प्रतिनिधि सभा बैठकमा श्रमजीवी पत्रकारहरूले समयमा पारिश्रमिक नपाएको विषय उठेको छ । संघीय संसदको आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले पत्रकारहरूले झेल्दै आएको पारिश्रमको समस्या राज्यले समयमै हल गर्नुपर्ने बताए ।
संसदको शुन्य समयमा बोल्दै सांसद श्रेष्ठले श्रमजीवी पत्रकारहरूले पारिश्रमिक नपाएको विषय अहिले मिडिया हाउसबाट सडकसम्म पुगेको बताए ।
“प्रजातन्त्र पुनर्वहाली, पुनर्स्थापना मात्र हैन, सुशासन पारदर्शिता लगायत आम मानिसलाई सुसूचित गर्नमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सञ्चार जगत र श्रमजीवी पत्रकारहरू आज विषम परिस्थितिबाट गुज्ररहेका छन्", सांसद श्रेष्ठले भने, “पत्रकारहरूले झेल्दै आएको यो समस्यालाई राज्यले बेलैमा हल गर्न सकेन भने देशमा लोकतन्त्र फस्टाउन सक्दैन ।”
“राज्यको चौँथो अङ्गको रूपमा रहेको सञ्चार जगतमा कार्यरत श्रमजीवी पत्रकारहरूले समयमै पारिश्रमिक पाउनपर्ने हो कि हैन?”, उनले प्रश्न गरे ।
आफूले सञ्चार माध्यमकै विषय उठाएको सञ्चारमाध्यममा त्यसले स्थान नपाउन सक्ने भन्दै उनले सरकारलाई पत्रकारहरूले पारिश्रमिक नपाएको विषयमा गम्भीर हुन ध्यानाकर्षण गराए ।
भिडियोः