नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पत्रकार मणि दाहालले 'कान्तिपुर' दैनिकबाट राजीनामा दिएका छन् ।
कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा जारी पत्रकारहरूको श्रम अधिकारको आन्दोलनका बीच राजीनामा दिने पत्रकार महासंघका उनी दोस्रो नेता हुन् । यसअघि महासंघ कोषाध्यक्ष कलेन्द्र सेजुवालले कान्तिपुरबाट राजीनामा दिएका थिए ।
"२ वर्ष ३ महिना ३ दिनमा कान्तिपुर छाडेँ। एउटा जागिर मात्रै सबै जिन्दगी होइन", दाहालले लेखेका छन्, "आउदा जाँदा लाउला पिरती । सबैलाई धन्यवाद ।"
दाहालले श्रमको विषयलाई व्यवस्थापनले गम्भीरतापूर्वक नलिएको र कान्तिपुरमा काम गर्ने सहज वातावरण पनि नभएको बताएका छन् । "यहाँ काम गर्ने वातावरण छैन। श्रमको विषयलाई व्यवस्थापनले गम्भीरतापूर्वक लिएन", मिडिया कुराकानीसँग उनले भने, "आन्दोलनमा सहयोग पनि होस् भन्ने लाग्यो ।"
कान्तिपुरमा चर्किएको श्रम समस्याका विषयमा पत्रकार महासंघ र व्यवस्थापनका आआफ्नै अडान रहेको भन्दै उनले यस विषयमा कान्तिपुरका प्रधान सम्पादकको धारणा माग गरे । "श्रमको विषयमा महासंघ र व्यवस्थापन आआफ्नै अडानमा देखिए", दाहालले भने, "यसमा सम्पादकको धारणा आउनु पर्छ कि आफू कुन कित्तामा छु भनेर ।"
दाहालले कान्तिपुरबाट राजीनामा दिएपछि महासंघ कोषाध्यक्ष कलेन्द्र सेजुवालले "दलाल र दासको डम्पिङ साइटबाट उन्मुक्त हुन सफल भएकोमा बधाई" दिएका छन् ।
कोषाध्यक्ष सेजुवाल र केन्द्रीय सदस्य दाहालको राजीनामा पछि महासंघ केन्द्रीय समितिमा कान्तिपुरका ४ जना पत्रकार छन् ।
कान्तिपुरमा जारी श्रम सङ्कट र पत्रकार महासंघको नेतृत्वमा भइरहेको आन्दोलनका बीच महासंघका नेताहरूले कान्तिपुर छाडेपछि आन्दोलनकारी पत्रकारहरू हौसिएका छन् भने व्यवस्थापनमाथि समस्या समाधानका लागि थप दबाब परेको छ ।
कोभिड महाव्याधि सुरु भएपछि कान्तिपुरको नेपाल म्यागेजिनबाट निष्कासनमा परी हाल कानुनी लडाइमा रहेका पत्रकार माधव बस्नेतले 'कान्तिपुर पब्लिकेसन्सको ज्यादतिविरुद्ध विस्तारै पत्रकारहरू बाहिर थाल्नुले आफूहरूको कानुनी लडाइँ सही पुष्टि भएको' उल्लेख गर्दै न्यायका पक्षमा एकजुट हुन आग्रह गरेका छन् ।
कान्तिपुर र महासंघबीच बढेको तिक्तता
पत्रकार महासंघले साङ्केतिक रुपमा सम्पादकको खोजी र व्यंग्यात्मक रुपमा व्यवस्थापनलाई १ रुपैयाँ सहयोग लगायतका कार्यक्रमसहित आन्दोलन घोषणा गरेको छ ।
कान्तिपुर पब्लिकेसन्सले ८२ जना पत्रकारहरूलाई गैरकानुनी ढङ्गले निष्कासन तथा सरुवा गरेपछि त्यहाँका पत्रकारहरू आन्दोलित छन् । कतिपय पत्रकारहरूले व्यवस्थापनले घोषणा गरी त्यहाँस्थित महासंघ शाखासँग गरेको सहमतिअनुसारको प्याकेज स्वीकार गरी राजीनामा पनि गरेका छन् भने कतिपयले उक्त प्याकेज स्वीकारेका छैनन् ।
उक्त सहमतिलाई बहुसंख्यक पत्रकारहरूले अस्वीकार गरेपछि पत्रकार महासंघले कान्तिपुरलक्षित आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो ।
कान्तिपुर पब्लिकेसन्स लिमिटेडले भने पत्रकार महासंघलाई 'उक्साउने समूह' भन्दै यसअघि सार्वजनिक विज्ञप्तिमार्फत् लाञ्छित गरेको थियो । महासंसँग कुनै पनि हालतमा सम्झौता नगर्ने अडान उसले लिएको छ ।
कान्तिपुरले 'वित्तीय बेथिति र सुन तस्करीमा लिप्त समूहका विषयमा कान्तिपुरले प्रकाशन गरेका समाचारबाट आक्रोशित समूहले पत्रकार महासंघको ब्यानर दुरुपयोग गरेको' आरोप लगाएको छ ।
“नेपाल पत्रकार महासंघको विज्ञप्तिका नाममा सुनियोजित भ्रम फैलाउने, संस्था र नेतृत्वप्रति दुराग्रहपूर्वक लाञ्छना लगाउने र कान्तिपुरले उजागर गरेका बेथितिका बदलामा राजनीतिक प्रतिशोध लिने शृंखला चलेको" कान्तिपुर पब्लिकेसन्सको दाबी छ ।
व्यवस्थापनले महासंघविरुद्ध महासंघकै शाखालाई प्रयोग गरी लाञ्छित गर्न थालेपछि केन्द्रीय समितिले गत कात्तिक १ गते सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै महासंघले आफ्नै शाखा निलम्बन गरेको छ ।
कान्तिपुर, काठमान्डू पोस्ट र इकान्तिपुरमा कार्यरत कतिपय पत्रकारहरू कानुनअनुसार पाउनुपर्ने सेवासुविधा माग गर्दै प्रेस रजिस्ट्रारको कार्यालय गइसकेका छन् ।
यस्तै, कान्तिपुरका २४ जना श्रमजीवीहरूको अर्को उजुरी पनि प्रेस रजिस्ट्रार कार्यालयमा दर्ता भइसकेको छ । कान्तिपुर पब्लिकेसन्सविरुद्ध त्यहाँका अरु पनि पत्रकार कर्मचारी कानुनी लडाइँमा जाने तयारीमा छन् ।
यसअघि श्रम अदालतले कान्तिपुरका ७ जना कर्मचारीको अवकाश बदर गर्दै उनीहरूलाई पुनर्बहाली गर्न आदेश दिएको छ । पढ्नुस्ः कान्तिपुरमाथि श्रम अदालतको लगामः ७ जनाको अवकाश बदर गर्दै पुनर्बहालीको आदेश