पत्रकारितामा प्रविधिको प्रलय

पत्रकारितामा प्रविधिको प्रलय

Bing मा how technology shaping journalism प्रम्प्ट दिँदा सिर्जना भएको चित्र ।
  • फाल्गुण ९, २०८० बुधबार १७:५१

इन्टरनेटको जगमा अघि बढेको सामाजिक संजालले परम्परागत पत्रकारिताको अस्तित्वमाथि नै धावा बोलेको छ । छापा र विद्युतीय माध्यमको समाजिक संजालसँग साक्षात्कार र सहकार्यका बाबजुद तिनका स्रोता सेलाएका छन् । अखबार एवं टेलिभिजनका पर्दामा अडिने आँखा, अनि रेडियोमा लाग्ने कान संजालमा बसाई सरेका छन् । अझ एआइको चुनौती त बाँकी नै छ ।


लेखनाथ पाण्डे- 


दि इकोनोमिस्ट पत्रिकाले अगस्ट २००५ को अन्तिम अंकमा ‘कभर स्टोरी’ छाप्यो, जसको शीर्षक थियो, ‘अखबारको हत्या कसले गर्‍यो ?’औँला इन्टरनेटप्रति इंगित थियो । इन्टरनेट तथा अनलाइन मञ्चहरूले विज्ञापन खोसेका कारण पत्रपत्रिका संकटापन्न अवस्थामा पुगेको लेखको निचोड थियो । यहाँसम्म कि, सन् २०४३ ताका अमेरिकामा आखिरी अखबार छापिरहेको हुनसक्ने भविष्यवाणी गरिएको थियो ।

lekha-nath-pande-edited.jpgमिडिया मुगल रुपर्ट मुर्डकले भने अलि फरक धारणा राखेका थिए । उनको भनाइ थियो, ‘अखबारहरू बाँच्नेछन्, तर फरक आकार र ढाँचामा ।’ सन् २००८ ताका उनले प्रविधिका कारण अखबारले २१औँ शताब्दीमा नयाँ उचाइ हासिल गर्ने दाबी गरे । यद्यपि, छापा माध्यमको उत्पादन तथा व्यावसायिक ढाँचामा आमूल परिवर्तन आउने विचार दोहोर्‍याए ।

इकोनोमिस्टको उक्त आलेख झण्डै १८ वर्ष भयो । इन्टरनेटले परम्परागत पत्रकारिता व्यवसाय धरासायी बनाएको अवश्य हो तर प्रतिस्थापन गरिसकेको अवस्था होइन । कतिपय अखबारले इन्टरनेटको संक्रमण सामना गर्दै त्यसलाई व्यवसायको हिस्सा बनाएका छन् ।इन्टरनेटमै आधारित भएर उदाएको सामाजिक संजालले भने छापा माध्यम मात्र होइन, रेडियो तथा टेलिभिजनसामु पनि गम्भीर चुनौती पैदा गरेको छ । संजालका कारण पत्रकारिता मात्र होइन, समाचारकै मृत्युको शंखनाद गरेको कतिपयको टिप्पणी छ ।

छापा माध्यमसामु चुनौती खडा भएको यो पहिलो घटना भने होइन । २०औँ शताब्दीको सुरुताका अमेरिकामा २४ हजारभन्दा अधिक पत्रपत्रिका प्रकाशित हुन्थे । सन् २००५ मा झण्डै एकतिहाइ घटेर ८ हजार ८ सय ९१ पत्रपत्रिका मात्र बाँकी रहे । इन्टरनेट र सामाजिक संजालले पत्रपत्रिका विलुप हुने गति तीव्र पारेकामा भने शंका छैन ।

मेडिल स्कुल अफ जर्नालिज्मको अध्ययनअनुसार सन् २००५ देखि २०२२ सम्ममा अमेरिकामा करिब २ हजार ९ सय अखबार बन्द भए । र, यो क्रम बर्सेनि बढ्दो छ । सन् २०२२ मा त्यहाँ प्रत्येक साता दुई पत्रिकाको प्रकाशन बन्द भयो भने गत वर्ष दुई हप्तामा पाँच अखबारका प्रकाशन रोकिए । फोब्र्सका अनुसार गत नोभेम्बरसम्म अमेरिकामा करिब ६ हजार पत्रपत्रिका प्रकाशनरत छन्, जसमध्ये अधिकांश (४ हजार ७ सय ९०) साप्ताहिक हुन् ।

