सार्वजनिक सेवा प्रसारण नेपालले संस्थाको लोगो निर्माणका लागि खुल्ला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ ।
सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ बमोजिम स्थापित यस संस्थाले व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूबाट आवेदन आह्वान गरेको हो ।
इच्छुक आवेदकहरूले काठमाडौंको सिंहदरबारस्थित रेडियो नेपाल/नेपाल टेलिभिजनको कार्यालय वा [email protected] मा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्न सक्ने सूचनामा जनाइएको छ ।
आवेदक फर्म/कम्पनी/संस्थाको भएमा दर्ता प्रमाणपत्र र कर चुक्ताको प्रतिलिपि बुझाउनुपर्नेछ भने व्यक्ति भएमा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ मा 'सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाउन सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापन गरिएको' उल्लेख छ ।
सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठन भएको रेडियो नेपाललाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाका रुपमा रूपान्तरण गरिएको हो ।
सरकारले गत मङ्सिर २९ गते सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्टलाई नियुक्त गरेको थियो ।
