श्यामजीसँगको अन्तिम कुराकानी

श्यामजीसँगको अन्तिम कुराकानी

  • माघ ३, २०८१ बिहीबार २३:३२

बित्नुअघिको रात श्यामजीसँग एउटा विषयमा कुरा भएको थियो- ऋषिकेश पोखरेलकी श्रीमती कहाँ छिन् भन्ने कुरा तिनै ऋषिकेशलाई थाहा होला नि, झ्याप्प समातेर अलि मजाले केरकार पारे तिनैले भन्थे होलान् हैन ?

मैले ऊसँग यो विषयमा राय मागेको थिएँ । सँगै श्यामजीबाट यस विषयमा रिपोर्टिङ होला कि भन्ने आश पनि गरेको थिएँ । उनले म्यासेज फर्काए, 'त्यसो गर्लान् र ? सत्तापक्ष पो हो त !'

त्यस दिन राति साढे ११ बजेसम्म म सुतेको थिइनँ  । सायद प्रिमियर लिग हेर्दै थिएँ । फेसबुकतिर ध्यान दिइनँ । १९ पुषमा मेरो म्यासेन्जरबाट गएको अन्तिम म्यासेज उनैलाई थियो । यही म्यासेजको झण्डै डेढ घण्टापछि श्यामजीले संसार छाडिसकेछन् । पत्रकार पुडासैनीको अकस्मात् निधन पत्रकार पुडासैनीको अकस्मात् निधन

श्यामजीलाई मैले भेटेको करिब साढे चार वर्ष भयो । पत्रकारिता गर्ने मान्छे स्मार्ट हनुपर्छ भन्ने उदाहरण श्यामजीमा देखिन्थ्यो । हट्टाकट्टा, खाइलाग्दा, जोशिलो र फुर्तिलो । आफूलाई अलि बढी स्मार्ट बनाइराख्थे । बोलीचालीको भाषा एकदमै औपचारिक प्रयोग गर्थे । जस्तैः 'खाजा खान जाऊँ' लाई उनी 'खाजा सेवन गरौँ' भन्थे । ठाउँका नाम बडो स्पष्टसाथ भन्थे, हामी 'चाबेल' भन्थ्यौँ, उनी 'चाबहिल' भन्थे ।

साढे चार वर्षको संगत निरन्तर भेटिरहनेका लागि लामै लाग्न सक्छ, फेरि कहिलेकाहीँ भेटिरहनेलाई निकै छोटो पनि ।

पहिलोपटक मैतीदेवीमा रहेको 'नेपाल फ्ल्यास'को अफिसमा मैले श्यामजीलाई भेटेको र चिनेको । नाम कता कता सुनेजस्तो लाग्थ्यो । त्यो पहिलो भेटमा श्यामजीलाई देख्दा लाग्यो, यी मान्छे पक्कै अनौठा खालका छन् । हुन पनि अफिस आउने उनको आफ्नै समय थियो, कहिले आउँथे पनि, कहिले देखा नै पर्दैन्थे । तर उनका समाचार दैनिक आउँथे, केही न केही विषयमा लेखेर पठाइरहन्थे ।

पछि मैले त्यो संस्था छाडेँ, श्यामजीले पनि छाडेछन् । उनीसँग केही महिना भेट पनि भएन । तर हाम्रो कुरा भने निरन्तर भइरहेको थियो । म थाहाखबरमा थिएँ, यिनी अन्त कता कता डुलिरहेका थिए । तर जब मैले नेपालभ्यूजमा काम गर्ने अवसर पाएँ त्यसपछि श्यामजीलाई त्यहाँ मैले नै लगेको थिएँ । सम्पादक राजाराम दाइले अनलाइनको डेस्कमा काम गर्न सक्ने भरपर्दो मान्छे खोजी गर्न मलाई जिम्मा नै दिएका थिए । अनि हो मैले श्यामजीलाई फेरि सँगै काम गर्न सम्झेको । राजाराम दाइले भनेकै जस्तो विशेषता श्यामजीमा थियो । अनि उनलाई नेपालभ्युज ल्यायौँ हामीले ।