प्रतिव्यक्ति अखबार बिक्रीका हिसाबले अग्रपंक्तिमा रहेका जापान, नर्डिक राष्ट्रहरू तथा बेलायतमा छापा माध्यमको हालत उस्तै छ । विकासोन्मुख देशहरूमा दशक अघिसम्म परम्परागत पत्रकारिता फष्टाउँदो व्यवसाय थियो । अहिले भारत, चीन र दक्षिण अफ्रिकाजस्ता देशमा अखबारको बिक्री तथा पाठक संख्यामा ह्रास आएको छ । उसो त रेडियो तथा टिभीका स्रोता पनि क्रमशः घट्दै गएका छन् । यद्यपि, विकसित देशको तुलनामा विकासोन्मुख देशमा यसको गति धिमा देखिन्छ ।

चीनमा सन् २०१२ मा १ हजार ९ सय १८ पत्रपत्रिका प्रकाशित हुन्थे, सन् २०२२ मा उक्त संख्या १ हजार ७ सय ९ मा झरेको छ । यस्तै, सन् २०१३ नोभेम्बरमा चीनमा १ अर्ब ६३ करोडप्रति अखबार बिक्री भएकोमा एक दशकपछि २०२३ नोभेम्बरमा २९ करोडप्रति बिक्री घटेर यो आँकडा १ अर्ब ३४ करोडमा सीमित छ ।

भारतीय पाठक सर्वेक्षणले पत्रपत्रिकाको व्यापक उपलब्धता तथा सस्तो मूल्यका कारण सन् २०१९ मा छापामाध्यमको पाठक बढ्दो क्रममा देखाएको थियो । कोभिड–१९ महामारीसँगै यसको गति उल्टो देखिन्छ । पछिल्ला अध्ययनले ठूला राष्ट्रिय तथा क्षेत्रीय पत्रपत्रिकाका बिक्री, मोटाइ तथा पाठक घट्दै गएको देखाउँछ । कतिपय अखबारका पाठक डिजिटल संस्करणमा सरेका छन्, जहाँ तिनले पैसा तिरेर पढ्ने गर्छन् ।

आयआर्जनको दृष्टिले भने भारतका ठूला सञ्चारगृहको ‘रिभेन्यु’ कोभिडपूर्वको अवस्थातर्फ उन्मुख देखिन्छ । यसको श्रेय सरकारी विज्ञापन, उच्च आर्थिक वृद्धि तथा अखबारका वफादार पाठकवर्ग हुन् । इवाई इन्डियाका अनुसार सन् २०१९ मा भारतमा छापा माध्यमको कुल ‘रिभेन्यु’ भारु २ सय ५ अर्ब थियो । कोभिड महामारीका कारण सन् २०२० मा ४० प्रतिशतले घटेर भारु १ सय २१ अर्बमा खुम्चियो । सन् २०२२ मा समग्र छापा माध्यमको रिभेन्यु भारु १ सय ७० अर्ब हाराहारी पुगेको छ ।

०००

पत्रकारिताको सबैभन्दा प्रमुख पक्ष ध्यानाकर्षण गर्न सक्नु हो । यसैमा पत्रकारिताको व्यावसायिक सफलता वा असफलता निर्भर हुन्छ । २०औँ सताब्दीको दोस्रो दशकसम्म छापा माध्यमको एकल राज थियो, विज्ञापनजति अखबारमा ओइरिन्थ्यो । र, त्यसताका युरोप र अमेरिकामा अखबारी पत्रकारिता सफलताको शिखरमा थियो ।

सन् १९२० र सन् १९३० को दशकमा रेडियो तथा टेलिभिजन आगमनसँगै हाम्रो ध्यान तान्ने छापा माध्यमका प्रतिस्पर्धी भित्रिए । समाचार पढ्ने मात्र होइन, सुन्न र हेर्न सकिने भयो । अहिले छापा तथा विद्युतीय माध्यमको सहअस्तित्वको इतिहास शताब्दी लामो भइसकेको छ ।

तर, रेडियो अस्तित्वमा आउँदा पनि अखबारको मृत्युको शंखनाद नगरिएको होइन । रेडियोलाई पत्रपत्रिकाले निकै समय सौताको व्यवहार गरे । अमेरिकामा रेडियोलाई समाचार भन्नबाट रोक्न निकै कोशिस भयो । अन्ततः बिहान १० बजेसम्म अखबार बिक्रीवितरण गर्ने, र त्यसपछि मात्र रेडियोले समाचार फुक्न पाउने व्यवस्था गरियो । त्यसैले उतिबेला ‘१० बजेपछि अखबार मर्छ’ भनिन्थ्यो ।

