अन्नपूर्ण पोस्ट्को प्रधान सम्पादकमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कले २०८२ पुस २२ गते मंगलबार बस्नेतलाई प्रधान सम्पादकमा नियुक्त गरेको हो ।
तिनकुनेस्थित प्रधान कार्यालयमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नवनियुक्त प्रधान सम्पादक बस्नेतलाई स्वागत गरे ।
बस्नेतलाई स्वागत गर्दै अध्यक्ष थापाले पत्रकारितामा परिपक्व अनुहार प्रकाशन गृहले पाएको भन्दै खुसी व्यक्त गरे । “प्रिन्ट मिडियाले निकै चुनौती भोग्दै आएको छ”, क्याप्टेन थापाले भने, “यस्तो अवस्थामा नयाँ नेतृत्वले पर्याप्त सुझबुझ र अनुभवसहित काम गरी नेपाली पत्रकारितालाई बलियो र उचो राख्ने विश्वास लिएको छु ।”
नवनियुक्त प्रधान सम्पादक बस्नेत प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष पनि हुन् । कान्तिपुर दैनिकमा झण्डै २० वर्ष विभिन्न विभागीय प्रमुख भई काम गरेको अनुभव उनीसँग छ । इकान्तिपुर दैनिकको समाचार प्रमुखको अनुभवसमेत उनीसँग छ । बस्नेत अधिवक्तासमेत हुन् ।
दोलखा घर भएका बस्नेतले आम सञ्चार तथा पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं कानुनमा स्नातक गरेका छन् ।
समारोहमा अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीलाई बिदाइ गरिएको थियो ।