समाजसेवा, साहित्य र बौद्धिक चेतनाको क्षेत्रमा गहिरो प्रभाव छोड्ने व्यक्तित्व ‘नेपाली पत्रकारिताको जिउँदो इतिहास’ भैरव रिसालले शानका साथ जीवन बिताए । ‘इमानले बाँचेँ, सम्मानले मर्न पाउँ’ भन्ने सोच राख्ने रिसालले गौरवपूर्ण मृत्युवरण गरे । उनले मृत्युपछि स्वर्ग र नर्क रोजेनन्, किनभने त्यसप्रति उनलाई पटक्कै विश्वास थिएन । यही कर्मभूमीमा स्मृतिमा जीउन चाहे । उनको मृत शरीर (क्याडाभर) अब पाटन अस्पतालमा चिकित्साशास्त्रका विद्यार्थीले प्रयोगशालामा अध्ययन गर्ने छन् ।
एउटा महान विम्बलाई अध्ययन गर्नु अत्यन्त कठिन हुन्छ । अध्ययन गर्ने व्यक्ति, अध्ययनका सीमाले द्रष्टाको दृष्टि अनुसारकै दृश्य देखिन्छ । झण्डै एक सय वर्ष सचेत ढंगले गर्विलो जीवन बिताएका व्यक्ति आफैंमा इतिहासका प्रवक्ता हुन् । एक महाकाव्य हुन् । उनी एक व्यक्ति थिए । तर उनको व्यक्तित्व अनेक थियो । उनले नेपालका प्रायःजसो जिल्लाहरू पैदलै यात्रा गरे । स्मृतिका डोब जहाँ त्यहीँ छाडेर बिदा भए । अनेकौं भूमिकामा मैले पनि भैरव दाइसँग चार दशक बिताएँ । प्रसङ्ग अनेक छन् । मेरो यो लेख मिडिया कुराकानीका लागि भएकाले मिडियाको भैरव गाथामै केन्द्रित हुनेछु । भैरव गाथामार्फत पत्रकारितामा आएका चुनौती, तिरेका मूल्य र केही महान पत्रकारबारे पनि चर्चा गर्नेछु ।
युद्ध नायकलाई तोप पड्काएर सलामी दिइन्छ । पत्रकारितामा यस शताब्दीका चरित्र नायक भैरव दाइमाथिको सम्मान पत्रकारितामा उनको जीवन, जीवन दर्शन मात्र नभई मिडियाबारे उनको दृष्टिकोणमाथी नै गम्भीर चर्चा गरेर गर्नु आवश्यक छ । यो लेखमा नायक भैरवलाई समर्पण गर्दै मिडिया, मिडिया पर्सन, सत्ता (राज्य, धर्म र कर्पोरेट) बारे पनि चर्चा गरिनेछ ।
पण्डित कुलमा वि.सं. १९८५ साउन २९ गते भक्तपुरको गुण्डुमा जन्मिएका भैरव रिसालसँग विज्ञानको आँखाबाट जीवन र जगत नियाल्ने चश्मा थियो । त्यो नै समाज अध्ययन गर्ने र लेख्ने आधार थियो । जयतु संस्कृतिम आन्दोलनले किशोर मस्तिष्कमा चेतना भर्यो । चिन्तनले पक्षधरता खोज्छ र पक्षधरता जनाउँदा मूल्य चुकाउनु पर्छ भन्ने कुरा रिसाल पत्रकारिताको संश्लेषण गर्दै भन्थे– ‘सुरु–सुरुमा निष्ठाको पत्रकारिता थियो, अहिले निष्ठा छैन, पैसा छ ।’
वि.सं. २०१३ मा हालखबर दैनिकबाट पत्रकारिता सुरु गरेका रिसाल वि.सं. २०२० देखि २०४२ वैशाख २ गतेसम्म राष्ट्रिय समाचार समितिमा सक्रिय रहे । मजदुर दैनिकका स्तम्भकार रहे । अन्तिम सार्वजनिक कार्यक्रममा नागरिक अभियान फागुन २३ गते सार्वजनिक सम्मानमा सहभागी भए ।
भैरव रिसालको आवाज वि.सं. २०५६ भदौ दोस्रो साताबाट ‘कुरोकन्थो’ कार्यक्रममार्फत रेडियो सगरमाथा एफएम १०२.४ मेगाहर्जबाट प्रत्येक मंगलबार बिहान ७ बजे गुञ्जिन्थ्यो— ‘नमस्कार, म भैरव रिसाल’ । ९७ वर्षमा दिवंगत भएका प्रतापी रिसालले ९४ वर्षसम्म चस्मा प्रयोग गरेनन् ।