अहिले त अखबार छापिनु अगावै आयु सकिइसक्छ । अखबारमा आउने सूचना र जानकारी पहिल्यै समाचार पोर्टल र सामाजिक संजालमा बिस्कुन लागिसकेको हुन्छ । छापा माध्यमको कुरै छाडौँ, रेडियो र टिभीलेसमेत समाचार ‘ब्रेक’ गर्न मुस्किल छ । कुनै दिन कृतिम बौद्धिकता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)ले समाचार ‘ब्रेक’ गर्दा आश्चर्य हुने छैन ।

०००प्रविधिको विकासले सञ्चार माध्यममाथि निरन्तर प्रभाव पार्दै आएकोमा शंका छैन । प्रविधिको जगमा नै परम्परागत पत्रकारिताले चौथौ अंगको मुकाम हासिल गरेको हो । तिनले इन्टरनेटसँग पौँठेजोरी रोजेनन्, बरु सहअस्तित्व आत्मसात गर्दै त्यसलाई व्यवसाय विस्तारको हिस्सा बनाए । तर, इन्टरनेटकै जगमा अघि बढेको सामाजिक संजालले भने परम्परागत पत्रकारिताको अस्तित्वमाथि नै धावा बोलेको छ । छापा र विद्युतीय माध्यमको समाजिक संजालसँग साक्षात्कार र सहकार्यका बाबजुद तिनका स्रोता सेलाएका छन् । अखबार एवं टेलिभिजनका पर्दामा अडिने आँखा, अनि रेडियोमा लाग्ने कान संजालमा बसाई सरेका छन् ।

पछिल्लो तथ्यांकअनुसार प्रत्येक व्यक्ति दैनिक औसत ६ घण्टा ४८ मिनेट ‘डिजिटल स्क्रिनमा’ बिताउँछन् । इन्टरनेट प्रविधिको व्यापकतासँगै जन्मिएका ‘जेन जी’ पुस्ता तथा विकासोन्मुख देशका युवा यसमा अझ अगाडि छन् । अमेरिकी युवाले औसत दैनिक ७ घण्टा ४ मिनेट डिजिटल पर्दामा बिताउँछन् भने दक्षिण अफ्रिकी युवाले १० घण्टा ४६ मिनेट खर्च गर्छन् । ‘जेन जी’ पुस्ताका युवाको यस्तो अवधि औषत दैनिक नौ घण्टा छ । कतिपय व्यक्तिमा त मोबाइलमा झुन्डिने लत बसेको हुन्छ, जसलाई ‘डिजिटल दुव्र्यसनी’ भन्दा अयुक्ति नहोला ।

नेपालमा यससम्बन्धी आधिकारिक तथ्यांक उपलब्ध छैन । अनुमान गर्न सकिने के भने हाम्रो अवस्था पनि समग्र विकासोन्मुख देशकैजस्तो हुन सक्छ । मैले पत्रकारिताका अध्ययनरत विद्यार्थीलाई हालै सोधेको थिएँ, ‘तपाईंहरू दिनमा कति समय मोबाइल फोनमा बिताउनुहुन्छ ?’ धेरैले ८ देखि १० घण्टा बताए । केहीले भने यस्तो समय १२÷१४ घण्टासम्म पनि पुग्ने गरेको सुनाए । तर तिनै विद्यार्थी दिनमा आधी घन्टा पनि रेडियो, टिभी वा पत्रपत्रिका सुन्न, हेर्न वा पढ्दैनन् । केहीले भने अखबारका सामग्री अनलाइनमा पढ्ने गरेको बताए ।

यस्तो परिदृश्यमा परम्परागत सञ्चार माध्यम, विशेषगरी छापा माध्यमको सान्दर्भिक ता जोगाउन सहज छैन । बिबिसी, दि न्युयोर्क टाइम्स, साउथ चाइना मर्निंङ पोस्ट, दि हिन्दु, दि गार्डियन, ओ ग्लोबोजस्ता प्रतिष्ठित सञ्चारसंस्थाले ‘डिजिटल कन्टेन्ट’का लागि लगानी बढाउनेदेखि आम्दानीका ढाँचामा विविधता थपेका छन् । कतिपयले ‘पे वाल’ को व्यवस्था गरेका छन्, ‘क्राउड फन्डिङ’ मा गएका छन्, कर्मचारी कटौती तथा एआइको प्रयोगमार्फत् समाचार कक्ष चुस्त तुल्याएका छन् ।

