नेपालका दुई जना पत्रकारले प्रतिष्ठित फेटिसोभ पत्रकारिता पुरस्कार जितेका छन् । रोशन सेढाई र समिक खरेलले प्रतिष्ठित फेटिसोभ पत्रकारिता पुरस्कारमा दोस्रो पुरस्कार जितेका हुन् ।
"Nepalis Feel the Human Toll of Qatar’s World Cup" शीर्षकमा प्रकाशित स्टोरीका लागि उनीहरू पुरस्कृत भएका हुन् । उक्त स्टोरीले कतारमा २०२२ फिफा विश्वकपको लागि स्टेडियम निर्माण गर्ने कामदारहरूले भोगेको दुर्व्यवहार र श्रम शोषणलाई उजागर गरिएको छ ।
'The Contribution to Civil Rights' विधामा खरेल र सेढाईले दोस्रो पुरस्कार जितेका हुन् । उनीहरुले २०,००० स्विस फ्र्याङ्क (२९,२१,१७९ नेपाली रुपैयाँ) समेत प्राप्त गरेका छन् ।
फेटिसोभ पहिलो पुरस्कार अमेरिकाका पत्रकार एना क्रट्रिन ब्रिगिडाले प्राप्त गरेकी छिन् । उनलाई 'How Surveillance Tech Helped Protect Power — and the Drug Trade — in Honduras' शीर्षकको रिपोर्टिङमा पहिलो पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै तेस्रो पुरस्कार भने भेनेजुयलाका पत्रकार क्लाउडिया स्मोलेनेस्की, मारिल्बा नुनेज् र कर्मान भिक्टोरिया इन्जोसाले प्राप्त गरेका छन् । उनीहरुले 'Series: Torture is the Neighbour' शीर्षकको स्टोरी लेखेका थिए ।
शान्ति स्थापना, नागरिक अधिकार, अनुसन्धान र वातावरणीय पत्रकारितामा उत्कृष्ट रिपोर्टिङ गर्नेहरूका लागि फेटिसोभ पत्रकारिता पुरस्कारले प्रत्यक वर्ष ५२०००० स्विस फ्र्याङ्क (७ करोड ५९ लाख ९५ हजार ३४७) धनराशीको पुरस्कार वितरण गर्ने गर्छ ।