उनले राणा शासन, प्रजातन्त्र प्राप्तिको आन्दोलन, पञ्चायत, बहुदलीय आन्दोलन, माओवादी जनयुद्ध, ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन, ०६२/०६३ को जनआन्दोलन, गणतन्त्र प्राप्ति, संविधानसभा लगायतका ऐतिहासिक घुम्तीहरू प्रत्यक्ष भोगेका थिए । उनको व्याख्या विश्लेष्णमा नेपाली राजनीतिको ऐतिहासिक मनोविज्ञान हुन्थयो भने प्रत्येक घटनामा ‘बिटविन द लाईन’ खोज्थे । आज पत्रकारीतमा किन र कसरी भन्ने प्रश्नको उत्तर हुँदैन । सरल भाषामा गम्भीर कुरा राख्ने रिसाल घटना त परिणाम मात्र हो, त्यसको कारक पक्ष प्रमुख हो भन्ने मान्यता राख्थे । त्यसैले उनी आफैंमा एउटा इतिहास थिए ।
वि.सं. २०४३ असोज ६ गते राजधानी दैनिकको पृष्ठ ५ मा ‘एसियाली मापदण्डः मन्त्रीमण्डलको ठगी खाने भाँडो’ शीर्षकको लेख प्रकाशित गरेपछि उनलाई राजाको आलोचना गरेको आरोपमा १० महिना जेल सजाय भोग्नु पर्यो । यो घटनाले पत्रकारिताप्रतिको उनको साहस र प्रतिबद्धता अझ प्रस्टियो ।
स्रोतलाई सुरक्षित राख्नु पत्रकारिताको मुख्य गुण ठान्ने रिसाल सगरमाथा न्यूज एजेन्सीमा पनि काम गरे । उनको योगदान समाचार लेखनमा मात्र सीमित थिएन; उनले समाजका विविध पाटा गहिराइमा विश्लेषण गरेर जनमानससम्म पुर्याए ।
आफ्नो जीवनको झल्को दिने आत्मकथा ‘साधुलाई सूली’ (वि.सं. २०५३) र पत्नी सुशीला रिसालसँग संयुक्तरूपमा लेखिएको ‘सुशीला भैरव’ (वि.सं. २०६६) मा उनीहरूको व्यक्तिगत संघर्ष, वामपन्थी विचारधारा र पत्रकारिताप्रतिको समर्पण झल्कन्छ ।

भैरव रिसालसँग नरेन्द्रजंग पिटर ।
उनले इतिहास, संस्कृति, मानव अधिकार, वातावरण संरक्षण र सामाजिक न्यायका लागि कलम चलाए । यसका लागि उनले ‘जगदम्बा श्री’ लगायतका सम्मान प्राप्त गरे । उनले मृत्युपछि शरीर दान गरेर समाजप्रतिको आफ्नो उत्तरदायित्व र विज्ञानवादी चेतको फेरी पुष्टि गरे । लिम्पियाधुरा पुगेर ‘कालापानी नेपालकै हो’ भन्ने निडर अडान राखे ।
अब, उनले देखेको पत्रकारिता र अहिलेको अवस्थाबीचको अन्तरबारे केही महत्वपूर्ण प्रश्नहरूको सन्दर्भमा छलफल गरौँ ।
मिडियाको यो समय भनेको सूचना, कूसूचना, भ्रमित सूचना र प्रायोजीत सूचना एकआपसमा भिडन्त गरिरहेको मिडिया युग हो । अहिले मिडिया कर्पोरेटीकरण भइरहेको छ । मानसिकता व्यवस्थापन नगरी जनमत नियन्त्रण हुँदैन भन्ने विश्वासमा शासकहरू राख्छन् । राजनीति, यथास्थितिवाद, धर्म र बहुसंख्यकवादको घालमेल भएर एउटा नयाँ चिन्तनको तस्बिर बनिरहेको छ । भैरव रिसालले प्रतिनिधित्व गरेको पत्रकारिता र अहिलेको पत्रकारितामा धेरै फरकपन आएका छन् । सूचना र प्रविधिको विकासले परम्परागत अर्थलाई पुनःपरिभाषित गरिरहेको छ । यस सन्दर्भमा केही फरक विषयमा चर्चा गरेर रिसालप्रति सम्मान प्रकट गरौँ ।
१) मिडियाको अति कर्पोरेटीकरण हुँदा जनमानसमा पार्ने प्रभाव के हुन्छ ?
