मानव तस्करी आरोप लागेका 'पत्रकार' माथि छानबिन गर्न महासंघको ५ सदस्यीय समिति

मानव तस्करी आरोप लागेका 'पत्रकार' माथि छानबिन गर्न महासंघको ५ सदस्यीय समिति

  • आश्विन २०, २०८० शनिबार ०४:२२

एक युवतीलाई पत्रकार बनाएर कोरिया पठाउन लागेको आरोपमा केही पत्रकारहरूको नाम मुछिएको विषयमा नेपाल पत्रकार महासंघले अध्ययन गर्न समिति बनाएको छ । महासंघले लेखा समिति संयोजक लेखनाथ न्यौपानेको संयोजक्तवमा ५ सदस्यीय छानबिन समिति बनाएको हो । 

समितिमा केन्द्रीय सदस्यहरू शन्तराम बिडारी, ज्ञानप्रसाद पौडेल, रामकृष्ण अधिकारी र महासंघ उपत्यका प्रदेश समिति अध्यक्ष श्रृजन झा सदस्य छन् । समितिले कोरियामा मानव तस्करीका विषयमा प्रकाशित समाचारमा पत्रकारसमेत जोडिएको विषयमा अध्ययन गरी सुझाव पेश गर्ने छ ।

समितिका सदस्यहरूसँगको समन्वय तथा सहयोगमा आवश्यक अध्ययन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको महासंघका महासचिव रोसन पुरीले जानकारी दिए । 

एक युवतीलाई पत्रकार बनाएर एक गिरोहले कोरिया लैजान खोजेको खुलेको छ । यो घटनामा सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालका दुईजना केन्द्रीय सदस्यको पनि नाम मुछिएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटीका सदस्यमाथि कोरिया पठाइदिन्छु भनेर ७ लाखभन्दा बढी ठगी गरेको आरोप छ । दुई केन्द्रीय सदस्यको नाम मुछिएपछि प्रेस सेन्टरले यसअघि नै उनीहरूमाथि छानबिन गर्न समिति बनाएको छ । 

गोलमेच साप्ताहिकको पत्रकारका रुपमा प्रस्तुत गरी सूचना विभागबाट पत्रकार परिचयपत्र समेत बनाई ती युवतीलाई कोरिया पठाउन लागिएको खुलेको हो । गोलमेच साप्ताहिकका प्रकाशक तथा सम्पादक एकराज दाहाल सत्तारुढ नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हुन् भने प्रेस सेन्टरकै भक्तपुर इन्चार्ज पनि हुन् ।

यस्तै, उनलाई कोरियामा हुने एक कार्यक्रमको सहभागीका रुपमा पठाउन नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले सिफारिस गरेका थिए । असम्बन्धि व्यक्तिलाई कोरियामा हुन लागेको कार्यक्रममा जान लागेको भनेर सिफारिस दिने महासंघ काठमाडौंका अध्यक्ष सुवेदी पनि प्रेस सेन्टरकै केन्द्रीय सदस्य हुन् । उनी सेन्टरका ललितपुर इन्चार्ज समेत हुन् ।

ती युवतीलाई पत्रकार बनाएर कोरिया पठाउने भन्दै पैसा असुल्ने अनिल कुमार गुप्ता नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशको कार्यसमितिका सदस्य हुन् । गुप्ता पत्रकारिताको आवरणमा मानव तस्करीमा संलग्न रहेको खुलासा रातोपाटी डटकमले सोमबार गरेको थियो ।

यस्तो छ घटना विवरण 

झापाकी छिरिङ डोमा शेर्पाको एउटै सपना थियो- कोरिया जाने । सन् २०१९ मा इपीएस परीक्षामा नाम पनि निस्कियो । तर कोभिड महाव्याधिका कारण यात्रा रोकिएपछि उनले कोरिया जान चोर बाटो रोजिन् । साथीहरूको सङ्गत र सहयोगमा उनले अनिल कुमार गुप्तालाई भेटिन् । 

