नेपालकी वातावरण पत्रकार सोनाम लामा ह्योल्मो यस वर्षको डेभलपिङ एसिया जर्नलिज्म अवार्ड (DAJA) बाट पुरस्कृत भएकी छन् ।
काठमाडौं र हेलम्बुमा रहेर मोङ्गाबे डटकमका लागि काम गर्दै आएकी ह्याल्मो एसियाली विकास बैंक संस्थान (ADBI) बाट पुरस्कृत भएकी हुन् । सोनामसँगै अन्य मुलुकका ४ जना पत्रकारले सो पुरस्कार पाएका छन् ।
"Indigenous Gurung farmers revive climate-resilient millet in Nepal" स्टोरीका लागि उनी पुरस्कृत भएकी हुन् । वातावरण, आदिवासी अधिकार, जलवायु विज्ञान र संरक्षणको संगमस्थलमा रिपोर्टिङ गर्ने लामा आदिवासी पत्रकार संघ (IJA) की सदस्य पनि हुन् ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्ककी रिपोर्टिङ फेलो समेत रहेकी ह्योल्मोले इन्डिजिनस भोइस, अनलाइनखबर, नेपाली टाइम्स र रिपब्लिका लगायतका मिडियामा काम गरिसकेकी छन् ।
रकफेलर फाउन्डेसनको सहयोगमा एसियाली विकास बैंक संस्थान (ADBI)ले प्रत्येक वर्ष बढ्दो जलवायु जोखिमका बीच दिगो विकासलाई अघि बढाउने प्रयास स्वरुप रिपोर्टिङ गर्ने पत्रकारलाई सम्मान गर्दै आएको छ ।
यस वर्ष नेपालकी ह्योल्मोसँगै अन्य ४ जना पत्रकारले सो पुरस्कार पाएका छन् । श्रृलंकाकी दिमथु अत्तानायको
"Domestic violence is cost of climate change for Sri Lankan women" शीर्षकको स्टोरीले र दिल्लीका अह्मिर खान र द गार्डियनका लागि दक्षिण एसियाली संवाददाता हन्ना इल्सले "‘I trusted him’: human trafficking surges in cyclone-hit east India" शीर्षकमा लेखेको स्टोरीले पुरस्कार पाएका छन् ।
यस्तै पुनेकी दिशा सेठ्ठीले "India’s solar power push delivers an unexpected bonus – empowering rural women" शीर्षकमा लेखेको समाचार र क्यानेडाका आयुब सिद्दगीको "Amid changing climate, Bangladesh farming groups conserve indigenous rice seeds" शीर्षकको स्टोरीले पुरस्कार पाएको हो ।
उनीहरूले जुलाई ८ मा टोकियोमा हुने एक समारोहमा आफ्नो पुरस्कार ग्रहण गर्नेछन्।