जब मिडिया ठूला कर्पोरेट हाउसहरूको नियन्त्रणमा पुग्छ, सूचनाहरू ती कम्पनीहरूको व्यापारिक हित र एजेन्डामा आधारित हुन थाल्छन् । यसले जनतालाई एकपक्षीय वा सीमित दृष्टिकोण मात्र दिन्छ, जसले स्वतन्त्र विचार र बहसलाई खुम्च्याउँछ । कर्पोरेट र राजनीतिको ककटेल भएर जनमानस तयार भइरहेको छ ।
त्यसका लागि तथ्य तोडमोड गरिन्छ, सनसनी फैलाइन्छ, जसले गर्दा जनताको मिडियाप्रतिको विश्वास घट्दो छ । सत्यमा आधारित सूचना पाउन सकिँदैन ।
–कर्पोरेट मिडियाले प्रायः विज्ञापन र ब्रान्डिङमा जोड दिँदा उपभोक्तावादी संस्कृतिको प्रवर्द्धन हुन्छ ।
–नाफामूलक समाचार वा मनोरञ्जनलाई प्राथमिकतामा राख्दा गरिबी, शिक्षा, स्वास्थ्यजस्ता गम्भीर सामाजिक मुद्धाहरू ओझेलमा पर्छन् ।
–निरन्तर सनसनीपूर्ण सामग्रीले तनाव, चिन्ता र आत्मसम्मानमा असर पार्ने जीवनशैलीको मापदण्ड प्रस्तुत गर्छ ।
–कुनै खास राजनीतिक दल वा विचारधाराप्रति झुकाव देखाउँदा जनमत प्रभावित भई लोकतन्त्रको निष्पक्षतामाथि प्रश्न उठ्छ ।
२) उग्र दक्षिणपन्थी सरकार वा समूहप्रति मिडियाको झुकावले समाजमा पार्ने प्रभाव
–उग्र दक्षिणपन्थी विचारधाराप्रति मिडियाको झुकावले वैचारिक विभाजनलाई तीव्र बनाउँछ । सामाजिक एकता कमजोर हुन्छ । ‘राष्ट्रवाद’, एकल संस्कृति र बहुसंख्यकवादलाई प्राथमिकता दिँदा अल्पसंख्यक समुदायहरू त्रसित र असुरक्षित महसुस गर्न थाल्छन् ।
–असहिष्णुता, घृणा र विभेदकारी सोच फैलिन्छ, जसले बहुसंस्कृतिवादमा चुनौती दिन्छ । यस्ता मिडियाले—वैकल्पिक वा प्रगतिशील आवाजलाई ठाउँ नदिएर स्वतन्त्र चिन्तन कमजोर बनाउँछन् ।
–हिंसात्मक विचार र घृणाजन्य भाषालाई सामान्यीकरण गरेर समुदायबीच झडप निम्त्याउँछ ।
– राष्ट्रवादी नारालाई अतिरञ्जना गरेर ‘हामी र उनीहरू’ को मानसिकता विकास गराउँछ, जुन दीर्घकालीन रूपमा सामाजिक समरसताका लागि हानिकारक हुन्छ ।
३) जसले पत्रकारिताको गौरव बढाए । भैरव रिसाल सम्झँदा उनीहरूबारे छोटो चर्चा गरौँ । विश्वभरका वास्तविक पत्रकारका गौरवशाली भूमिकाहरूका केही उदाहरणः
१. बब वुडवर्ड र कार्ल बर्नस्टिन– द वाशिङ्टन पोस्टका यी पत्रकारहरूले वाटरगेट काण्डको पर्दाफास गरे, जसले राष्ट्रपति निक्सनलाई राजीनामा दिन बाध्य बनायो ।
२. पनामा पेपर्स– तीन सय भन्दा धेरै पत्रकारहरूको विश्वव्यापी अनुसन्धानले अवैध सम्पत्ति लुकाउने गोप्य कागजातहरू उजागर गरे । धेरै देशमा सुधार र राजीनामा भए ।
