श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी सामाजिक अवार्डबाट सम्मानित भएका छन् । सिजन मिडियाले माघ २२ गते आयोजना गरेको 'नेशनल सोसल वेलफेयर अवार्ड २०२४' कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई अवार्ड प्रदान गरेकी हुन् ।
उनले समाजको सकारात्मक रूपान्तरणका लागि पुर्याएको महत्त्वपूर्ण योगदान अतुलनीय, प्रेरणादायी एवम् प्रशंसनीय रहेको सिजन मिडियाले भनेको छ ।
सिजन मिडियाले उनको समाजप्रतिको समर्पण, सकारात्मक परिवर्तनका लागि गरेको अथक प्रयास र निरन्तर सेवाभावको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरेको जनाएको छ ।
मिडिया हाउस, कर्पोरेट हाउस जहाँ श्रम शोषण हुने सम्भावना हुन्छ त्यस संस्था विरूद्ध उनले निरन्तर अवाज उठाउँदै आएको र शोषित वर्गलाई न्याय दिलाउन उनको भूमिका रहेको सिजन मिडियाले उल्लेख गरेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य समाजका विशिष्ट व्यक्तित्वलाई सम्मान गर्नुका साथै समाजका लागि सकारात्मक योगदान दिन प्रेरणा जगाउनु रहेको सिजन मिडियाले जनाएको छ ।
सिजन मिडियाले यस अवार्ड कार्यक्रमलाई आगामी वर्षहरूमा अझ प्रभावकारी र समाजका लागि बढी महत्त्वपूर्ण बनाउन निरन्तर प्रयास गर्ने बताएको छ।