नेपाल पत्रकार महासंघले चौँथोपटक निर्वाचनको मिति तोकेको छ । महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले शुक्रबार विज्ञप्ति निकालेर असोज १२ गते शनिबार निर्वाचन सम्पन्न गराउन निर्वाचन समितिलाई पत्राचार गरिएको जनाएका छन् ।
आउँदो असोज ५ गतेका लागि तोकिएको निर्वाचन उक्त समयमा हुन नसकेको कारण देखाउँदै महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएका थिए । त्यपछि वरिष्ठ उपाध्यक्ष विष्टले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
निर्वाचनको नयाँ कार्यतालिका तथा निर्वाचन समितिलाई हस्तान्तरण गरिएको मतदाता सूची दुबै भदौ २९ गते शनिबार सार्वजनिक गरिने कार्यबाहक अध्यक्ष विष्टले जनाएका छन् ।
"अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची आज मिति २०८१ भाद्र २८ गते निर्वाचन समितिलाई हस्तान्तरण गरिएको जानकारी गराउँदछु", विज्ञप्तिमा भनिएको छ, "मतदाता सूची मिति २०८१ भाद्र २९ गते शनिबारका दिन सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको जानकारी गराउँदछु ।"
यसअघि तीन पटक मिति तोकेर स्थगित भएको महासंघको चुनाव दलीय पत्रकारका संगठनको दबाब-प्रभावले अनिश्चित बनेको थियो ।
अध्यक्ष पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि उत्पन्न भएको असहज परिस्थितिका कारण निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको कार्यबाहक अध्यक्ष विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।