यस्ता कदमबाट आंशिक सफलता नमिलेको होइन । तिनका पाठक तथा दर्शक बढेका छन् । कतिपय अखबारहरूको आम्दानीको मूल हिस्सा पत्रिका बिक्री तथा विज्ञापन नभएर ‘डिजिटल कन्टेन्ट’ हुन थालेको छ । तैपनि तिनीहरू नाफा बढाउनभन्दा पनि खर्च भरथेग गर्न तथा लागत घटाउन मात्र कामयाव भएका छन् ।

०००‘डिजिटल कन्टेन्ट’मा प्राथमिकता र लगानी प्रवद्र्धनका बाबजुद अपेक्षित प्रतिफल किन आइरहेको छैन ? जवाफका लागि परम्परागत र नयाँ माध्यमका व्यापार ढाँचाबारे बुझ्नु जरुरी छ । परम्परागत सञ्चार माध्यम मूलतः समाचार सामग्री (कन्टेन्ट) सुरुमा स्रोतालाई वितरण गर्छन् । र, तिनै स्रोतालाई पुनः विज्ञापनदातासामु बिक्री गर्छन् । अर्थात्, स्रोताको परिणाम र पहुँचका आधारमा तिनको विज्ञापन दर र आय तय हुन्छ । स्रोता बफादार रहुन्जेल तिनले कमाल गरे । स्रोता जब डिजिटल पर्दातर्फ मोडिए, तिनका संकट चुलिए ।

परम्परागत पत्रकारिताको आर्थिक चुनौती मुख्य हो, तर चुनौती त्यति मात्र छैन । पत्रपत्रिका, रेडियो र टेलिभिजनमा सामान्यतः सामग्री उत्पादनदेखि वितरणसम्म खर्चिलो र ज्यादा समय लाग्छ । तैपनि स्रोताले त्यस अनुरूपको ‘इन्गेजमेन्ट’ र आनन्द पाउँदैनन्, जुन डिजिटल सामग्रीमा प्राप्त गर्दछन् । तसर्थ, केटाकेटीदेखि बुढापाकासम्म नयाँ माध्यम र प्रविधितर्फ बसाई सरेका हुन्, जो एकाध दशक अघिसम्म परम्परागत माध्यममा झुम्मिन्थे ।

जता स्रोता वा दर्शकको आकर्षण छ, विज्ञापन उतै सरेको छ । गुगल, फेसबुक, टिकटकजस्ता सामाजिक संजालमा भरमार विज्ञापन छ । सन् २०२२ मा गुगलले करिब २ सय २५ अर्ब अमेरिकी डलरको विज्ञापन प्राप्त ग¥यो, जुन एक दशकअघि ५१ अर्ब डलर थियो । सन् २०२१ मा गुगलसहित पाँच ठूला प्रविधि कम्पनीहरू— मेटा, अलिबाबा, बाइटडान्स र अमेजनले विश्व विज्ञापन बजारको ५३ प्रतिशत हिस्सा ओगटेका थिए ।

मूलतः विज्ञापनमै आश्रित परम्परागत छापा तथा विद्युतीय माध्यममा विज्ञापनको खडेरी छ । बिडम्बना मान्नुपर्छ, जसले समाचार सामग्री उत्पादन गर्छ, त्यसनिम्ति लगानी गर्छ, उसैले विज्ञापन पाइरहेको छैन । तर, जसले सामग्री उत्पादन गर्दैनन्, बरु अरूका उत्पादन प्रविधिको सहायताले आमउपभोक्तासम्म द्रुत रूपमा पु¥याउँछन्, तिनले अकुत कमाइरहेका छन् । अर्थात्, परिश्रम गर्ने पत्रकारिता व्यवसाय छ, तर अर्थोपार्जन गर्ने मुठ्ठीभर प्रविधि कम्पनीहरू छन् । यस दृष्टिले गुगल, फेसबुक, टिकटक सबै बिचौलिया हुन्, जसको स्वयं उत्पादन केही छैन । छन् त, कराडौँ, अर्बौं प्रयोगकर्ता । तिनले पत्रकारिता जगतले उत्पादन गरेका सामग्री ओसारपसार गर्दा ‘कपिराइट’ शुल्क पनि बुझाउँदैनन् । बरु, तिनका आफ्नै सब्सक्राइबर र फलोअर्सले कन्टेन्ट उत्पादन गर्छन्, अपलोड गर्छन्, सेयर गर्छन् कमेन्ट गर्छन्, लाइक आदि गर्छन् । अल्गोरिदम र एआइको बढ्दो प्रयोगले यस्ता गतिविधिलाई झनै बढावा दिएको छ । बिचौलिया प्रविधि कम्पनीहरू यसैमा डलर छापिरहेका छन् ।

