हामी जस्तो सामान्य मान्छेहरुलाई धेरै कुराको ज्ञान हुँदैन। त्यसैले हामी भर पर्ने भनेको विज्ञमा हो। तर विज्ञले नै भ्रम फैलायो भने के होला?
विज्ञले पनि भ्रम फैलाउँछन् र भन्ने तपाईँलाई लाग्यो होला। एउटा यस्तै उदाहरण आज देखियो। तीन जना डाक्टरहरु मिलेर गलत कुरा गरेर एउटा भ्रम फैलाए।
सन्दर्भ हो, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७ मे २०२१ मा कोभिड-१९ विरुद्ध बनेको एउटा थप खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको विषय। त्यो थियो चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको खोप।
त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजीका प्रोफेसर द्विजराज भट्टले ट्विटरमा बीबीसी नेपालीमा प्रकाशित समाचारको लिङ्कसहित शनिबार राति लेखे- ‘नेपालमा प्रयोग भइरहेको चिनियाँ खोप सिनोफार्म डब्लुआईबीपी हो। यसले डब्लुएचओ मान्यता पाएको होइन। सिनोफार्मको अर्को खोप बीबीआईपीले मान्यता पाएको हो। दुवै खोप भेरोसेल बेस्ड इनएक्टिभेटेड भ्याक्सिन हो।’
त्यतिमात्र होइन, उनले भ्रामक न्युज कन्फर्म गरेर मात्र लेखौँ भन्दै खण्डन छाप्नसमेत आह्वान गरे।

त्यसैगरी भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माले पनि ट्विटरमा लेखिन्- ‘झुक्याउने काम नहोस्। सीनोफार्मको दुई बीबीआईपी (बेइजिङ बेस्ड) र डब्लुआइबीपी (वुहान बेस्ड) इन्एक्टिभेटेड, भेरोसेल कल्चर एन्ड इनएक्टिभेटेड भ्याक्सिनहरु छन्। बीबीआईपीले डब्लुएचओ मान्यता प्राप्त गर्यो तर डब्लुआइबीपी ट्रायल फेजमा छ। मान्यता त परैको कुरा भयो। त्यसै सित्तैमा दिएको होइन।’

चीनले ८ लाख डोज चीनमा बनेको खोप निःशुल्क दिएको थियो। त्यसैलाई इङ्गित गर्दै उनले ‘त्यसै सित्तैमा दिएको होइन’ लेखेको बुझिन्छ।
उनले डा. समीरमणि दीक्षितले अप्रिल ८ मा लेखेको अर्को ट्विटलाई पनि कोट गरेकी छिन् जसमा दीक्षितले नेपालमा सिनोभ्याक र सिनोफार्म बीबीआईबीपी खोप नभएर सिनोफार्मले बनाएको अर्को डब्लुआईबीपी खोप पाएको भन्दै औषधी व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयको सूचना अनुसार भनेर दावी गरेका छन्।

प्रोफेसर भट्टकै ट्विटलाई कोट गर्दै @nepalcovidinfox ट्विटरले बीबीसी नेपालीको समाचारलाई मिसइन्फरमेसन अलर्ट लेख्यो-

विज्ञले नै लेखेपछि उसलाई मिसइन्फरमेसन भन्ने लाग्यो होला, खोज्ने, भेरीफाइ गर्ने दुःख कसले गरोस्।
खास कुरा के हो ?
खोपको अनुमति दिने काम डब्लुएचओले गर्छ। उसले अनुमति पाइसकेका र अनुमति पाउने प्रक्रियामा रहेका खोपहरुको विस्तृत विवरण आफ्नो वेबसाइटमा राख्ने गरेको छ।
४ मे, २०२१ मा अपडेट गरिएको विवरण अनुसार कूल १९ वटा खोप आपतकालीन अनुमति/प्रिक्वालिफिकेसनमा सूचीकृत छन्। त्यसमा चीनमा बनेका ६ वटा खोप छन्- सिनोफार्म/बीआईबीपी, सिनोभ्याक, क्यानसिनोबायो, झिफेइ लङकम चाइना, आईएमबीसीएएमएस चाइना र सिनोफार्म/डब्लुआईबीपी।
डब्लुएचओले ७ मे, २०२१ मा जारी गरेको विज्ञप्ति अनुसार सिनोफार्मको बेइजिङ बायोइन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टसले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको हो।

