सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आइतबारदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च-नेपालको संयुक्त आयोजनामा 'सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन २०२४' हुन लागेको हो ।
पुस ७ गते सोमबारसम्म दुई दिन चल्ने सम्मेलनमा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति, विषयगत छलफल तथा मिडिया क्षेत्रका समसामयिक विषयहरूमा विमर्श हुने आयोजकहरूले जनाएका छन् ।
सम्मेलनका सबै सत्रहरू बल्खुस्थित त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग (क्यामेरा भवन) मा हुनेछन् ।
त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाललको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन सत्र शनिबार बिहान ९ बजे सुरु हुनेछ । उद्घाटन सत्रमा वरिष्ठ पत्रकार तथा प्राध्यापक पी. खरेलले बहुमाध्यमको युगमा विभाजित पाठक शीर्षकमा मुख्य मन्तव्य प्रस्तुत गर्नेछन् ।
दक्षिण एसियाका सञ्चार, मिडिया र पत्रकारिता क्षेत्रका विद्वानहरूको कार्यपत्र प्रस्तुतीकरण, विशेष व्याख्यान र प्यानल छलफल गरी सम्मेलनलाई तीन खण्डमा बाँडिएको छ । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत मुलुकका विज्ञहरूको सहभागिता रहनेछ ।
पहिलो दिनका दुईवटा सत्रमा तीनवटा विशेष प्रस्तुतिसहित १५ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। दोस्रो दिन कृत्रिम बुद्धिमत्ता (एआई) युगमा मिथ्यासूचनाको सामना, मिडिया र भ्रष्टाचार, पत्रकारिताको दिगोपना, मिडिया शिक्षाको भविष्य, पत्रकारिताको भविष्य र मिडिया-राज्य सम्बन्ध लगायतका विषयमा प्यानल छलफल हुनेछन्।

त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, क्यामेरा भवन । तस्बिर सौजन्यः विकास कार्की
वरिष्ठ पत्रकार कुन्दा दीक्षितले मिडिया शिक्षाको भविष्यबारे विशेष व्याख्यान दिनुहुनेछ भने समापन सत्रमा शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको मन्तव्य रहनेछ।
सम्मेलनमा एआईको प्रभावबारे विशेष प्रदर्शनी र तीनवटा पोस्टर प्रदर्शनी पनि राखिएको छ । विद्यार्थीहरूका लागि छुट्टै अनुसन्धान प्रस्तुति सत्रको पनि आयोजना गरिएको छ।
नेपाल र दक्षिण एसियाली क्षेत्रका सञ्चार, मिडिया र पत्रकारिता क्षेत्रका अनुसन्धाताहरूका प्राज्ञिक कामलाई प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले जानकारी दिए ।
पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग पुर्याउने सम्मेलनको उद्देश्य रहेको अर्यालले बताए ।