आज पनि छापा तथा विद्युतीय माध्यमको ‘कन्टेन्ट’ उत्पादनमा अहं भूमिका र भविष्य छ । तर, ‘कन्टेन्ट’ वितरणमा तिनको भूमिका शून्यप्रायः भइसक्यो । उक्त भूमिका सीमित प्रविधि कम्पनीको कब्जामा छ । वर्षौंदेखि स्थापित अखबार, रेडियो र टेलिभिनका स्रोता लाख भेट्टाउन मुस्किल छ, तर व्यक्तिगत टिकटक अकाउन्ट या युट्युब च्यानलमा लाखौँ, करोडौँ ‘फलोअर्स’ तथा ‘सब्सक्राइबर’ हुन्छन् । कतिपय अखबारले भन्दा एक युट्युबर वा भ्लगरले बढी आम्दानी गरिरहेका छन् । यसर्थ, सञ्चारकर्म आफैँमा धराशायी भएको छैन, परम्परागत पत्रकारिता मात्र चौपट भएको हो ।

 

हिजोआज कुनै स्थानीय अखबारको प्रतिस्पर्धा अर्को प्रतिस्पर्धी स्थानीय अखबार, रेडियो, टिभी वा समाचार पोर्टलसँग हुँदैन, न हुन्छ बिबिसी, सिएनएन, वा चाइना डेली वा न्यूयोर्क टाइम्सजस्ता बहुराष्ट्रिय, क्षेत्रीय वा राष्ट्रिय सञ्चार माध्यमसँग । बरु, ‘कन्टेन्ट’ वितरण तथा विज्ञापनका लागि तिनको प्रत्यक्ष प्रतिस्पर्धा १०औँ खर्ब डलर बजार पुँजीकरण भएका सीमित प्रविधि ‘जायन्ट’हरूसँग भइरहेको छ । हात्ती र बाख्राबीचको यस्तो असमान प्रतिस्पर्धामा पत्रकारिता व्यवसाय कसरी फस्टाउन सक्छ ?

रेडियो वा टिभी अस्तित्वमा आउँदा तिनले ‘कन्टेन्ट’ वितरणमा छापाको हिस्सा र सामथ्र्य खोस्न सकेका थिएनन् । त्यसैले रेडियो र टिभीको प्रतिस्पर्धा अखबारले पचाए । अहिले अखबार, रेडियो, टेलिभिजन वा समाचार पोर्टल सबैको मुख्य चुनौती भनेकै ‘कन्टेन्ट’ वितरणमा तिनको भूमिका नगन्य हुनु हो । ‘केन्टेन्ट’ वितरणमा प्रभावकारी हस्तक्षेप गर्न सके मुर्डकले दाबी गरेझैँ पत्रकारिताले अझै थप उचाइ भेट्टाउन सक्छ । कृतिम बौद्धिकता अर्थात् एआई त्यसका लागि एक विकल्प बन्न सक्छ । अन्यथा, परम्परागत पत्रकारिता र विशेषगरी छापा माध्यम ढिलोचाँडो इतिहासको गर्तमा विलय हुनेछ ।

