प्रधानमन्त्रीसँग सम्बन्धित समाचारको विवादबीच अनलाइनखबरका प्रधान सम्पादक गाउँलेको राजीनामा

प्रधानमन्त्रीसँग सम्बन्धित समाचारको विवादबीच अनलाइनखबरका प्रधान सम्पादक गाउँलेको राजीनामा

शिव गाउँले । फोटो साभारः अनलाइनखबर डट कम
  • जेठ १, २०८२ बिहीबार १५:४९

अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँलेले पदबाट राजीनामा दिएका छन् । गाउँलेले फेसबुकमा प्रधान सम्पादकको पदबाट बिदा लिएको घोषणा गरेका छन् । 

"अनलाइनखबरको प्रधान सम्पादक पदबाट विदा लिएको छु । अध्यक्ष धर्मराज भुसाल, प्रवन्ध निर्देशक सुरेश भुसाल र सम्पादकीय सहकर्मीहरुमा आभार व्यक्त गर्दछु", उनले लेखेका छन्, "प्रतिक्रिया र आलोचना मार्फत मलाई जवाफदेहि बन्न प्रेरित गर्ने आदरणीय पाठकहरूलाई धन्यवाद !"

गाउँले २०७७ फागुन १६ गते अनलाइनखबरको प्रधानसम्पादक नियुक्त भएका थिए । खासगरी छिनछिनको समाचार अपडेटमा अब्बल अनलाइनखबर गाउँलेको नेतृत्वमा विस्तृत र लङ् फर्म समाचारमा पनि रुपान्तरित भएको थियो । 

राजीनामा अघि हटाइएको एउटा समाचारको संयोग

प्रधान सम्पादक गाउँलेको राजीनामा आउनु र यसैसाता अनलाइनखबरमा प्रकाशित भइसकेको समाचार हटाइनु (डिलिट हुनु) एउटा संयोग बनेको छ । 

गत वैशाख २९ गते अनलाइनखबरमा एउटा समाचार प्रकाशित भएको थियो- 'प्रधानमन्त्री सहभागी बुद्ध जयन्ती मूल समारोहमा धेरै कुर्सी खाली' । 

अनलाइनखबरका बुटवल सम्वाददाता टोपराज शर्माले लुम्बिनीबाट पठाएको समाचारमा लेखिएको थियो- प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा दर्शकको संख्या निकै कम थियो ।

"५ हजार व्यक्ति अट्ने क्षमता भएको अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा न्यून उपस्थितिका कारण कुर्सी खाली देखिए", समाचारमा उल्लेख छ, "आयोजकमध्येका एक व्यक्तिले भने,- 'थोरै उपस्थितिले प्रधानमन्त्री सहभागी कार्यक्रम एकदमै खल्लो भयो।'

तर समाचार प्रकाशित भएको केही घण्टापछि अनलाइनखबरबाट यो समाचार गायब भयो । अहिले लिङ्क खोल्दा एउटा छोटो सूचना मात्र देखिन्छ, जहाँ लेखिएको छ- "यसमा प्रकाशित सामग्रीमा समावेश वस्तुगत तथ्यहरूबारे पुनर्विचार गर्दै सम्बन्धित सामग्री क्षमायाचनासहित हटाइएको छ -सम्पादक ।" 

हटाइएको समचारमा के थियो ? पढ्नुस् अर्काइभ लिङ्क

तर समाचार लेखेका पत्रकार टोपराज शर्माले प्रकाशित भइसकेको समाचार हटाउने जानकारी आफूलाई नभएको हामीसँग बताएका छन् । 

"मैले त्यहाँ गएर आफैं देखेको कुरा लेखेको थिएँ", टोपराज भन्छन्, "मलाई एकपटक पनि सोधिएन । समाचार हटाइएपछि मात्र थाहा पाएँ।" 

प्रकाशित समाचार बिनाकारण हटाइँदा एउटा पत्रकारका रुपमा आफूलाई मानसिक असर परेको उनको भनाई छ ।  

राजीनामा आउनुअघि नै हामीले अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँलेसँग यसबारे जिज्ञासा राखेका थियौँ । उनले सम्पादकीय त्रुटि भएको स्वीकार गर्दै सम्पादकको हैसियतले समाचारको सम्पूर्ण जिम्मेवारी लिएको बताएका थिए ।

गाउँलेका अनुसार समाचार हटाउनुका दुई प्रमुख कारण छन् । पहिलो, समाचारमा तथ्यहरूको क्रम उचित रूपमा मिलाइएको थिएन। दोस्रो, समाचारमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रमहरूमा जनसहभागिता घट्दो क्रममा रहेको दाबी गरिए पनि यसलाई पुष्टि गर्ने तथ्यांक प्रस्तुत गरिएको थिएन । कहाँ कहाँ र कसरी सहभागिता घटेको हो भन्ने विवरण डाटासहित उल्लेख गरिनुपर्ने उनको भनाइ छ ।

गाउँलेले उक्त समाचारमा बाइलाइन र उद्धरणहरू (कोट) स्पष्ट रूपमा नदेखिएकोले पनि समाचार हटाउने निष्कर्षमा पुगेको उल्लेख गरेका थिए । समाचारको प्रामाणिकताका लागि आवश्यक तत्वहरू र सम्पादकीय मापदण्डहरू पूरा नभएकाले समाचार हटाउनु परेको उनको तर्क थियो । 

