पत्रकारिताको आवरणमा भइरहेको अपराधकर्मलाई प्रेस स्वतन्त्रताको खोल ओडाएर संरक्षण गर्दा पत्रकारिताको झन् बदनामी
बिहीबार (भदौ २६ गते) दिउँसो ४ बजेर २२ मिनेटमा लोग्सरी कुँवरले फेसबुकमा राखेको भिडियोमा नेकपा एमाले निकट प्रेस चौतारी नेपालका महासचिव हिरामान लामासहितको भिडले एक महिलालाई हप्काइरहेको देखिन्छ । ती महिला सादा पोसाकमा साइबर ब्यूरोबाट खटिएका प्रहरी हुन्छिन् ।
र, भिडको पछाडि एक व्यक्ति रातो क्याप लगाएर बेन्चमा बसिरहेको देखिन्छन् । अनुहार लुकाएर मोबाइल चलाउँदै गरेजस्तो देखिने उनी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत हुन् जो, जनताटाइम्स नामक अनलाइनका सञ्चालक पनि हुन् ।
उक्त भिडियो फेसबुकमा पोस्ट भए लगत्तै एकाएक बस्नेतलाई प्रहरीले पक्राउ गर्न खोजेको विरोधमा स्टाटसहरू छ्यापछ्याप्ती हुन्छन् । प्रहरी कदमको विरोध गर्ने अधिकांशको तर्क छ- समाचार लेखेकै कारण पत्रकारलाई पक्राउ गर्ने प्रहरीको प्रयास निन्दनीय छ ।
बस्नेत पक्राउ पर्न लागेको खबर र पक्राउ गर्न गएको प्रहरी फिर्ता भएको खबर एकैछिनको समयान्तरमा आइपुगे ।
त्यसपछि नेपाल पत्रकार महासंघसहित अन्य संघसंस्थाले विज्ञप्ति पनि निकाले । फेसबुकका स्टाटसहरूमा, संगठनहरूका विज्ञप्तिहरू र अनलाइनका समाचारहरू चारैतिर चिन्ता छ- समाचार लेखेकै कारण पक्राउको प्रयत्न ।
तर कुन समाचार लेखेका कारण ? कस्तो समाचार लेखेका कारण ? स्टाटस, विज्ञप्ति, र समाचारहरू मौन छन् ।
आखिर बस्नेतले त्यस्तो के समाचार लेखे जसका कारण उनलाई प्रहरी पक्राउ गर्न पुग्यो ? यो प्रश्नको जवाफ खोज्नुअघि विज्ञप्तिका भाषा नियालौँ ।

नेपाल पत्रकार महासंघले समाचारको विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएको भन्दै पक्राउको प्रयासले प्रेस स्वतन्त्रतामा गम्भीर आघात पुगेको तर्क गरेको छ।
“संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको हो,” महासचिव रोसन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ ।” प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठनका विज्ञप्तिका भाषा पनि करिब समान छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीका अुनसार बस्नेतलाई उनीविरुद्ध परेको एक उजुरीका सम्बन्धमा सामान्य सोधपुछका लागि बस्नेतलाई बोलाइएको हो ।
“उहाँमाथि उजुरी परेपछि अस्ति पनि हामीले उहाँलाई बोलाएका थियौँ तर आउनु भएन”, एसपी अवस्थीले भने, “बिहान पनि फोन गरेका हौँ । भोलि आउँछु भन्नुभएको छ ।” जाहेरी परेको विषयमा सोधपुछ गर्ने आफूहरूको दायित्व रहेको अवस्थीको भनाई छ ।

जनताटाइम्सका अध्यक्ष समेत रहेका गणेश बस्नेतले त्यस्तो के समाचार लेखेछन्, जसका कारण साइबर ब्यूरोमा उजुरी पर्यो ? कसैले भनिरहेको थिएन ।
‘समाचार लेखेका कारण’ पक्राउको प्रयास गरेको भनेर फेसबुक रङ्ग्याउनेहरूलाई पनि हामीले सोध्यौँ । तर कसैलाई थाहा थिएन कि उनीहरू आफैँले भनिरहेको त्यो ‘समाचार’ कुन् हो ।
खोज्दै जाँदा हामीले जे फेला पार्यौँ- त्यो पत्रकारिता हो वा अपराध, छुट्याउने जिम्मा हामी विज्ञ पाठकहरूलाई नै दिन्छौँ ।
