निर्मलमणि अधिकारी-
सञ्चारका तहअन्तर्गत अन्तरनिहीत वा आन्तरिक सञ्चार, अन्तरव्यक्ति सञ्चार, समूह सञ्चार, साङ्गठनिक सञ्चार र आमसञ्चारको चर्चा गरिन्छ। कतिपय सञ्चारविद्ले समूह सञ्चार (ग्रुप कम्युनिकेसन) र आमसञ्चार (मास कम्युनिकेसन) बाट फरक छुट्ट्याएर सार्वजनिक सञ्चार (पब्लिक कम्युनिकेसन) को तह पनि उल्लेख गरेको पाइन्छ तर अधिकतर सञ्चारविद्ले सञ्चारका माथि उल्लेखित पाँच तहलाई नै मानेको देखिन्छ। यिनमा सबैभन्दा प्रारम्भिक तहमा अन्तरनिहीत सञ्चार प्रक्रिया रहेको छ भने सबैभन्दा माथिल्लो तहमा आमसञ्चार प्रक्रिया रहेको छ। समाजको आधारभूत एकाइ व्यक्तिका तहमा हुने सञ्चार प्रक्रिया अन्तरनिहीत वा आन्तरिक प्रकृतिको हुन्छ भने बृहत्तर जनसङ्ख्याका लागि सञ्चारमाध्यमको प्रयोग गरी आमसञ्चार प्रक्रिया सम्पन्न गरिन्छ।
कुनै पनि व्यक्तिमा आन्तरिक रूपमा सम्पन्न हुने सञ्चार प्रक्रिया (जस्तैःमनोवाद)लाई अन्तरनिहीत वा आन्तरिक सञ्चार भनिन्छ। यसमा सन्देश वा सूचनाका रूपमा विचार, अनुभूति, भावना आदि रहन्छन् भने स्नायु प्रणालीले सरणि वा माध्यमको भूमिका निर्वाह गरिरहेको हुन्छ। हामी अरू व्यक्तिसँग मात्र सञ्चार गर्दैनौँ, बरु आफैँसँग पनि सञ्चार गरिरहेका हुन्छौँ। एक्लै बस्दा मनमा तर्क–वितर्क गर्नु, मनमनै कुनै कुरा सोचिरहनु यसको उदाहरण हो। हाम्रो शरीरको एक अङ्गमा कुनै असर प-यो भने त्यो कुरा हामी अनुभूति गर्न सक्दछौँ। जस्तै, बाटोमा हिँड्दा खुट्टामा काँडा गड्यो भने खुट्टामा भएका नसाले त्यो कुरा मस्तिष्कमा पु-याइहाल्छन् र हामीलाई काँडा गडेको कुरा तत्काल थाहा भइहाल्छ। यसरी मानव शरीरमा आन्तरिक रूपमा पनि सञ्चार प्रक्रिया चलिरहेको हुन्छ।