३. ग्लेन ग्रीनवाल्ड– सरकारको गुप्त निगरानी कार्यक्रम सार्वजनिक गर्दै नागरिकको गोपनीयताको बहस सुरु गरे ।
४. डाफ्ने कारुआना गालिजिया– भ्रष्टाचारको खुलासा गरेबापत कार बम हमलामा मारिइन्, तर उनको आवाज अझै सुशासनको प्रतीक बनेको छ ।
५. जमाल खाशोग्जी– सत्ताविरुद्ध लेखेपछि टर्कीस्थित साउदी दूतावासमा उनको हत्या भयो, जुन घटना प्रेस स्वतन्त्रताको घातक उदाहरण बन्यो ।
६. गौरी लंकेश– उग्र दक्षिणपन्थी शक्तिविरुद्ध लेख्दा गोली हानी हत्या गरियो । उनी निडर, निष्पक्ष पत्रकारिताकी प्रतीक हुन् उनी ।
७) जब एउटै पत्रकार वा संस्थाले विश्वव्यापी सरोकार राख्ने गम्भीर विषयको छानविन गर्न सक्दैनन् तब वास्तविक संस्थाहरूकै सञ्जाल बनाएर अध्ययन, अनुसन्धान र प्रकाशन गर्छन् । पानामा पेपर्स जस्तै पेगासस सफ्टवेयरका कुकृत्य पेगासस प्रोजेक्टमार्फत खुलासा भयो । यो एक विश्वव्यापी पत्रकारिता पहलमा १७ वटा मिडिया संस्था (जस्तै द गार्जियन, द वाशिङ्टन पोस्ट, ल मोन्ड र द वायर) र ८० भन्दा बढी पत्रकारहरूले सन् २०२१ मा पेगाससको दुरुपयोगबारे खुलासा गरे । पेरिसस्थित फारबिडन स्टोरिज र एम्नेस्टी इन्टरनेशनलले ५० हजार फोन नम्बरहरूको लिक डाटा विश्लेषण गरेर यो खुलासा गरेका हुन् । यसले विश्वभरका एक सय ८० भन्दा बढी पत्रकार, ८५ मानवअधिकार कार्यकर्ता र धेरै राजनीतिज्ञहरू निशानामा परेको देखायो ।
पेगाससको दुरुपयोगलाई उजागर गर्न पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जालले महत्वपूर्ण भूमिका खेले । फरबिडन स्टोरिज गैर–लाभकारी पत्रकारिता संस्थाले सिल गरिएका पत्रकारहरूको कथालाई अगाडि ल्याउँछ । यसले पेगासस प्रोजेक्टको नेतृत्व गरेर विश्वभरका सरकारहरूको गैरकानुनी निगरानीलाई नांगेझार बनायो । सिटिजन ल्याब र एम्नेस्टी इन्टरनेशनलले फोनहरूको फरेन्सिक विश्लेषण गरेर पेगाससको प्रयोग पुष्टि गरे । पत्रकार र कार्यकर्ताहरूलाई निशाना बनाइएको प्रमाण जुटाए ।
इजरायली कम्पनी एनएसओ ग्रुपले बनाएको पेगासेस जासूसी उपकरणले सफ्टवेयर मोबाइल फोनहरूमा प्रयोगकर्ताको जानकारी बिनै उनीहरूको फोनको डाटा म्यासेज, फोन कल, स्थान, क्यामेरा, र माइक्रोफोनमा पहुँच प्राप्त गर्न सक्षम हुन्छ । निर्माता कम्पनीले अपराध र आतंकवादविरुद्ध लड्नका लागि बनाइएको दाबी गरे पनि यसको दुरुपयोग विश्वभर विभिन्न सरकारहरूले पत्रकार, मानवअधिकार कार्यकर्ता, वकिल, र विपक्षी नेताहरूको निगरानी गर्न प्रयोग गरे । साउदी पत्रकार जमाल खशोगीको हत्यापछि उनको परिवार र सहकर्मीहरूको फोनमा पेगासस प्रयोग भएको पाइयो ।