०००

पत्रकारितामा देखिएको विश्वव्यापी संकटको प्रवृत्ति नेपालको सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ । हाम्रोमा अझ यो भयानक प्रलयका रूपमा प्रकट भइरहेको छ । सायदै सञ्चारगृह होलान्, जो आर्थिक संकटबाट नगुज्रिएको होस् । कोभिडपश्चात् प्रायः सबै ठूला सञ्चारगृहको विज्ञापन आधीभन्दा बढीले खस्किएको छ । गुणस्तरीय विषयवस्तु उत्पादन र सञ्चारकर्मीको सीप विकासमा लगानी अभिवृद्धि शून्यप्रायः छ । सबैको ध्यान अनुभवी पत्रकार र ‘कन्टेन्ट’ कटौतीमा केन्द्रित छ । केहीले डिजिटल कन्टेन्टमा लगानी बढाएका छन् । तर, स्रोता मात्र होइन, विज्ञापनको ‘ट्रान्जिट’ परम्परागत पत्रकारिताबाट सोझै सामाजिक सञ्जाल बन्न पुगेको छ ।

पंक्तिकार आफैँ संलग्न भएको ‘मिस्इन्फमेसन ल्यान्डस्केप स्टडी २०२३’ले नेपालमा मिथ्या सूचना तथा भ्रम फैलाउनमा सामाजिक संजाल मुख्य रूपमा जिम्मेवार रहेको देखाएको छ । संजालले फैलाएका मिथ्या खबर र भ्रम चिर्न पत्रकारिताको भूमिका अहं हुनुपर्ने हो । तर पत्रकारिता पेसा स्वयं यस्ता विकृतिबाट पीडित छ ।

आर्थिक संकटसँगै पत्रकारितामा तथ्य, निष्पक्षता, सन्तुलन र उत्तरदायित्वजस्ता सर्वमान्य आदर्श धर्मराएका छन् । जेनतेन चलेका पत्रपत्रिका दुब्लाएका छन्, पुलआउट देखिन छाडेको छ । जनशक्ति उत्पादन तथा सीप विकासमा उस्तै समस्या छ । प्रविधि सुहाउँदो पाठ्यक्रम र विद्यार्थी अभावमा शैक्षिक तथा तालिम केन्द्रहरू भटाभट बन्द भएका छन् ।

सञ्चार माध्यमको संख्या (चार हजारभन्दा बढी) र अपारदर्शी लगानी अर्को चुनौती बनेको छ । स्थापनाको उद्देश्य, लगानीकर्ता तथा लगानीको स्रोत पारदर्शी नभएको सञ्चार संस्थाको न वर्तमान छ, न भविष्य । तिनले न सशक्त प्रतिपक्षी न चौथौ अंगको भूमिका निर्वाह गर्न सक्दछन् । पत्रकारिताप्रति युवा विकर्षण विकराल देखिन्छ । पत्रकारिताप्रति जनविश्वास उसै खस्किएको छ । यसमा राजनीतिक दल, नेता तथा कार्यकर्ता र सामाजिक संजाल अतिरिक्त उत्प्रेरक बनेका छन् ।

यस्तो परिस्थितिमा परम्परागत सञ्चारमाध्यम र विशेषगरी अखबार कसरी जोगाउने ? यसबारे विमर्श नभएको होइन । चौथौ अंगको भूमिका र सान्दर्भिकता बचाइराख्न गम्भीर हस्तक्षेप गर्नुैपर्ने धेरैको निष्कर्ष छ । पत्रिका सम्पूर्ण रूपमा डिजिटल संस्करणमा जानुपर्ने अवस्था देखिन्छ । यद्यपि, स्रोताको विकर्षण र घट्दो आयका कारण तिनका चुनौती थपिएका थपियै छन् । सामग्री पढ्न वा हेर्नका लागि ‘सब्सक्रिप्सन’ र ‘पे वाल’ को व्यवस्था गर्दा स्रोता मुफतका सामग्रीतर्फ मोडिएका छन्, भलै ती ‘हाइजेनिक’ हुन् या नहुन् ।

स्विडेनजस्ता केही उदारवादी समाजमा गरिएका अध्ययनले स्थानीय अखबार जोगाउन राज्य नै अग्रसर हुनुपर्ने राय दिइएको छ । यस्तो उपाय जोखिमरहित भने छैन । शासकहरू उसै पत्रकारिता कमजोर हुँदा हाइसन्चो मान्छन् । शक्ति र सत्तामा रहेकामाथि प्रश्न सोध्ने चौथौ अंगको क्षमता क्षीण हुँदा तिनको रजगज अझ झांगिन्छ । अझ निरंकुश व्यवस्था वा छद्म प्रजातान्त्रिक समाजमा पत्रकारितामाथि राज्यको भरथेग र लगानीले चौथो अंगको मर्ममाथि उल्टै प्रहार गर्न सक्छ ।