"म जुन घरमा बस्थेँ, त्यही घरमा बस्ने पेमा शेर्पा भन्ने साथी पनि कोरिया गएकी थिइन् । तर उनले इपीएस परीक्षा पास गरेर गएकी थिइनन् । मैले तिमी कसरी गयौ भन्दा कसैले पठाइदिएको बताइन् । त्यतिबेला उनले १० लाखजति तिरेको सुनेको छु," शेर्पाले रातोपाटीसँग भनेकी छन्, "म पनि आउन चाहन्छु, सम्पर्क गराइदेउ न भनेपछि पेमाले कुमार गुप्ता भन्ने व्यक्तिको फेसबुक आइडी पठाइदिइन् ।"

doma sherpa.webp

रातोपाटी कार्यालयमा छिरिङ डोमा शेर्पा । फोटो साभारः रातोपाटी


गुप्ताकै सहयोगमा साथी कोरिया गएको बुझेपछि लोभिएका शेर्पाले गुप्तालाई फेसबुक सम्पर्क गरिन् । उनले आफ्नो नम्बर दिएर भेट्न बोलाए । "भेटपछि उनले आफ्नो नाम अनिल गुप्ता भएको र शिक्षा मन्त्रालयको स्वकीय सचिव रहेको बताए," शेर्पाले रातोपाटीसँग भनेकी छन्, "मलाई भेट्न बोलाउँदा पनि सिंहदरवार भित्रै बोलाउँथे । तर शिक्षा मन्त्रालयमा नभई उनले मलाई क्यान्टिनतिर बोलाउँथे ।"

१३ लाख ५० हजार रुपैयाँमा कोरिया लैजाने डिल भयो । ढिलोमा ४ महिनामा सबै काम सकिने आश्वासन दिएपछि शेर्पाले ७ लाख ५० हजार रुपैयाँ बझाइन् ।

गुप्ताले शेर्पालाई पत्रकार बनाएर कोरिया लैजाने प्रपञ्च बुनेका थिए । 

गुप्ताले शेर्पालाई कानुनी बाटोबाट कोरिया पठाउने भन्दै सुरुमा ‘गोलमेच साप्ताहिक’को पत्रकार बनाए । उक्त साप्ताहिकका अध्यक्ष तथा सप्पादक एकराज दाहालको सहयोगमा शेर्पाकै नाममा २०८० जेठ ५ गते बाइलाइन समाचार पनि प्रकाशन गरे । सोही साप्ताहिकको कार्यालयबाट कर्मचारी विवरणमा शेर्पाको नाम राखेर सूचना विभागबाट पत्रकार परिचयपत्र प्रमाण पत्र समेत बनाइयो । 

golmech-news-of-chhiring-doma-sherpa_kNFBa0Fjvd.jpg

'अमेरिकाको नाङ्गो हस्तक्षेप' शीर्षकमा गोलमेच साप्ताहिकमा छापिएको शर्पाको नाममा बाइलाइन समाचार ।


"गुप्ताले मलाई गोलमेच साप्ताहिक नामक पत्रिकाको पत्रकार बनाइदिने र त्यही पत्रिकाको कार्यालयबाट कर्मचारी विवरणमा मेरो नाम राखेर सूचना विभागमा पत्रकार परिचयपत्र बनाउनका लागि सिफारिस गराइयो," शेर्पाले रातोपाटीसँग भनेकी छन्, “त्यही सिफारिसका आधारमा २०७९ असोज ४ गते मैले सूचना विभागबाट प्रमाण पत्र नम्बर ३०७०३ बाट पत्रकार परिचय पत्र पनि लिएँ । मलाई कानुनी बाटोबाटै कोरिया पठाउने हो भनियो ।“

