नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले राजीनामा दिएका छन् ।
लुइँटेलको राजीनामा नेपाल रिपब्लिक मिडिया लिमिटेड सञ्चालक समितिले स्वीकृत गरेको उक्त कम्पनीका अध्यक्ष रोमनाथ घिमिरेले जानकारी दिए ।
“सञ्चालक समितिको आज (७ जेठ, २०८३) को बैठकले उहाँको राजीनामा स्वीकृत गरेको हो”, घिमिरेले मिडिया कुराकानीसँग भने ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक ज्ञवाली परिवारका सदस्यहरूले सञ्चालक समितिबाट शृङ्खलाबद्ध राजीनामा दिएपछि घिमिरे हालैमात्र अध्यक्ष निर्वाचित भएका हुन् ।
“उहाँ (प्रधान सम्पादक लुइँटेल) ले राजीनामा दिनुभएको केही समय अघि हो, सञ्चालक समितिले आज त्यसलाई स्वीकृत गर्यो,” घिमिरेले भने ।
२०७२ जेठ १२ गते नागरिक दैनिकको सम्पादकीय नेतृत्त्व सम्हालेका लुइँटेलले त्यहाँ ११ वर्ष बिताए ।
“दशक बढी एउटै प्रतिष्ठित समाचारकक्षमा अनवरत काम गर्नु मेरा लागि अवसर थियो”, लुइँटेलले भने, “दैनन्दिन गरिने उस्तैखाले कामबाट विश्राम लिएको मात्र हो, फेरि पनि गर्ने त पत्रकारिता नै हो ।” लुइँटेलले रिपोर्टिङ, लेखनमार्फत् आफू सक्रिय भइरहने बताए ।
केही समय अघि नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक ज्ञवाली परिवारका सदस्यहरूले सञ्चालक समितिबाट शृङ्खलाबद्ध रुपमा राजीनामा दिएका थिए ।
‘के तपाईँको राजीनामा त्यसैको श्रृङ्खला हो ?’, मिडिया कुराकानीको प्रश्नमा लुइँटेले भने- ‘त्यो व्यवस्थापकीय कुरा हो । म सञ्चालक समितिमा पनि छैन र थाहा हुने कुरा पनि भएन ।’
लुइँटेलले २०७२ को भूकम्पदेखि संविधान निर्माण, नाकाबन्दी, कोरोना महाव्याधि हँदै जेनजी प्रदर्शनसम्मको उथलपुथलकारी दशकमा आफूले काम गर्ने अवसर पाएको बताए ।
“यो सामाजिक असन्तुष्टिको समय हो । यी उथलपुथल, इतिहासको पहिलो मस्यौदा तयार पार्ने जिम्मेवारी बोकेका हामी पत्रकारको जीवनमा धेरै नै महत्वपूर्ण समय हुन्”, लुइँटेलले भने ।
नेपाल रिपब्लिक मिडियाको सञ्चालक समितिले नयाँ सम्पादक नियुक्तिको निर्णय गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।