समग्रमा, छापा माध्यमको एकाधिकार शताब्दीअघि नै तोडिएको हो । अहिले प्रविधिका कारण परम्परागत पत्रकारिता पेसा नै संकटापन्न अवस्थामा छ । जब सूचना संकलन, विषयवस्तु उत्पादन तथा वितरण गर्ने काम हरकोहीले सजिलै गर्न सकिने भयो, पत्रकार तथा पत्रकारिता पेसा असान्दर्भिक बन्दै गयो । यो पेसालाई बचाइराख्न पत्रकार तथा पत्रकारिताले आफूलाई पुनः सान्दर्भिक सिद्ध गर्नु जरुरी छ । त्यसका लागि संजाल र साइबर दुनियाँमा पहिल्यै बिस्कुन लाग्ने सूचना तथा सामग्रीभन्दा पृथक, विस्तृत तथा भिन्न कोणसहितका सामग्री पस्किन केन्द्रित हुनुपर्छ, जसलाई संभावित पाठक वा स्रोताले बेवास्ता गर्नै नसकुन् ।

यो भन्न जति सजिलो छ, गर्न उत्तिकै कठिन छ । तर, पत्रकार र पत्रकारितासामु यो जोखिम उठाउनुबाहेक अरू विकल्प छैन । ‘सूचनाबोझ’को समकालीन दुनियाँमा पृथक र गुणस्तरीय विषयवस्तुले मात्र पत्रकार तथा पत्रकारिता पेसालाई सान्दर्भिक र जीवित राख्न सक्छ । यसका लागि अनुभवी पत्रकार तथा खर्चको कटौती होइन, बरु खाँचो पर्छ ।

निष्कर्षमा, सूचना प्रविधिको प्रभाव पत्रकारितामा कहिल्यै अन्त्य हुने छैन, भविष्यमा यो झन् बढ्नेछ । तर, जुन सञ्चार माध्यमले प्रविधि अनुकूल व्यावसायिक ढाँचा परिवर्तन गर्छन्, जसले स्रोताका आवश्यकता पहिचान गरी भिन्न र गुणस्तरीय सामग्री पस्किन सक्षम हुन्छन्, अनि जसले प्रविधिको प्रलय सामना गर्दै त्यसका अवसरको सक्दो सदुपयोग गर्छन्, तिनै पत्रकार तथा सञ्चारमाध्यम बाँच्नेछन् ।


(त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक पाण्डे सञ्चार तथा पत्रकारिता विषयका अध्येता हुन् । यो लेख पहिलोपटक सौर्य दैनिकको १३ औँ वार्षिकोत्सव अङ्क 'मिडिया संकटमा' मा प्रकाशित छ ।)


Related Story

कान्तिपुरका पत्रकारले किन स्वीकारेनन् व्यवस्थापनसँगको सहमति ?

व्यवस्थापनसँग भएको ७ बुँदे सहमति कान्तिपुरका पत्रकारहरूले अस्वीकार गरेपछि श्रमको मुद्दा कानुनी बाटोतर्फ अग्रसर कान्तिपुर पब्लिकेसन्सन लिमिटेडमा कार्यरत पत्रकारहरूले कान्तिपुर व्यवस्थापन

पत्रकार महासंघको ठहर- कान्तिपुर व्यवस्थापनका काम ‘कानुनी व्यवस्थाविरोधी’

दबाबमूलक आन्दोलन गर्ने महासंघको चेतावनी नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स लिमिटेडका श्रमजीवी पत्रकार-कर्मचारीहरूमाथि त्यहाँको व्यवस्थापनबाट भएका गतिविधिहरू विद्यमान कानुनी व्यवस्थाविरोधी भएको

सञ्चालकहरूको सम्पत्तिको कचिङ्गलले ‘राजधानी’ दैनिकमा निम्तिएको सङ्कट

एकाघरका सञ्चालकहरूको आपसी कचिङ्गलको कोपभाजनमा परेको राजधानी दैनिक पुनः प्रकाशन हुन थाले पनि यसका संकटहरू यथावत छन् । २०८० जेठ २५

कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानका चुनौती

दुई वर्ष अघि (२६ असार २०७८) सम्पादकको जिम्मेवारीसहित कान्तिपुर दैनिक प्रवेश गरेका उमेश चौहान कान्तिपुरको प्रधान सम्पादक नियुक्त भएका छन्