दशैँको मुखमा पत्रकारहरूलाई अवकाश पत्र थमाइएपछि कान्तिपुर पब्लिकेसन्स लिमिटेडस्थित नेपाल पत्रकार महासंघको शाखाले व्यवस्थापनसमक्ष १२ बुँदे माग पेश गरेको छ ।
नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले कान्तिपुर व्यवस्थापनलाई मागपत्र बुझाएको हो । यससँगै, कान्तिपुर व्यवस्थापन र कान्तिपुरस्थित पत्रकार महासंघको शाखाबीच वार्ता प्रक्रिया पनि सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले त्यहाँको व्यस्थापन समक्ष राखेका मागहरूप्रति महासंघ केन्द्रले पनि पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गरेको छ ।
महिनौँदेखि श्रम समस्यामा गाजिएको कान्तिपुरले दशैँको मुखमा करारमा रहेका ६८ पत्रकारलाई इमेलमार्फत् अवकाश पत्र थमाउँदै हतोत्साही गर्न खोजेपछि चरणबद्ध आन्दोलनको तयारीमा जुटेका पत्रकारहरूले व्यवस्थापनलाई गल्ती सच्याउने मौका दिएका हुन् ।
ऐन विपरीत करारका पत्रकारहरूलाई निष्कासन गर्ने निर्णय खारेज गर्न उनीहरूको माग छ । महिनौँदेखि बाँकी रहेको पारिश्रमिक पनि एकसाता भित्र भुक्तानी गर्न उनीहरूले माग राखेका छन् ।
|
नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाले व्यवस्थापन समक्ष राखेका मागहरू यस्ता छन्- १. हालसम्मको बाँकी रहेको पारिश्रमिक एक साताभित्र भुक्तानी हुनुपर्ने । २. पछिल्लो समय गरिएको श्रमजीवी पत्रकारको करार खारेजी, सरुवा तत्काल स्थगित गर्नुपर्ने । तर, पत्रकार दरबन्दी कटौती गर्नैपर्ने अवस्था आए प्रचलित ऐन कानुनअनुसार सम्पादकीय विभागमार्फत प्रक्रिया पूरा गर्नुपर्ने । ३. स्पष्टीकरणका नाममा मानसिक यातना र हतोत्साही गर्ने काम तत्काल बन्द हुनुपर्ने । ४. चाडपर्व भत्ता खाइपाई आएको तलबबराबर दिनुपर्ने । ५. कार्यालयको परिचयपत्र र सूचना विभागको प्रेस प्रतिनिधि परिचय पत्र एक साताभित्र पाउने सुनिश्चितता हुनुपर्ने । ६. प्रत्येक वर्ष अन्तिम महिनामा औषधोपचारबापत एक महिनाबराबरको तलब पाउनुपर्ने । ७. पत्रकारले सम्झौताअनुरुप महिनाको अन्त्यमा पाउने कुल पारिश्रमिक नै उसको न्यूनतम पारिश्रमिक कायम हुनुपर्ने । ८. कार्यरत पत्रकारको हकमा पारिश्रमिकअनुसार नै सञ्चय कोषमा जम्मा गर्नुपर्ने । ९. सुत्केरी स्याहार १५ दिन, (५ दिन दिने गरिएको) । १०. कार्यरत पत्रकारको हकहित र सुरक्षाका लागि कल्याणकारी कोष बनाउनुपर्ने । ११. सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारको कुल संख्याको १५ प्रतिशतमात्रै करार नियुक्ति हुनुपर्ने । १२. सरुवा भई जाने श्रमिक र निजका आश्रित परिवारका सदस्यालाई दैनिक तथा भम्रण खर्च उपलब्ध गराउनुपर्ने । खटिएको ठाउमा बसोबासको व्यवस्था गर्नुपर्ने अन्यथा बासस्थानबापत खर्च दिनुपर्ने । स्वेच्छिक अवकाश प्याकेजसम्बन्धमा१. क्षतिपूर्तिबापत खाइपाई आएको तीन महिनाको पारिश्रमिक दिनुपर्ने । २. काम गरेको वर्षको आधारमा प्रतिवर्ष २ लाख रुपैयाँका दरले दिनुपर्ने । ३. वर्षमा ५४ दिन बिदा दिनुपर्नेमा २४ दिन मात्र दिएकाले त्यसबापत प्रत्येक वर्ष एक महिनाबराबरको पारिश्रमिक दिनुपर्ने (बिदा नपाएकाहरूको हकमा) । ४. सञ्चय कोषमा रकम जम्मा नभएका पत्रकारको हकमा सेवा अवधिको आधारमा एकमुष्ट रकम दिनुपर्ने । ५. सेवाअवधि २५ वर्ष पूरा गरेको श्रमजीवी पत्रकारलाई व्यवस्थापकले सेवाबाट अवकाश दिँदा निजले पाउने सेवा सुविधा २५ वर्षकै मानिनु पर्ने । |