रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् ।
सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस भएकाहरूमध्ये लामालाई नियुक्त गरेको हो ।
कार्यकारी निर्देशकका लागि २२ जनाले आवेदन दिएका थिए ।
को हुन् अमरध्वज लामा ?
काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका स्थायी बासिन्दा अमरध्वज लामाले २०५४ सालमा दिपायल प्रसारण केन्द्रबाट उद्घोषकका रुपमा सेवा सुरु गरेका थिए ।
लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्ष अघि वरिष्ठ कार्यक्रम अधिकृतबाट स्वैच्छिक अवकाश लिएका थिए ।
रेडियो नेपालको बोर्ड सदस्य समेत रहेर काम गरिसकेका लामासँग संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादकका रुपमा काम गरेको अनुभव पनि छ ।
लामा मदन भण्डारी फाउण्डेसनमा केन्द्रीय सदस्य, मदन भण्डारी मेमोरियल कलेजका पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख पनि हुन् ।
साथै उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय उपाध्यक्ष पनि हुन् । लामा नेपाल प्रेस चौतारी नेपालमा केन्द्रीय सदस्य छन् ।