नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको सेजनको २५ औं साधारणसभाबाट सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
क्यापिटल नेपालमा आबद्ध पत्रकार ओली ९९ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् । त्यस्तै अध्यक्ष पदकै उम्मेदवार शिरोमणि ढुंगानाले ९६ मत र सरस्वती ढकालले ५६ मत ल्याए ।
उपाध्यक्षमा ग्यालेक्सी फोरकेका विनय बञ्जराले १३५ मत ल्याउँदै निर्वाचित भए । उपाध्यक्षका अर्का उम्मेदवार भागवत भट्टराईले ११५ मत पाए ।
सेजनको महासचिवमा गोरखापत्र दैनिकका विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका थिए । सचिवमा क्लिकमान्डुका शोभित थपलिया विजयी भए । थपलियाले १०६ मत पाए । निकटतम प्रतिद्वन्द्वी मुना कुँवरले ७९ मत पाउँदा रञ्जु काफ्लेले ६४ मत ल्याइन् ।
कोषाध्यक्षमा अनलाइन खबरका अच्युत पुरी १६० मतसहित निर्वाचित भए । अर्की उम्मेदवार कमला अर्यालले ८५ मत पाइन् ।
सदस्यमा निर्वाचित उकालोकी केशु लामिछानेले १८८, राससका हेमन्त जोशीले १७९, अन्नपूर्ण पोस्ट्की ममता थापाले १५६, बिजमान्डुका बसन्तराज उप्रेतीले १४५ र एनएन टिभीका छवि सापकोटाले १२८ मत ल्याएका छन् । कौशिला कुँवरले १११ र पवन तिमल्सिनाले ८६ मत पाए ।
२७१ जना मतदाता रहेको सेजन निर्वाचनमा २५२ मत खसेको थियो ।