अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । अन्नपूर्ण मिडिया नेटवर्क व्यवस्थापनले साउन २ गतेदेखि बस्नेतलाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।
बस्नेत यसअघि कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा ‘सर्कुलेसन, प्रेस र क्षेत्रीय कार्यालयहरू’ का प्रमुख थिए । पछिल्लो ६ वर्ष उनले कान्तिपुरमा काम गरे ।
१७ वर्षअघि काभ्रे जिल्ला संवाददाता भएर कान्तिपुर दैनिकबाट काम थालेका बस्नेतसँग न्यूज रिपोर्टिङ,सेल्स, डिस्ट्रिब्यूसन, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापन लगायतमा अनुभव छ । बस्नेत युथ युनेस्को क्लब यूएसए लगायतका विभिन्न संस्थासँग पनि आबद्ध छन् ।
अन्नपूर्ण पोस्टमा गत बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, ग्रुप सीईओ सनत न्यौपाने र प्रधान सम्पादक अखण्ड भण्डारी लगायतले नवनियुक्त महाप्रबन्धक बस्नेतलाई स्वागत गरेका थिए ।
बस्नेत कान्तिपुरमा आबद्ध हुनुपूर्व अन्नपूर्णमै कार्यरत थिए । बस्नेतले समय सापेक्ष परिर्वतनलाई आत्मासाथ गर्दै मिडिया उद्योगलाई अगाडि लैजाने प्रयास गर्ने बताए ।
अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण एक्सप्रेस, अन्नपूर्णपोस्ट् डटकम, एपी वान टेलिभिजन र रेडियो अन्नपूर्ण सञ्चालित छन् ।