहलतर्फ लैजान्छौँ जहाँ आज यो घटना घट्यो ।
सभामुख र सञ्चारमन्त्री दुबै अनुपस्थित

पुस्तक विमोचन कार्यक्रममा प्रमुख अथितिको रूपमा सभामुख देवराज घिमिरे र विशेष अतिथिका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई निम्त्याइएको थियो । तर समयतालिका भन्दा निकै ढिला सुरू भएको कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथि दुबै अनुपस्थित रहे ।
अतिथिका रूपमा महासंघका पूर्वअध्यक्ष, वर्तमान अध्यक्ष, स्वर्गीय पूर्वअध्यक्षका परिवार, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष र विभिन्न पत्रकार संगठनका पदाधिकारीहरू उपस्थित थिए । अतिथिहरूले अनुपस्थित प्रमुख अतिथि र विशेष अतिथिलाई सम्बोधन गर्दै आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका उद्घोषक नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका कोषाध्यक्ष दीपक बोहोराले प्रमुख अतिथि र विशेष अतिथि आउँदै गरेको बारम्बार बताए पनि ‘केही कारणबस’ ले आउन नसकेको पछि जानकारी गराए ।
पुस्तकमा महिला नसमेटिएकोमा आलोचना
पुस्तक विमोचनको घोषणालगत्तै पुस्तकबारे आलोचना हुन थालेको थियो । आलोचना र विवादका मुख्य दुई कारण थिए । पुस्तकमा महिला पत्रकारका बारेमा केही लेखिएन भन्ने आलोचना एउटा थियो । नेपाल पत्रकार महासंघका कार्यसमितिहरूमा महिलाहरूको प्रतिनिधित्व रहे पनि हालसम्म अध्यक्षमा महिला पुगेका छैनन् ।
महासंघको प्रतिष्ठान प्रदेशका उपाध्यक्ष वीरेन्द्र ओलीले स्वागत मन्तव्य राख्दै पुस्तकमा पत्रकार महासंघका पूर्व अध्यक्षहरूलाई समेटिएको र हालसम्म महासंघमा महिला अध्यक्ष नरहेको बताए । विवादको अर्को कारण महासंघको पहिलो अध्यक्ष को हो भन्ने विवाद थियो ।
पूर्व अध्यक्ष भन्छन्- यो इतिहासको अन्त्य होइन
महासंघका पुर्व अध्यक्ष किशोर नेपालले आफू २००८ सालमा जन्मेको र २०१२ सालमा ४ वर्षको रहेको बताउँदै इतिहासको बारेमा थप अनुसन्धान गर्न सकिने बताए । ‘इतिहासको बारेमा अनुसन्धान गर्न सकिन्छ । पुस्तकमा जे लेखियो त्यो नै अन्त्य हो भन्ने हुँदैन’, उनले भने ।
महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले पुस्तकलाई नेपाली पत्रकारिताको इतिहास भने । पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीले पुस्तकबाट विशेषगरी अनुसन्धानकर्ता र पत्रकारितामा रूचि राख्ने व्यक्तिले फाइदा पाउने बताए । पुस्तकमा कमजोरी भएमा प्रमाणका आधारमा संशोधन गर्न सकिने उनले बताए ।
पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी सत्य स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अनुसन्धानको ढोका सधैँ खुल्ला रहन्छ’ फोनिजले उठाएको प्रश्नबारे उनले भने, ‘हामी पूर्वअध्यक्षहरू र अनुसन्धानकर्तासँग छलफल गरेर सत्य स्थापित गर्छौं, तपाईँहरूले दुःख नमान्नुहोला ।‘
देशैभर आन्दोलन गर्ने फोनिज चेतावनी
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले महासंघले २४ घण्टाभित्र वार्ताको अवस्था सृजना नगरे देशैभरी आन्दोलन गर्ने चेतावनी दिएको छ । पुस्तक विमोचन कार्यक्रममा विरोध जनाउँदै पत्रकारहरूले स्व. सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर, पत्रकार महासंघको इतिहास सच्याउनै पर्छ, विपुल पोखरेल मुर्दावादजस्ता नारा लगाएका थिए ।
फोनिजका महासचिव मिलन लिम्बुले पत्रकारसँग कुरा गर्दै हामीले अहिले पुस्तक सार्वजनिक नगर्न सात दिनको समय मागेर सहयोग गर्छौं भन्दा पनि नमानेपछि आफूहरूले पुस्तक च्यातेको दाबी गरे ।