उप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले कान्तिपुरसहित ६ मिडियाविरुद्द मुद्धा दायर गरेकी छन् । आफूबारे झुटा दाबीसहितका समाचार बनाएर चरित्रहत्या गरेको भन्दै पौडेलले काठमाडौं जिल्ला अदालतमा कान्तिपुर सहित ६ मिडियाका अध्यक्ष, प्रकाशक, सम्पादक र सम्वाददाता विरुद्ध मुद्दा दायर गरेकी हुन् ।
३ वर्ष कैद, ३० हजार जरिवाना र जनही ५ करोड जरिवाना माग गर्दै पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइनखबर, उकेरा, अर्थ सरकोकार र जनआस्था मिडियाका अध्यक्ष, प्रकाशक, सम्पादक र संवाददातालाई विपक्षी बनाएकी छन् । उनले २९ जना विरुद्ध मुद्दा दायर गरेकी हुन् । त्यस्तै उनले प्रेस काउन्सिल नेपालमा पनि उजुरी गरेकी छन् ।

फोटो: निकिता पौडेलको फेसबुकबाट
चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए । आफूले सबै ऋण तिरिसकेको अवस्थामा आफूविरुद्ध मिडियाबाट 'हिलो छ्याप्ने' काम भएको उनले बताएकी छन् । आफूले आजीवन दु:ख गरेर कमाएको प्रतिष्ठामा आफ्नो प्रतिक्रियासमेत नलिएर ठाडै चरित्र हत्या गरिएको पौडेलको गुनासो छ ।
"एउटी नारीमाथि सबैले मिलेर देखाएको यो 'पुरुषार्थलाई' मेरो चुनौती छ । न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिंगो समाजलाई नै न्याय चाहिएको छ । तिमीहरू आफ्नो पुरुषार्थ देखाउँदै गर्नू, म अदालततिर लागेँ," उनले भनेकी छन् ।