विश्वभरका मानवअधिकार कार्यकर्ताहरूलाई निशाना बनाइएको छ । उदाहरणका लागि, मोरक्को, मेक्सिको, भारत, र हंगेरीजस्ता देशहरूमा कार्यकर्ता र पत्रकारहरूको निगरानी भएको प्रमाण फेला परे ।
सरकारहरूले विपक्षी नेता, आलोचक, र अन्य राजनीतिक व्यक्तित्वहरूलाई कमजोर बनाउन यो सफ्टवेयर प्रयोग गरेका छन् । भारतमा २०१९ मा विपक्षी नेता र पत्रकारहरूको फोन निगरानी भएको आरोप लागेको थियो । निगरानीको डरले पत्रकार र कार्यकर्ताहरूमा मानसिक तनाव र आत्म–संशोधनको समस्या देखियो ।
पेगासस सफ्टवेयरले विश्वभर गोपनीयता, प्रेस स्वतन्त्रता, र मानवअधिकारमाथि गम्भीर खतरा निम्त्याएको छ । यसको दुरुपयोगले पत्रकार र कार्यकर्ताहरूलाई जोखिममा पारेको छ, तर अन्तर्राष्ट्रिय पत्रकार सञ्जालले गोप्यता र रहस्य पत्ता लगाउने पेगासेसकै गोप्यता खोलिदिए । यदि यो जासुसी सफ्टवेयर माओवादी जनयुद्धकालमा आएको भए माओवादीका ठूला नेताहरू सहजै सत्ताको कब्जामा पर्थे । गणतन्त्रको स्थापना हुनै सक्दैनथ्यो ।
४) के मिडियाले सत्ताको सहयोगी बनेर युद्धको मानसिकता तयार पार्छ ?
इतिहासमा मिडियाले सत्ताको औजार बनेर युद्ध मानसिकता बनाएको थुप्रै उदाहरण छन् । प्रथम र द्वितीय विश्वयुद्धः बेलायत र नाजी जर्मनी दुवैले शत्रुप्रति घृणा फैलाउन मिडिया प्रयोग गरे । गाजा-इजरायल घटनामा पनि मिडिया मार्फत नरसंहारलाई औचित्य दिइएको छ ।
मिडियाले युद्ध मानसिकता कसरी बनाउँछ ?
– विपक्षीलाई ‘खतरनाक’ वा ‘दुष्ट’ का रूपमा चित्रण गर्छ ।
– डर फैलाएर राष्ट्रवादी भावना भड्काउँछ ।
– एकपक्षीय सूचना प्रवाह गर्दै विरोधी आवाज दबाउँछ ।
– अतिरञ्जित रिपोर्टिङमार्फत आममानसलाई युद्धको पक्षमा उक्साउँछ ।
उदाहरणहरूः
राना अयुब (भारत): गुजरात दंगाको सत्य उजागर गरिन्, ‘गुजरात फाइल्स’ पुस्तक चर्चित भयो । कृष्ण सेन, पदम ठकुराठी, शोभाकर धनञ्जय, डि कौडिन्य जस्ता पत्रकार लेख्नकै लागि लड्ने, मूल्य चुकाउने पत्रकारहरू बने ।
अन्त्यमा, हत्या गरिएका पत्रकार कृष्ण सेन भन्थे, ‘लेख्नका लागि लड, लड्नका लागि लेख ।’ रिसालजस्ता मूल्य चुकाएका, अडिग, विज्ञानचेतका रोल मोडललाई हामीले नबिर्सौं । अलविदा भैरव रिसाल । तपाईंको पत्रकारिता, निष्ठा र दर्शन सधैँ स्मरणीय रहनेछ ।