त्यसो भए नेपालमा आएको खोप कुन हो त ?
औषधी र खोपको अनुमति दिने सरकारी निकाय औषधी व्यवस्था विभागले १७ फेब्रुअरी २०२१ मा चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो। त्यतिबेलाको सूचना वेबसाइटमा राखिँदा शीर्षकमा नै EUA of covid 19 vaccine (Vero cell), inactivated manufactured by BIBP(under sinopharm) लेखेको देखिन्छ।

विभागको सूचनामा पनि खोप उत्पादकको नाम बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस (बीआईबीपी) लेखिएको छ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले चिनियाँ खोपको बारेमा मिडियालाई पठाएको ब्रिफिङमा पनि लेखिएको छ-

देख्नुभो त दुई जना डाक्टरले हुँदै नभएको कुरामा भ्रम फैलाए। उनीहरुलाई यसो गर्न उत्प्रेरित चाहिँ अर्का डाक्टरले गरेका रहेछन् – समीरमणि दीक्षित।
दीक्षितले अप्रिल ८ मा यस्तो लेखेका रहेछन्-

उनले as per DDA अर्थात् औषधी व्यवस्था विभाग र MoHP अर्थात् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भन्दै WIBP भ्याक्सिन आएको ठोकुवा गरेका रहेछन्।
तर आज भने उनले ‘माइ मिस्टेक’ भनेर स्वीकारेछन् र दोष जति त्यतिबेला क्लियर थिएन भनेछन्। अर्का डाक्टर लुनाले पनि होमा हो थप्दै क्लियर थिएन नै भनेछन्।

अचम्म। किन अनक्लियर ? कुरो किल्लोर नै छ त।
खासमा औषधी व्यवस्था विभागले कुन कुन खोपलाई मान्यता दिन्छ भन्ने कुरो उसको वेबसाइटमा निर्णय भएकै दिन वा भोलिपल्ट राखेको हुन्छ। औषधी व्यवस्था विभागको वेबसाइटको ठेगाना dda.gov.np हो। १७ फेब्रुअरीमा नै कुन कम्पनीको खोपलाई मान्यता दिइएको हो भनेर स्पष्ट जानकारी राखिएकै थियो, अनि केको अनक्लियर ?
त्यसो त नेपालले अनुमति दिएर खोप लगाउँदासम्म यसले डब्लुएचओको स्वीकृति पाइसकेको थिएन। तर अहिले कुरा भइरहेको डब्लुएचओले शुक्रबार नयाँ स्वीकृति दिएको खोपको हो। नेपालमा त्यही खोप आएको हो। तर विज्ञहरुले होइन भन्ने पार्न खोजे। समाचारसमेत कन्फर्म गरेर मात्र लेखौँ भन्दै खण्डन गर्न आह्वान गरे।
विज्ञ भएर यसरी भ्रम फैलाउनु भएन नि डाक्सापहरु। त्यसै पनि अहिले इन्फोडेमिक भइराछ। कस्ता कस्ता गलत र भ्रामक सूचनाहरुसँग हामी भिड्नु परिरहेको छ। तपाईँहरु जस्ता विज्ञले नै यस्तो नभएको कुरा फैलाइदिँदा तपाईँलाई विश्वास गर्नेहरु ‘विश्वास’मा घात हुन्छ नि। अबदेखि कुरा बुझेर मात्र, भेरीफाइ गरेर मात्र लेख्नुहोला, हस् ?
- नेपाल फ्याक्ट चेकबाट