पत्रकार आचारसंहिताको बुँदा (८) मा 'अनलाइन सञ्चारमाध्यमले सामग्री सम्प्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्न र एकपटक प्रकाशित सामग्री प्रकाशन पश्चात् हटाउन हुँदन' भन्ने उल्लेख छ ।code of conduct.jpg

तर घट्नाक्रम जसरी विकास भयो, त्यसले यो घटनामा सत्तारुढ दल नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीका नेताहरूले सोसल मिडियामा सार्वजनिक रुपमा टिप्पणी गरी दबाब बनाएको देखिन्छ ।

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले समाचार प्रकाशित हुँदा अनलाइन खबरका संस्थापक तथा प्रधान सम्पादकलाई सम्बोधन गर्दै लेखेका थिए-, "प्रिय मित्र धर्म भुसाल, शिव गाउँले दाई, तपाईंको रूपन्देही रिपोर्टरलाई Disinformation र misinformation को जिम्मा दिनुभएको हो र? अनलाइन खबरको सम्पादकीय नीति यही त होइन होला ?" 

समाचार हटाइएपछि पाण्डेले फेरि लेखे, "धन्यवाद अनलाइन खबर! प्रधानमन्त्रीका विरूद्ध हिजो भएको दुष्प्रचारको कन्टेण्ट हटाएको अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले जानकारी दिनुभएको छ। जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै सर्वश्रेष्ठ अनलाइनका रूपमा स्थापित अनलाइन खबर खराब नियत र अराजक रिपोर्टरबाट जोगियोस!"

चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेतले पनि समाचारमाथि प्रश्न उठाउँदै लेखेका थिए, "तथ्य एकातिर, समाचार अर्कैतिर! एउटा मान्छे खराब हुँदा कतिसम्म अफवाह फैलन्छ भन्ने कुरा लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एक कार्यक्रमको बास्तविकता र अफवाहले पुष्टि गरेको छ।" 

"हल सजावटमा सहभागीहरुका अनुसार कार्यक्रम सुरु हुनुभन्दा दुई घण्टा अगाडि नै सो अनलाइनका रिपोर्टर आएर खाली कुर्सीमा फोटो खिच्ने डेमो गरेका थिए रे", उनको दाबी छ । 

तर समाचार हटाएपछि बस्नेतले फेसबुकमा प्रतिक्रिया दिए, "अनलाइन खबरले समाचारको तथ्य गलत परेको स्वीकार गरी लुम्बिनीमा प्रधानमन्त्री सहभागी कार्यक्रमको समाचार हटाएको छ । धन्यवाद शिव दाइ, धन्यवाद अनलाइन खवर ।" पहिले डेमो गरेको भनेर लेखेका बस्नेतले त्यसको पुष्टि गर्ने कुनै तथ्य दिएका भने छैनन, तर समाचार हटाइएपछि खुसी व्यक्त गरेका छन् । 

हामीले कार्यक्रममा उपस्थित केही पत्रकारहरूसँग कुरा गरेका थियौँ ।  उनीहरूका अनुसार कार्यक्रममा विद्यार्थीको उपस्थिति बाक्लो थियो । तर उनीहरू बिचमै कार्यक्रमस्थलबाट हिँडेका हुनाले कुर्सी खाली भएका हुन् । 

“बिहानैबाट शोभायात्रा सुरु गरिएको थियो, विद्यार्थीहरू पनि शोभायात्रामा सहभागी थिए", एक पत्रकार भन्छन्, “औपचारीक कार्यक्रम सुरू हुँदा सम्म उनीहरू थाके होला, भोक लाग्यो होला, त्यसैले उनीहरू हिँडे र कुर्सी खाली भयो ।"

त्यहाँको एक अनलाइन मिडिया पब्लिक कुराले आयोजकले लुम्बिनी क्षेत्रका विद्यालयबाट छात्रछात्रा र गुम्बाबाट श्रद्धालु आमन्त्रित गरेर हलका कुर्सी भर्ने प्रयास गरेको समाचार लेखेको छ ।  

“प्रधानमन्त्रीले कार्यक्रममा मानिसको उपस्थितिबारे नबोले पनि उनी बोल्नेबेला आधा सहभागी हलबाट बाहिरिसकेका थिए", समाचारमा लेखिएको छ, “हलमा लुम्बिनी क्षेत्रका दर्जनौं विद्यालयका विद्यार्थीहरूलाई ल्याएर भर्न खोजिएको थियो ।"

लुम्बिनी विकास कोषका एक अधिकृतलाई उल्लेख गर्दै हलमा ४० प्रतिशत त विद्यार्थी मात्रै सहभागी भएको उक्त समाचारमा उल्लेख छ ।

प्रधान सम्पादकको पदबाट राजीनामा दिएका गाउँलेले आफ्नो राजीनामा र केही दिनअघि समाचार हटाउन लिएको सम्पादकीय निर्णय संयोगमात्र भएको बताए ।

"यी दुई असम्बन्धित कुरा हुन्, अलिक महिनापछि राजीनामा दिएको भए ठूलो बाढीपछि राजीनामा दिएको जस्तो हुन्थ्यो", राजीनामा दिएपछि हामीसँगको कुराकानीमा गाउँलेले भने, "त्यो समाचार हटाउने हाम्रो सम्पादकीय निर्णय हो, मेरो राजीनामा र समाचार हटाउने निर्णय संयोगमात्रै हो ।" 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८