पत्रकार मिलन लिम्बूले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार (चैत ४) पत्रकार सम्मेलन गर्दै लिम्बुले आउँदो वैशाख १५ गते तोकिएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा आफूले उम्मेदवारी दिएको लिम्बुले बताए ।
"राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख–दुःखमा सँगै उभिने वाचा गर्दछु," उम्मेदवारी घोषणा गर्दै उनले भने, "संविधान र संघीयता लागू भए पनि अझै केही राजनीतिक कार्यभार बाँकी छन् । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नुछ ।"
"हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम–२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन्," इलामेली जनताले आफूलाई जिताउने दाबी गर्दै लिम्बुले भने,"अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु ।"
संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि खाली रहेको उक्त स्थानमा २०८१ साल बैशाख १५ गते उपनिर्वाचन हुँदैछ । इलाम २ मा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने लिम्बु पहिलो हुन् ।
लिम्बु सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालका सचिव हुन् भने आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव पनि हुन् ।