फोटोपत्रकार रजेन्द्र केसी (रअ) को १३ औं दिनको पूण्यतिथिमा फोटो पत्रकारहरूले शोक सभा तथा दीप प्रज्वलन गरेका छन् ।
केसीको १३ औं दिनको पूण्यतिथिमा फोटोपत्रकार क्लब (पिजे क्लब) ले पत्रकार महासंघको प्राङ्गणमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा फोटोपत्रकार तथा पत्रकारहरूले दीप प्रज्वलन गरी केसीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
केसीको निधनले नेपाली फोटोपत्रकारिता क्षेत्रले एक ऊर्जाशील र समर्पित व्यक्तित्व गुमाएको क्लबका पूर्वअध्यक्ष विकास कार्कीले बताए ।
पत्रकार केसीको तस्वीरमा माल्यार्पण र दीप प्रज्वलन गर्दै आत्माको चीर शान्तिको कामना गरेका थिए । शोकसभामा फोटोपत्रकारहरूले आफ्नो क्यामरा डाउन गर्दै केसीको सम्मानमा श्रद्धासुमन व्यक्त गरेका थिए ।
दुई दशकसम्म सक्रिय रहेर फोटो पत्रकारिता गरेका केसीले राजधानी दैनिक, अन्नपूर्ण पोस्ट लगायत विभिन्न सञ्चार गृहमा आवद्द थिए । पछिल्लो ६ वर्षदेखि उनि अमेरिकामा बस्दै आएका थिए ।
अमेरिकामा बस्दै आएका उनि Metastatic Malignant Pancreatic Cancer सँग जुधिरहेका थिए । उनको उपचारका लागि खर्च अभाव भएको भन्दै पत्रकारहरुबिच नै सहयोग संकलनको अभियान समेत चलाइएको थियो । तर उपचार सम्भव नभएपछि गत कात्तिक १७ गते केसीको निधन भएको हो ।