पछिल्लोपटक श्यामजी नेपालभ्यूजमै रमाइरहेका थिए । त्यहाँ कार्यरतमध्ये श्यामजी सबैभन्दा पुराना थिए । हामीले त छाड्यौँ तर श्यामजी त्यहाँ जमेका थिए । उनलाई फलानो विषयवस्तुमा लेख्नुपरो, यो यो कन्टेन्ट चै छाड्न हुँदैन भन्नै नपर्ने, सायद लेखिसकेर होला उनी सोध्ने गर्थे- यो विषयमा चै केही लेखौँ न ओ धीरजी ।' मैले कहिल्यै नाइँ भनिनँ । उनी करिब एक घण्टाभित्रै जस्तोसुकै स्टोरी तयार पार्दिन सक्थे ।

कहिले महिला बलात्कृत भएको घटना ल्याउँथे त कहिले कता कता अनियमितता भएका विषय लेखेर समाचार तयार पारिहाल्थे । उनमा यति स्पिड थियो कि, हामीले भर्खरै थाहा पाएको विषय पनि 'स्टोरी' नै बनाउन भ्याइसकेका हुन्थे ।

श्यामजीका धेरैजसो समाचार त युट्युबरका लागि प्रेरणा नै हुन्थ्यो । अफिस आउनेबित्तिकै अघिल्लो दिन आफूले लेखेका समाचार कता कता पुग्यो, कसले सारे, कसले भिडियो स्टोरी बनायो ? एक एक गरेर केलाउँथे । अनि आफूले लेखेका समाचारमा गर्व गर्दै हामीलाई सुनाउँथे । उनको त्यो ऊर्जा कहिल्यै सेलाएको देखिनँ मैले ।

बिहान घरबाटै बिहानी 'सिफ्ट'को काम भ्याएर दिउँसो पनि हामीसँगै टुप्लुक्कै आइपुग्थे । लाग्थ्यो उनी काम गर्न मात्र जन्मिएका हुन्, उनलाई समाचार लेख्नबाहेक अरू कुराको मतलबै थिए । उनको यस्तो जोश देखेर हामीले अचम्म मान्नु स्वाभाविकै थियो ।

कामप्रति श्यामजीको लगावको तारिफ मजस्तो एउटा पत्रकारले धेरै गर्नु नपर्ला । उनलाई नजिकबाट चिन्ने जोकोही उनको कामको प्रशंसक नै हुन्थे ।

हेलचेक्र्याइँको अति नै गर्ने उनको बानी उस्तै थियो । पुस महिनाको चिसोमा भित्र थर्मकोट लगाएर बाहिर कोट मात्र ढल्काएर मोटरसाइकल चलाउँथे उनी । सधैँ यस्तै ताल देखेपछि एक दिन अफिसमा मैले नराम्रोसँग झपारेको थिएँ । पछि बिरामी पनि परेछन् । भने पनि, 'निमोनिया प्रजातिले अस्वस्थ बनायो ।'

उनले बेलामा खाना खाएको कहिल्यै देखिनँ । कहिले ९ बजे नै खान्थे, कहिले २ बजेतिर हामीसँग 'खाजा सेवन गर्न जाऊँ' भन्थे । पछिल्लो समय भने उनले रुटिन बनाएर खान थालेका थिए । उनको खानपिनको तालमेल त्यस दिनको रिपोर्टिङले पनि तय गर्थ्यो सायद ।    