पत्रकार परिचयपत्र लिएपछि शेर्पालाई गुप्ताले नेपाल पत्रकार महासंघको काठमाडौं शाखा कार्यालयमा भिसा आवेदनको लागि सिफारिस लिन पठाए । महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले हस्ताक्षर गरेर सिफारिस दिए ।

chhiring-doma-sherpa-press-card-(5)_7MXoFpznKa.webp

गिरोहले यसरी सूचना विभागबाट शेर्पालाई पत्रकार परिचय पत्र निकालिदिएको थियो ।


गोलमेच साप्ताहिकले शेर्पालाई कोरियामा हुने ‘फोर्थ ग्लोबल सोयल सेक्युरिटी कन्फरेन्समा सहभागिताका लागि जान लागेको भन्दै सिफारिस पत्र दियो र शेर्पाको नाममा इन्भिटेसन लेटर पनि आयो । तर गुप्ताले शेर्पालाई कोरिया पठाउन सकेनन् । 

आफूलाई कोरिया पठाउन भन्दै ३ वर्षमा साढे ७ लाख ठगी गर्ने गुप्तासँग शेर्पाले पटक पटक पैसा फिर्ता मागिन् तर गुप्ता सम्पर्कमा नआएपछि उनी वैदेशिक रोजगार विभाग पुगिन् । वैदेशिक रोजगार विभागले यस्तो मुद्दा प्रहरीले हेर्ने जवाफ दियो । प्रहरी वैदेशिक रोजगार विभाग जानू भनेर पन्छियो । त्यसपछि उनी मिडियामा पुगिन् । शेर्पाले रातोपाटी डटकमका पत्रकार मदन ढुङ्गानालाई भेटेपछि समाचार सार्वजनिक भयो ।  

गोलमेच प्रकाशकको दाबीः उनीहरू अहिले हामीसँग छैनन्

गोलमेच साप्ताहिकका प्रकाशक एवं सम्पादक एकराज दाहालले मंगलबार विज्ञप्ति निकालेर ठगी गर्ने अनिल कुमार गुप्ता र ठगिएको भनिएकी छिरिङ डोमा शेर्पा २०७९/२०८० सम्म पत्रिकामा आबद्ध रहेको तर हाल कार्यरत नरहेको दाबी गरेका छन् ।

तर उनको यो दाबी गलत यसकारण ठहर्छ कि शेर्पा आफैँले आफू पत्रकार नभएको तर कोरिया लैजानमात्र आफूलाई पत्रकार बनाइएको बताएकी छन् । त्यही प्रयोजनका लागि आफ्नो नाममा बाइलाइन समाचार छपाइएको उनको भनाई छ । यसबाट पत्रिका यो संगठित अपराधको हिस्सा बनेको देखिन्छ ।

नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशको कार्यसमिति सदस्य रहेका अनिल कुमार गुप्ता सुरुमा उक्त कार्यालयमा सिफारिस बनाउन पुगेका थिए । तर उपत्यका प्रदेश समितिका अध्यक्ष सृजन झा र महासचिव टेनिस रोकाले आफ्नो कमिटीसँग असम्बन्धित पत्रकारलाई सिफारिस पत्र बनाउन नमिल्ने भनेपछि उनी महासंघको काठमाडौं शाखा पुगेर सिफारिस बनाउन सफल भएका थिए ।

fnj ktm.jpg

नेपाल पत्रकार महासंघ, काठमाडौं जिल्ला शाखाले दिएको सिफारिस पत्र ।


एकराज दाहाल, जो पत्रकार महासंघको काठमाडौं शाखाका साधारण सदस्य हुन्, उनलाई उक्त शाखाले स्पष्टीकरण सोधेको छ भने ठगी गर्ने गुप्ता, जो काठमाडौं शाखाकै साधारण सदस्य हुन्, उनलाई निलम्बन गर्नु भनेर काठमाडौं शाखाले सिफारिस गरिसकेको छ ।  


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८