काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले सञ्चारमाध्यमका कार्यालयहरूमा आक्रमण गरेका छन्। प्रदर्शन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्ट दैनिकको तीनकुनेस्थित कार्यालयमा आगजनी गरेको छ भने कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि ढुंगामुढा गरेका छन् ।
तीनकुनेस्थित अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा राजावादीहरूको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले ढुंगामुढासहित आगजनी गरेको हो । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीले पछि कार्यालयमा आगजनी समेत गरेका हुन् । अन्नपूर्ण पोस्टले फेसबुकमा राखेको भिडियोमा ढुंगामुढापछि आगजनी गर्दै गरेको देखिन्छ ।
राजतन्त्रका पक्षमा शुक्रबार प्रदर्शनमा उत्रिएका केही व्यक्तिले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि ढुंगामुढा गरेका छन् । उक्त कार्यालय भवनसहित त्यस क्षेत्रका केही भवनमा ढुंगामुढा गरिएको छ । तीनकुनेमा सर्वसाधरणको घर समेत जलाइएको छ ।
राजनीतिक दलका कार्यालयमा समेत आक्रमण
राजावादीका नाममा प्रदर्शनमा उत्रिएको समूहले एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढा बर्साउँदा समाजवादीको कार्यालयका सिसा फुटेका छन् । अराजक समूहले समाजवादीको कार्यालयका कागजपत्र बाहिर निकालेर जलाइदिएका छन् । उनीहरूले कार्यालयमै आगो लगाउन खोज्दा पनि सुरक्षाकर्मीको उपस्थिति नभएको समाचारमा जनाइएको छ ।
त्यसपछि प्रदर्शनकारीहरू पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा पनि आगजनीको प्रयास गरेका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि सापकोटाले पार्टी कार्यालय तोडफोडको प्रयास गरेको जानकारी आएको बताएको समाचारमा उल्लेख छ ।

प्रदर्शनकारीले ढुंगामुढा गरेको घर । फोटोः गोरखापत्र अनलाइन डट कम ।
प्रदर्शनकारीले तीनकुनेको एक घरमा तोडफोड गर्दै आगजनी गरेपछि आगो निभाउन गएको दमकलमाथि पनि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारपछि दमकल फर्किएको थियो । त्यसपछि प्रहरीले सुरुमा अश्रुग्यास र पछि हवाई फायर गरेको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।
राजावादी समूहले कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा तोडफोड गर्दै लुटपाट गरेका छन् । उनीहरूले खाद्यान्नका साथै इलेक्ट्रिकल सामग्री तथा मादक पदार्थ समेत लिएर निस्केको समाचारमा उल्लेख छ ।
ढुंगामुढा, तोडफोड र आगजनीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन ।
राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुने आसपासका क्षेत्रमा लागू हुनेगरी शुक्रबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।