श्रमजीवी पत्रकार संघ नेपालले सञ्चारग्राममा रहेका सञ्चार संस्थाहरू घेराउ गरेको छ । सञ्चारग्रामस्थित रहेको नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई आफ्नो क्षेत्राधिकारभित्रको काम गर्न दबाबस्वरूप बिहीबार घेराउ गरेको हो ।
सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, लोकतन्त्र विरोधी भएको आरोप लगाएको छ । त्यस्तै मिडिया काउन्सिल विधेयक राजनीतिक भर्तिकेन्द्र बनाउने, सीमित संरचना र जनशक्तिमै काउन्सिललाई इकाईमै सीमित गर्ने खाल्को भएको भन्दै श्रमजीवी पत्रकार संघले पुनर्लेखनको माग राखेको छ ।

प्रेस काउन्सिललाई आफ्नो क्षेत्राधिकारभित्र बसेर काम गर्न, न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई श्रमजीवी-पत्रकारको पारिश्रमिक बृद्धि गर्न, सूचना विभागले पत्रकारको समग्र सुरक्षाका लागि काम गर्न र पत्रकार महासंघलाई नागरिक संस्था र पत्रकारको पेशागत श्रम सुरक्षाका रुपमा काम गर्न दबाबस्वरुप सञ्चारग्राममा रहेको सञ्चार संस्था घेराउ गरेको श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले बताए ।
श्रमजीवी पत्रकार संघ नेपालले फागुन २ गतेदेखि विभिन्न चरणमा सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयकविरुद्ध दबाबमूलक आन्दोलनको गर्दै आएको छ ।