अहिले डिलिट भइसकेका त कतिपय सम्पादन भएका यी कुसमाचारहरू परिवार वा साथीभाइसँग सगैँ बसेर पढ्न सकिनेखालका छैनन् ।
साउन ३२ गते बेलुका ६ बजेर २० मिनेटमा पोस्ट भएको एउटा समाचारको शीर्षक छ-, ‘निर्बश्त्र फेला परिन् नेकपा एसकी नेतृ, यौनकाण्डको भिडियोले बिर्सायो हलिउड फिल्मको दृष्य’ ।
शीर्षकमै यौनकाण्ड भन्दै पोस्ट गरिएको यो कुसमाचारको भाषा अत्यन्त निकृष्ट छ । बस्नेत अध्यक्ष रहेको अनलाइनमा यसबारे यति गर्वका साथ समाचार लेखिएको छ, मानौँ यो कुनै ठूलै भ्रष्ट्राचार वा घोटालाको ‘डिलिङ’ को भिडियो हो ।
यसमा भाषा मात्र आपत्तिजनक छैन, महिलाको तस्बिर समेत ‘ब्लर’ नगरी राखिएको छ । फोटोमा महिलाको अनुहार स्पस्ट देखिन्छ । समाचारका नाममा कसैको निजी नग्न फोटो सार्वजनिक गर्नु पत्रकारिता हो ? हामी विज्ञ पाठकलाई सोध्न चाहन्छौँ ।
विज्ञप्ति निकाल्ने संगठनहरूले भनेजस्तो समाचारका विषयमा असन्तुष्टि भए प्रेस काउन्सिल जाने हो । पक्कै पनि समाचारको विषय प्रेस काउन्सिलको नियमनको विषय हो, प्रहरीले हेर्ने विषय होइन ।
तर के यो विषय प्रेस काउन्सिल गएको छैन ? प्रिय पाठक, जनताटाइम्समा यो कुसमाचार छापिएको भोलिपल्ट यसविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ । प्रेस काउन्सिलले लगातार तीनवटा सम्म पत्र पठाएको छ ।
तर समाचार सच्याउनु त परको कुरा… उल्टै, पीडितलाई थप पीडा दिने गरी अर्को कुसमाचार भदौ ५ गते राति ७ बजेर १८ मिनेटमा छापिन्छ ।
‘एक्सक्लुसिभ’ कुसमाचारको उत्पादन अझ रोकिँदैन । फेरि भदौ ७ गते राति ७ बजेर २९ मिनेटमा सोही घटनासँग सम्बन्धित अर्को सामग्री छापिन्छ ।
यसरी पत्रकारिताका नाममा एउटै विषयलाई लिएर बारम्बार नग्न फोटोसहितको सामग्री सार्वजनिक भइरहँदा जब प्रेस काउन्सिल पत्रमाथि पत्र पठाएर बस्छ, जवाफदेही हुनुपर्ने मिडिया पीडितलाई झन् पीडा दिनेगरी नग्न तस्बिर राखेर कुसमाचारको शृंखला चलाउँछ तब एउटा पीडित प्रहरीकहाँ नगए कहाँ जान्छ ?
पत्रकारिताका नाममा बस्नेतले नेतृत्व गरिरहेको जनताटाइम्स नामक अनलाइनले असम्वेदनशील कुकर्म गरेको यो पहिलोपटक होइन । यो अनलाइन कति निम्नस्तरसम्म गिर्छ भन्ने एउटा प्रमाण माइसन्सार डटकममा भेटिन्छ ।
हामी विज्ञ पाठकलाई सोध्न चाहन्छौँ- यस्तो अपराधलाई कहिलेसम्म प्रेस स्वतन्त्रताका नाममा ढाकछोप गरिरहने ? र, पत्रकारितालाई थप बदनाम बनाइरहने ?
स्पष्टीकरणः हामीलाई विश्वास छ, आम पाठकसँग विवेक छ । त्यसैले माथि चर्चा गरिएका कुसमाचारहरू सार्वजनिक प्रमाणका लागि हामीले राखेका छौँ । यदि तपाईँ १८ वर्ष पुग्नुभएको छैन भने यो फाइल नखोल्नुहोला । १८ वर्ष पुगिसक्नुभएको भए पनि यो फाइलमा राखिएका लिंकहरू खोल्दा अश्लिल तस्बिर र शब्दहरू भएको जानकारी गराउन चाहन्छौँ । कुसमाचारका लिङ्कहरू यो फाइलमा छन् ।
अपडेट (२०८१ भदौ २८ गते दिउँसो ३:५४ बजे) : हामीले प्रेस काउन्सिल नेपालको सुझाव बमोजिम यी कुसमाचारका हाइपरलिङ्कहरू अहिलेलाई हटाएका छौँ । यी लिङ्कहरू खासमा हामीले त्यो तथ्य के थियो भनेर सबैलाई जानकारी होस् र बहस होस् भन्ने उद्देश्यले मात्रै राखेका थियौँ । नियामक निकायलाई आवश्यक परेमा ती सामग्रीहरू सार्वजनिक रुपमै उपलब्ध छन्, हामीसँग पनि छन् । -सम्पादक