विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले लैंगिक समानता तथा सामाजिक समावेशिता पुरस्कार २०८२ (GESI Champion Media Award) बाट सामुदायिक रेडियो टीकापुर एफएम १०१ मेगाहर्ज, कैलालीलाई सम्मान गरेको छ ।
दिवसका अवसरमा महासंघ केन्द्रीय कार्यालयमा शनिबार भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगर र नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संयुक्त रूपमा टिकापुर एपएमलाई प्रमाणपत्र प्रदान गरे ।
पुरस्कारको मुख्य उद्देश्य नेपाली मिडिया क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धन गरी सुरक्षित पत्रकारिताको प्रत्याभूति गर्नु रहेको महासंघले जनाएको छ ।
२०८२ वैशाख २ गते आवेदन आह्वान गरिएको पुरस्कारका लागि कुल २३ सञ्चारमाध्यमले सहभागिता जनाएका थिए। महासंघका अनुसार ७ अनलाइन पोर्टल, १३ एफएम रेडियो, १ टेलिभिजन र ३ पत्रपत्रिकाले पुरस्कारका लागि आवेदन दिएका थिए ।
मूल्यांकनका प्रमुख आधारहरूमा संचारमाध्यममा महिला सहभागिता, समावेशी भर्ना प्रणाली, लैंगिक तथा सामाजिक समावेशीकरण नीति, महिलाका मुद्दालाई प्राथमिकता, गुनासो व्यवस्थापन, लैंगिक तथा अपाङ्गमैत्री कार्यालय र पूर्वाधार, पत्रकार सुरक्षा, श्रमजीवी पत्रकार ऐन लगायत सरकारी नियमको पालना, र प्रशिक्षण फेलोसिपमा महिला लगायतलाई अवसर रहेका थिए । महासंघले चार सदस्यीय मूल्यांकन समितिमार्फत् प्राप्त आवेदकहरूको मूल्यांकन गरेको थियो ।
रेडियो टीकापुर एफएम १०१ मेगाहर्जले लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण र कार्यान्वयन, महिला तथा सीमान्तकृत समुदायका पत्रकारहरूको सहभागिता, सुरक्षित कार्य वातावरण, र समग्र मिडिया क्षेत्रको प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अवार्ड वितरण गरिएको महासंघले जनाएको छ ।