कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेलगत्तै आफूहरूले दिएको अभिव्यक्ति त्रुटिपूर्ण रहेको बताएका छन् । उनीहरूले दिएको अभिव्यक्तिका विषयमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भैरहेको थियो ।
‘मह’ जोडीका नाममा प्रसिद्ध मदनकृष्ण र हरिवंशले जेठ १४ गते फेसबुक पेजमा भिडियो पोष्ट गरेर माफी मागेका हुन् । दुबैले आ-आफ्नो फेसबुक पेजमा माफी मागेको भिडियो पोस्ट गरेका छन् ।
“हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ”, भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठले भनेका छन्, “एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ । त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस भएको छ ।”
“अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो, हामीबाट त्रुटि भयो”, कलाकार हरिवंश आचार्यले भनेका छन्, “त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो । यो पटक पनि सबै कुरा बिर्सिदिएर माफ गर्दिन अनुरोध गर्दछु ।”
के भनेका थिए मह जोडीले ?
कान्तिपुर टिभीले महजोडीसँग कैलाश सिरोहिया पक्राउ परेको विषयमा जेठ १० गते प्रतिक्रिया लिएको थियो ।
कान्तिपुर टिभीलाई प्रतिक्रिया दिने क्रममा कलाकार मदनकृष्ण श्रेष्ठले भनेका थिए-
कैलाश सिरोहिया जस्तो व्यक्तिलाई यस्तो गर्यो सुन्दा पनि राम्रो लाग्दैन । सञ्चार क्षेत्रमा नमिठो अवस्था आयो । पोलिटिक्स भनेको के भन्दा रामायणमा रामले लक्ष्मणलाई रावणसँग गएर सोध भनेका थिए । पोलिटिक्स भनेको साम, दाम, दण्ड, भेद हुन्छ । साम, दाम, दण्ड, भेदमा गएन, एग्रेसिभ्ली लागिपरेको छ त्यो तरिका पनि ठिक भएन । पोलिटिक्स भनेपछि पोलिटिक्सकै तरिकाले जानपर्छ जस्तो लाग्छ मलाई । यो अदालतमा गएको छ अदालतले फैसला गर्ला, राम्रो गर्ला ।
कलाकार हरिवंश आचार्यले भनेका थिए -
हामीले देशमा जुन २०४६ सालदेखिको २०६२ सालसम्मको ठुल्ठुला मुभमेन्टहरू भए । त्यो बेला कान्तिपुर पब्लिकेसन विशेषगरी कैलाश सिरोहियाजीहरू हामीहरू सँगसँगै बसेर अभियानमा लागेको हो । अहिलेको ओपन परिस्थितिको चाँहि वातावरण सिर्जना नेपालको प्रेस जगतले पनि गरेको हो । यसमा अब कैलाशजी र कान्तिपुर मिडियाले पनि ठूलो भूमिका खेलेको छ । अब अहिले जहासम्म लाग्छ अदालतमा केस पुगिसक्यो र मलाई जहाँ सम्म लाग्छ अदालतले निर्दोष सावित गर्छ होला र उहाँको रिहाइ हुन्छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिक कसूरको आरोपमा प्रहरी हिरासतमा छन् । जेठ ८ गते जिल्ला अदालत धनुषाबाट पक्राय अनुमति उनलाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी धनुषा लगिएको छ । उनको नागरिकताका सम्बन्धमा फरकफरक विवरणहरू फेला परेको जाहेरी धनुषा प्रहरफमा दर्ता भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
कैलाश सिरोहिया प्रकरण के हो ? सम्बन्धित सामग्रीहरू पढ्नुहोस् ।
> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
> पक्राउ पूर्जी जारी भएपछि सिरोहियाको दाबीः ‘आफ्नो बेथितिको ढाकछोप गर्न मिडियामाथि प्रतिशोध'
> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कार्यालयबाटै पक्राउ
> पत्रकार महासंघले भन्यो- सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण
> कैलाश सिरोहियाको नागरिकता विवादका थाहा पाउनैपर्ने १० प्रसङ्ग
> कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउपछिका तरङ्ग !
> प्रधानमन्त्रीलाई सम्पादकहरूको ध्यानाकर्षण- 'रवि लामिछाने मिडियामाथि शत्रुभावका साथ जाइलागे'
> कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति
> सिरोहिया गिरफ्तारीमा गृहको साथमा रास्वपा, भन्यो- प्रेस स्वतन्त्रता हनन भनेर अपव्याख्या गरियो
> फेसबुक पेजमा नेगेटिभ रिभ्यू बढेपछि मिडियाहरूले लुकाए रेटिङ