नेपालको प्रमुख दैनिक पत्रिका कान्तिपुरको नयाँ प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अनुसार नवनियुक्त प्रधान सम्पादक अवस्थीले २०८२ वैशाख २२ गतेदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
यसअघिका प्रधान सम्पादक उमेश चौहानले २०८२ चैत १ मा राजीनामा दिएपछि कान्तिपुरले खुला प्रतिस्पर्धाका आधारमा नयाँ प्रधान सम्पादक छनोटको प्रक्रिया अघि बढाएको थियो ।
१७ वटा आवेदन प्राप्त भएकामा अन्तिम सूचीमा परेका तीन उम्मेदवारमध्येबाट अवस्थीलाई छानिएको कान्तिपुरले जनाएको छ।
अवस्थीसँग पत्रकारिता, आर्थिक विश्लेषण र अध्यापन क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ ।
उनी यसअघि कान्तिपुरमा आर्थिक समाचार सम्पादकका रूपमा काम गरिसकेका छन् ।
त्यसपछि उनले नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशक र नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकारका रूपमा कार्य गरे ।
आर्थिक पत्रकार समाज नेपाल (सेजन) को अध्यक्षको भूमिका पनि उनले निर्वाह गरिसकेका छन् ।
अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र भारतीय जनसञ्चार संस्थान, नयाँ दिल्लीबाट विकास पत्रकारितामा डिप्लोमा हासिल गरेका छन् । हाल उनी काठमाडौं विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत छन् ।