बिरामी भएर चिसोबाट जोगाउन २-४ दिनको बिदामा राखेको साथी रिपोर्टिङमा पुगे रे भन्ने खबर आउँथ्यो । नेपालभ्युजका साथीहरू लक्ष्मणलगायतले फेरि सम्झायौँ, चिसोलाई ख्यालख्याल नगर्नुस् श्यामजी ।' त्यतिखेर मानेजस्तो त गर्थे । तर सधैँ उही ताल । त्यसपछि हामीले उनलाई भन्नै छाड्दिऊँ ।

आज श्यामजी बितेको १३ दिन पनि सकिएछ । उनलाई नसम्झिएको कुनै दिन छैन, अहिले पनि म्यासेज आउला कि जस्तो पनि लाग्छ ।

उनको मृत्यु भएको खबर भोलिपल्ट बिहानै सुनेँ । पहिला त पत्याइनँ । बिरामी चै भयो होला भन्ने लाग्यो । फेसबुकमा उनीप्रतिको श्रद्धाञ्जलि छरप्रस्ट भइसकेको थियो । मेरो हालत 'के गरौँ कसो गरौँ' भइसकेको थियो । तुरुन्त आभासलाई फोन गरेर चाबेलको हेल्पिङ ह्याण्ड्स अस्पताल पुगेँ । श्यामजीको शव देखेर म सम्हालिन सकिनँ । हिजो रातिसम्म कुरा गरेको मान्छे कसरी मर्‍यो । म रोएँ, भक्कानिएँ । साथीहरूले सम्हाले । तर श्यामजी गइसकेका थिए । त्यो दिनभरि सोचेँ- अब यस्तो राम्रो मान्छेसँग मेरो भेट हुँदैन, अब यिनका रमाइला गफहरू मैले सुन्न पाउने छैन ।

श्यामजीले कहिल्यै कसैसँग झगडा गरेको र रिसाएको मैले चै देखिनँ, सुनिनँ पनि । उनीसँगै कहिलेकाहीँ विषयवस्तुमा चित्त नबुझेर चर्काचर्की हुँदा पनि कहिल्यै हामीलाई तल पार्दैन्थे । बरु 'संयमता अनपाऊँ, वादविवादलाई चर्को नबनाऊँ' यस्तै भाषा बोल्थे ।

एउटा पत्रकारको आँखाबाट हेर्दा श्यामजीमा मैले केके देखेँ त्यो म यो स्मरणमा लेखेर भ्याउँदिनँ । सक्दिनँ पनि लेख्न ।

रविजीले लेख्नुस् न श्यामजीको बारेमा भनेर आग्रह गर्दा पनि यी हात कहिल्यै अघि सरेनन् । के लेख्ने ? उनीमाथि लेखेर उनलाई कतिञ्जेल सम्झिने ? सम्झियो कि उदेक लाग्छ । श्यामजीलाई न्याय दिनेगरी केही लेख्न सक्छुजस्तो पनि लाग्दैन । खैर उनीसँगका केही पलहरू लेखेँ ।

पछिल्ला केही महिनायता कतै गएर बस्न बनाइएका 'प्लान'हरू लगातार क्यान्सिल गराइरहेका थिए श्यामले । योजना बनाइसकेपछि 'आज नबसौँ, अर्को दिन बसौँ' भन्थे । धेरै सुन्न खोजिरहेको थिएँ उनलाई, धेरै कुराहरू गर्नु थियो । तर बीचमै अस्ताए । अलबिदा श्यामजी ।


Related Story

विज्ञानको आँखाबाट जगत नियाल्ने पत्रकार

समाजसेवा, साहित्य र बौद्धिक चेतनाको क्षेत्रमा गहिरो प्रभाव छोड्ने व्यक्तित्व नेपाली पत्रकारिताको जिउँदो इतिहास भैरव रिसालले शानका साथ जीवन बिताए

सम्झनामा वरिष्ठ पत्रकार राजेश्वर नेपाली

प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको निधन भएको छ । नेपाली पत्रकारिताका धरोहर नेपालीको ७८ वर्षको उमेरमा २०८० भदौ ११ गते