नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । शुक्रबार भएको ३९औँ साधारणसभापछिको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान अध्यक्ष रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन् ।
प्रमुख निर्वाचन आयुक्त डा. रवि शर्मा अर्यालले कूल १ सय ४ जना मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको जानकारी दिए ।
उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी भए भने उनका प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरेका थिए । त्यस्तै महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला)मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित भए ।
दुई सदस्य (पुरुष) का लागि भएको निर्वाचनमा यम बम (५४ मत) र रामप्रसाद भण्डारी (४६ मत) विजयी भएका छन् । अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गरेका थिए ।
११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले ती पदहरू नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने जनाइएको छ । नव निर्वाचित कार्यसमितिको कार्यकाल आगामी २ वर्षका लागि हो ।
समूहले हरेक वर्ष प्रदान गर्ने वातावरण पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रताप सिंहलाई प्रदान गरियो । साथै, संस्थापक सदस्य भारती पाठक सिलवाललाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ ।