दुई वर्ष अघि (२६ असार २०७८) सम्पादकको जिम्मेवारीसहित कान्तिपुर दैनिक प्रवेश गरेका उमेश चौहान कान्तिपुरको प्रधान सम्पादक नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आइतबार (७ जेठ २०८०) प्रधान सम्पादक सुधीर शर्मालाई बिदाई गरे र चौहानलाई सम्पादकीय नेतृत्वमा स्वागत गरे ।
कान्तिपुरको सम्पादक नियुक्त हुनु अघि चौहान नयाँ पत्रिका दैनिकमा सम्पादक थिए । उनले १९ फागुन २०७५ मा नयाँ पत्रिका दैनिकको सम्पादकको जिम्मेवारी लिएका थिए ।
नयाँ पत्रिका र नेपाली पत्रकारिताको इतिहासमा उनको त्यो सम्पादकीय कार्यकाल त्यस्तो पानीढलो हो, जुन कोभिड-१९ महाव्याधिमा गरिएको नेपाली पत्रकारिताको उच्चतम अभ्यास थियो । चौहानले नयाँ पत्रिकाको सम्पादकीय नेतृत्व लिँदै गर्दा म पनि त्यहीँ कार्यरत थिएँ । यो सानो लेखोट मैले देखेको, चिनेको र गफिएको उमेश चौहानमाथि केन्द्रित छ ।

प्रधान सम्पादक चौहानलाई स्वागत गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया (दायाँ) र पूर्व प्रधान सम्पादक सुधीर शर्मा (बायाँ) । फोटोः ईकान्तिपुर
देशकै ठूलो मानिने कान्तिपुर मिडिया ग्रुपले कोभिड–१९ महाव्याधिका कारण कान्तिपुर दैनिकको प्रकाशन स्थगित गरेको थियो । के गर्न हुने र के गर्न नहुने भन्ने अन्योलबीच मिडिया हाउसहरू इतिहासका लागि आफ्ना पदचापहरू सिर्जना गर्दै थिए ।
कान्तिपुरले आफ्नो प्रकाशन स्थगित गर्ने निर्णय गरेपछि नयाँ पत्रिकाको प्रकाशन के हुने भन्ने अलमलबीच समाचार कक्षमा दैनिक काम चल्दै थियो । झण्डै ४ बजेको सेरोफेरोमा सम्पादक आइपुगे । म एउटा लेख सम्पादन गर्दै थिएँ । सबैलाई शिष्टाचार अभिवादन गर्दै उनी म भएतिर आइपुगे । सम्पादक समाचार कक्षामा प्रवेश गरेसँगै नयाँ पत्रिका थप गुलजार हुने गर्थ्यो । चौहानको सम्वादपसन्द व्यवहारले सबैलाई त्यति नै आनन्दित हुने र खुलेर हाँस्ने ‘स्पेस’ प्रदान गर्थ्यो । तर, त्यो दिन चौहान साथीहरूलाई स्पष्ट सन्देश बोकेर आएका थिए ।
चौहानेले भनेका थिए, ‘सुविधा छ त्यसैले छोरो पत्रकारितामा छ भन्नका लागि हामी पत्रकारितामा आएको होइन । देशमा संकटहरू आउँछन् र त्यो संकटको बेलामा हामीले खबरदारी गर्नुपर्छ । यदि हाम्रै अफिसमा मानवीय क्षति भयो भने त्यस बेलासम्म समाजमा धेरै क्षति भइसकेको हुन्छ । त्यसैले त्यो क्षतिलाई हामीले व्यक्तिगत रुपमा लिनु पर्ने कारण पनि रहन्न । समाजले नै मूल्य चुकाउने अवस्थामा हामीले हाम्रो क्षतिको मात्रै चिन्ता गरेर हुँदैन । हाम्रो खास परीक्षा हुने भनेकै प्रतिकूल अवस्थामा हो । साथीहरू आ-आफ्नो ठाउँमा तपाईंहरू लाग्नुस् ।’
महामारी अथवा संकटका दिनमा पत्रिका बन्द गर्ने हो भने हामी पत्रकारिताको दायित्व र जिम्मेवारीबाट च्यूत हुन्छौँ, त्यसैले जुन सुकै मूल्यमा पनि पत्रिका निकाल्नु पर्छ भन्ने उनको मत थियो । र, भयो पनि त्यही ।

नयाँ पत्रिकाको समाचार कक्षमा सहकर्मीहरूसँग चौहान ।
पत्रकारिताको भोक र समाजिक दायित्वको छटपटीपूर्ण घर्षणबाट उनले शब्दहरूको उत्खनन् गरे र सामान्य भाषाशैलीमा आफूभन्दा धेरै पर रहेका सामान्यजनसम्म आफ्ना कुरा पुर्याउने चेष्टा गरिरहे, जुन आज पर्यन्त जारी छ । क्लिष्ट लेखन शैली नपछ्याई सामान्य कुराबाटै गहिरो सन्देश दिने समझ बोकेका न्यून पत्रकारहरू मध्ये पर्छन् उनी ।
केही वर्षदेखि उनी बारम्बार भन्ने गर्थे, ‘हामीले लामो समयको पत्रकारिता नायिकाको सेन्डल गनेर समाचार लेख्नमै खर्चियौँ । अबको पत्रकारिता सेन्डल र विकिनीको समाचार लेखेर होइन, यो देशका कति मानिसले आँङ ढाक्ने एकसरो लुगा पाएका छैनन्, खाना पाएका छैनन्, स्वास्थ्य र शिक्षा पाएका छैनन् त्यसमा केन्द्रित गर्नुपर्छ ।’
एउटा सम्पादकको समझलाई चेतना र दृष्टिकोणको विन्दुबाट हेर्ने हो भने यो ठूलो फड्को हो । यही दृष्टिकोणले उनलाई सामान्य भन्दा सामान्य पत्रकारलाई पनि पत्रकारितामा हौस्याउने र आफूलाई सरल बनाई राख्ने बल दिन्छ ।
प्रधान सम्पादकको जिम्मेवारी सम्हालेपछि उनले समाचार कक्षलाई सम्बोधन मात्रै गरेनन्, कान्तिपुरमा तीन दशकदेखि कार्यरत समाचार कक्षका सहयोगी चेतबहादुरलाई अँगालो मारे । कान्तिपुरका पत्रकार घनश्याम खड्काले सङ्केतमा लेखे- ‘क्षितिजलाई आकाशले अँगालेजस्तो सुलभ होइन पहाडले मैदानलाई आलिङ्गन गरेजस्तो यो दुर्लभ तस्बिर निकै नै सुन्दर छ धेरै अर्थमा ।’
तीन दशकदेखि न्युजरूममा अनवरत समर्पित चेतबहादुर दाजुले भर्खरै नवनियुक्त प्रधान सम्पादक @Umesh_Chauhan लाई भावपूर्ण बधाई दिनु भयो र प्रेमले अगाल्नु भयो । क्षितिजलाई आकाशले अँगालेजस्तो सुलभ होइन पहाडले मैदानलाई आलिङगन गरेजस्तो यो दुर्लभ तस्वीर निकै नै सुन्दर छ धेरै अर्थमा । pic.twitter.com/kRxtzPOuyL
— Ghanashyam Khadka (@Bodhighanashyam) May 21, 2023
चौहानको अर्को बलियो पक्ष के हो भने पत्रकारितामा उनको गुट छैन । अर्घखाँचीबाट बुटवल बहुमुखी क्याम्पस हुँदै कान्तिपुरको प्रधान सम्पादक भइरहँदा ‘सबै उनका र उनी सबैका’ सोचबाट अघि बढिरहेका छन् उनी । तर, समाज र पत्रकारिताको प्रयोगशालामा उनको यो प्रयोग सफल हुन्छ वा हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।

प्रधान सम्पादकको जिम्मेवारी सम्हालेपछि चौहान कान्तिपुरका सहकर्मीहरूसँग । फोटोः ईकान्तिपुर
जनधारणा साप्ताहिकबाट २०५४ देखि पत्रकारिता थालेका उनले राजधानी दैनिक, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन र नयाँ पत्रिकामा काम गरे । इतिहास र राजनीतिशास्त्रमा स्नातक गरी पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका चौहानले चीनको बोहाई विश्वविद्यालयबाट मिडिया स्टडिजमा स्नातकोत्तर गरेका छन् । डकुमेन्ट्री र डिजिटल विज्ञापन निर्माणमा दक्षता राख्ने चौहानले आज भन्दा डेढ दशक अघि सद्दाम हुसैनबारे पुस्तकसमेत लेखेका छन् ।
कान्तिपुरबाट बिदा भएसँगै पूर्व प्रधान सम्पादक सुधीर शर्माले चौहान बारे लेखेका छन्, ‘अबको सम्पादकीय जिम्मेवारी उमेश चौहान जस्ता होनहार र प्रतिवद्ध पत्रकारलाई सुम्पेर जान पाउँदा मलाई खुसी लागेको छ, उमेशजीलाई धेरै–धेरै बधाई । उहाँले कान्तिपुरको सक्षम टीमको साथमा नयाँ युग सुहाउँदो पत्रकारिता अगाडि बढाउनेमा म विश्वस्त छु, हार्दिक शुभकामना ।’
++ अबको सम्पादकीय जिम्मेवारी उमेश चौहानजस्ता होनहार र प्रतिवद्ध पत्रकारलाई सुम्पेर जान पाउँदा मलाई खुशी लागेको छ, उमेशजीलाई धेरै–धेरै बधाई। उहाँले कान्तिपुरको सक्षम टीमको साथमा नयाँ युगसुहाउँदो पत्रकारिता अगाडि बढाउनेमा म विश्वस्त छु, हार्दिक शुभकामना। pic.twitter.com/6vdAkfo0w0
— Sudheer Sharma (@sudheerktm) May 21, 2023
जीवनमा सरलता र कामप्रतिको हुटहुटी उनमा कस्तो छ भन्ने बुझ्न नयाँ पत्रिकाका दुईवटा उदाहरण छन् । पहिलो, उनी घरबाट खाना पकाएर ल्याउने गर्थे र ‘नाइट डेस्क’ मा काम गर्ने सबै साथीहरूसँग मिलेर खान्थे । चौहानको टिफिनमा दिवाकर मैनाली, जनार्दन बराल र मेरो त आदिवासी हक-अधिकार नै स्थापित थियो । जुन दिन अरु काममा व्यस्त हुन्थे चौहान मैनालीलाई आफ्नो च्याम्बरमा डाकी छाड्थे । अफिसमा टिफिन खोल्दा चौहान जति हर्षित हुन्थे म त्यो भन्दा कयौँ गुणा हर्षित हुन्थेँ किनभने भाउजुले पकाएको खाना जीवन सफल पार्ने स्तरकै हुन्थ्यो । लजाउने र छिटो घर जान चाहने अधिकांश यसबाट वञ्चित हुन्थे ।
दोस्रो, कम्तिमा हामी १० देखि १२ जना साथीहरू राति (बिहान ?) ३ देखि ४ बजे घर जाने गर्थ्यौँ । छिटै घर जाउँ भन्ने दिन पनि हामी २ बजे मात्रै बाटो लाग्थ्यौँ । ‘ओपएड’ को काम छिटै सकिए पनि म पहिलो पृष्ठको समाचार बनाउँदै गरेको हेरेर आनन्दित हुन्थेँ । किनभने समाचारका अनेकन आयाम र त्यसलाई पस्किने शैलीबारे त्यहाँ विविध प्रयोग गरिन्थे । समाचारका शीर्षक, हाइलाइट्स, फोटो, टेबल, बुलेटबारे अनेकानेक छलफल गरिन्थ्यो ।
एकदिन हामी छिटै काम सकेर फर्कर्दै थियौँ । लिफ्टमा नयाँ पत्रिकाका नाइट डेक्ट डिजाइनर प्रवीण बुढाथोकीले मानिसहरूलाई यसमा निकै रुचि रहेछ भनेर कुनै एउटा विषय झिके ।
‘हो र ?’ चौहानले प्रश्न गरे ।
समाचार कक्षका ‘सेकेन्ड म्यान’ खगेन्द्र पन्तले पनि हो मात्रै के भनेका थिए, लिफ्टबाट तल झरिसकेका हामी सबैलाई ‘त्यसो हो भने त्यही समाचार गर्नुपर्छ’ भनेर राति २ बजे चौहानले स्टार मलको छैठौँ तला उकाले । अन्ततः जिल्ला बाहिर जाने प्रति छाप्न लगाइयो । र, उपत्यकामा वितरण हुने कपी ‘स्टप प्रेस’ मा पर्यो । हामी सबैजना फेरि नयाँ समाचारको काममा लाग्यौँ । नयाँ पत्रिकामा हुँदा मैले चिनेको उमेश चौहान त्यही हो ।

नयाँ पत्रिकामा चौहान ।
चौहानले भनेपछि डेस्क, प्रुफ र डिजाइनका कसैले पनि नाक खुम्च्याउने गरेको मलाई थाहा छैन । बरु उनीहरू त झन् केही नयाँ गर्नुपर्छ भन्ने सम्पादकको ‘सनक’ लाई हौस्याउँदै त्यसको मजा लिन्थे । उनले आफूसँग काम गर्नेहरूको मन यसरी जितेका थिए कि हामीले गर्ने कामको महत्त्व छ भन्ने बोध सबैमा हुन्थ्यो ।
त्यसो त केही रिपोर्टरहरू चौहानसँग चिढिन्थे पनि । ‘कस्तो सम्पादक हो ? राति ११ बजे फोन गरेर भेरिफाई गर्न लगाउँछ’, साथीहरूको भनाई हुन्थ्यो ।
चौहानको २४ घण्टे दैनिकी बडो अजिबोगरिब थियो । मलाई उनको जीवनको ‘क्यारेक्टर फ्लो’ ले निकै आकर्षित गर्थ्यो । नयाँ पत्रिकाका कसैलाई पनि दिउँसो १२ बजे भन्दा अघि सम्पादकलाई फोन गर्ने अनुमति थिएन । जे-जे भन्ने हो दिउसो १२ बजेपछि । खासमा उनको दिनको सुरुवात नै १२ बजेपछि हुन्थ्यो । यही कारण हो कि डाक्टरले उनलाई ‘भिटामिन डी’ चक्की खान सुझाएका थिए ।
लकडाउनका समयमा जतिबेला ‘वर्क फ्रम होम’ चल्दै थियो उनी बिहान ७ बजे सुत्थे र दिउसो १२ बजे उठ्थे । अहिले परिस्थिति सामान्य छ त्यसैले उनी बिहानको ५ बजे सुत्छन् र दिउसो १२ बजे उठ्छन् । रातभर उनी के गर्छन् त ? चौहान रातको समय मूलतः दुई काम गर्छन् । पहिलो, सिनेमा हेर्छन । दोस्रो, अध्ययन गर्छन् । अध्ययनमा उनको पछिल्लो रुचि हो– अर्थशास्त्र, अर्थराजनीति, भूराजनीति र मिडिया । यति नै बेला उनले कोलम्बिया जर्नलिजम् रिभ्युदेखि न्युयोर्करसम्म र एआईको पछिल्लो विकासदेखि विश्व राजनीतिको उतार–चढाबबारे हेरिसक्छन् ।
त्यसैले पृथ्वीका अन्य मानिसको विपरीत उनीसँग दिनमा भन्दा रातमा कुरा गर्न सहज हुन्छ । तर, मिडिया कुराकानीले उनीसँग रातमा कुरा गर्न खोज्दा पनि उनको फोन उठेन ।
मैले उनीसँग मूलतः दुईवटा प्रश्न सोध्न खोजेको थिएँ । पहिलो, प्रधान सम्पादक भएर आइसकेपछि तपाईं कान्तिपुरलाई कस्तो समाचार कक्षका रूपमा विकास गर्न चाहनुहुन्छ ? दोस्रो, यदि कान्तिपुर मिडिया ग्रुपले तत्काल पत्रकारको पारिश्रमिक वा पत्रकार कटौती गर्ने योजना ल्यायो भने तपाईंको भूमिका कस्तो हुनेछ ?
कुरा हुन नसके पनि चौहानले ट्विट गर्दै लेखेका छन्, ‘दुई वर्षअघि कान्तिपुर प्रवेश अवसर थियो, यसपालि भने चुनौती । प्रोफेशनल म्यानेजमेन्ट र ब्रिलियन्ट न्यूजरुमका साथ पत्रकारितालाई थप सशक्त बनाउने छौँ ।’
२ वर्षअघि कान्तिपुर प्रवेश अवसर थियो,यसपालि भने चुनौती।
— Umesh Chauhan (@Umesh_Chauhan) May 21, 2023
प्रोफेशनल म्यानेजमेण्ट र ब्रिलियण्ट न्युजरुमका साथ पत्रकारितालाई थप सशक्त बनाउने छौं।
जिम्मेवारी प्रदान गर्नुभएकोमा अध्यक्ष @KailashSirohiya सरप्रति आभार,मार्गदर्शनका लागि @sudheerktm सरप्रति कृतज्ञ ।https://t.co/iUOM2SdHWR
कान्तिपुरमै कार्यरत पत्रकारहरूसँग कुरा गर्दा थाहा हुन्छ- कान्तिपुर निकै व्यवस्थित र संगठित रुपमा सञ्चालित मिडिया हो । तर सँगसँगै कुनै संस्था जति व्यवस्थित र संगठित हुँदै जान्छ त्यो त्यति नै सशक्त ‘ब्युरोक्रेटिक सिस्टम’ मा रुपान्तरित हुँदै जान्छ । यसले निम्त्याउने चुनौतीको सामना सम्पादकले समेत गर्नुपर्ने हुन्छ । अब प्रश्न के हो भने चौहान आफ्नो समाचार कक्षलाई ‘ब्युरोक्रेटिक सिस्टम’ बाट उनैले भनेजस्तो ‘ब्रिलियन्ट न्यूजरुम’ मा रुपान्तरण गर्न सफल होलान् ? उनको सफलता कहीँ न कहीँ कान्तिपुरको मात्र नभई भावी दिनको नेपाली पत्रकारितासँग पनि गासिन पुगेको छ ।

सिनेमा पढ्दै गरेका विद्यार्थीहरूसँगको सम्वादमा चौहान ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिजम् नेटवर्क (निमजिन) को कार्यक्रममा चौहानले भनेका थिए, ‘पत्रकारिता तपाईं–हाम्रा लागि पेशा मात्रै होइन । यो वास्तवमा आन्दोलन हो । जहाँ–जहाँ राज्यको स्रोत र व्यक्तिको सम्मान लुटिन्छ त्यस विरुद्ध आवाज उठाउने आन्दोलन हो यो । त्यसैले हामीले सामान्य रिपोर्टिङ गरेर मात्रै हाम्रो धर्म पूरा हुँदैन । तर, यति हुँदाहुँदै पनि हामीले न्वाइज र भ्वाइसमा फरक भने छुट्याउन सक्नुपर्छ ।’
विश्वभर नै छापाको भविष्यबारे बहस चलिरहेका बेला चौहानले ‘अझै पनि छापा पत्रकारिता उत्तिकै शक्तिशाली रहेको’ उल्लेख गर्दै ‘छापालाई नयाँ प्रविधिसँग जोडेर लैजान आफूले काम गर्ने’ बताएका छन् । चौहान यस्तो बेला कान्तिपुरको सम्पादकीय सत्ताको नेतृत्वमा पुगेका छन् जति बेला कान्तिपुर मिडिया ग्रुपभित्र कर्मचारी कटौती वा तलब कटौतीको चर्चा चुलिएको छ ।
पत्रकारितालाई आन्दोलन मान्ने चौहान आफ्नै मिडिया हाउसमा पत्रकार कटौती हुने अवस्था आए के गर्छन् होला ? पत्रकारिता जगतमा स्वभाविक चासोको विषय बनेको छ । जर्मन राजनीतिशास्त्री एलिजावेथ न्युमेनको स्पाइरल अफ साइलेन्स थ्योरीमा जस्तै चौहानले पनि मौनता साध्ने छन् वा मुखर आवाज ओकल्ने छन् समयले नै बताउला । तर, उनले जस्तो पाइला चाले पनि इतिहासमा त्यसका डोबहरू रहिरहने छन् भन्ने पक्का छ ।