पत्रकार साथीहरू बोलौँ !

पत्रकार साथीहरू बोलौँ !

  • मंसिर ११, २०८० सोमबार ०१:०५

प्रिय पत्रकार साथीहरू,

९ फागुन २०७९ को विचार पृष्ठमा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानको ‘कहाँबाट सल्कियो यो मास हिस्टेरिया ?’ भन्ने लेख प्रकाशित छ । लेख प्रकाशित हुँदा उनी सम्पादक थिए । हाल उनी कान्तिपुरको प्रधान सम्पादक छन् ।

लेखमा चौहान भन्छन्, ‘अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको धमनी हो भने सचेत नागरिक लोकतन्त्रका पहरेदार । लोकतन्त्रका हरेक पहरेदारले... खबरदारी गर्नुपर्छ, अविराम रुपमा । पर्ख र हेर भन्ने सन्नाटा आत्मघाती छ । सायद त्यसैले जर्मनीमा दक्षिणपन्थी फाँसीवादको उदयमा रमाएका धर्मशास्त्री मार्टिन निमोलरले निकै ढिलो गरी आत्मसमीक्षा गर्दै भनेका थिए–

पहिले उनीहरू समाजवादीहरू लिन आए
म केही बोलिनँ किनकि म समाजवादी थिइनँ
त्यसपछि, उनीहरू मजदुरहरूलाई लिन आए
म केही बोलिनँ किनकि म मजदुर थिइनँ
तब उनीहरू यहुदीहरूलाई लिन आए
मैले केही भनिनँ किनकि म यहुदी थिइनँ
अन्तिममा तिनीहरू मलाई लिन आए
यो बेलासम्म मेरा लागि बोल्ने कोही बाँकी थिएन ।’


कान्तिपुरमा विगत चार महिनादेखि श्रमजीवी पत्रकारहरू आन्दोलनमा छन् । र, उनीहरूले एउटै माग राखेका छन्– कान्तिपुर,यो देशको कानुन मान् । 


नेपालको प्रभावशाली मिडिया कान्तिपुरमा के भइरहेको छ ? कान्तिपुरको श्रम सङ्कटमाथि मिडिया कुराकानीको निगरानी पढ्नुहोस् ।


‘अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको धमनी हो’ त्यसैले त्यो धमनीमा मौनताको बाक्लो बोसो नलागोस् भन्नका लागि देशैभरका पत्रकार साथीहरू बोल्नुपर्छ । देशैभरका पत्रकार बोल्नुअघि कान्तिपुरमा कार्यरत पत्रकार साथीहरू बोल्नुपर्छ । उनीहरूको आवाजलाई ‘सेल्फ सेन्सरसिप’को रोगले गलाउनुअघि नै उनीहरू बोल्नेछन् भनी देशभरका कान्तिपुरकै र आमपाठक, दर्शक, श्रोताहरूले आशा गरेका छन् । हामीलाई कतिसम्म विश्वास छ भने स्वयं कान्तिपुरका प्रधान सम्पादक पनि लोकतन्त्रको धमनीलाई जोगाउनका लागि श्रमजीवी पत्रकारहरूको पक्षमा बोल्नेछन् । किनभने अन्ततः उनी पनि श्रमिक हुन् ।

ज्ञानेन्द्रको शाही सत्ता र ओलीको सर्वसत्तावादका विरुद्धमा उभिएका सम्पादक चौहान फेरि पनि श्रमजीवी पत्रकारको पक्षमा उभिनेछन् भन्ने विश्वास सम्पूर्ण पत्रकारले गरेका छन् । तर, विश्वासको जमिन विस्तारै भासिँदै गएको हो कि भन्ने आशंका छाएको छ ।

हामी यतिखेर आदर्शहरू पतित भइरहेको समयमा छौँ । मानकहरू भत्किरहेको समयमा छौँ । यो संकटको समय हो । संकट र अप्ठ्यारो समयबाट पार लगाउन सबैभन्दा अगाडि आउँछन् पत्रकार । पत्ररकाको यो मोर्चाका नेतृत्व गर्छन् सम्पादकले ।

तर, दुर्भाग्य यतिखेर हामी पत्रकार नै संकटमा छौँ । हाम्रो पेसा र हाम्रो जीवन संकटमा छ । पत्रकारहरू पारिश्रमिकका लागि गुहार मागिरहेका छन् ।
कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा चलिरहेको पत्रकार/श्रमजीवीहरूको संघर्षबारे हामी जानकार नै छौँ । त्यहाँका साथीहरूले ‘श्रमजीवी पत्रकार ऐन’ अनुसार आफूमाथि व्यवहार हुनुपर्ने माग राखेको महिनौँ पुगिसक्यो । तलब नपाएको १०० दिन नाघिसक्यो ।

प्रिय पत्रकार साथीहरू, आफूले लेखेका समाचार एकपटक पल्टाएर हेर्नुहोस् त ! ती सबै समाचारहरूः अन्यायको विपक्षमा । न्यायको पक्षमा । कुशासनको विपक्षमा । कानुनी शासनको पक्षमा छन् ।

अब एकपटक आफैँतिर फर्किएर हेर्नुहोस्ः के तपाईं–हामीमाथि न्याय भएको छ ? मलाई थाहा छ तपाईंहरू सबैको जवाफ । त्यसो भए हामी आफैँमाथि भइरहेको अन्यायको विपक्षमा बोल्न किन नसकेका ? तपाईं–हामी सबै आफ्नो पत्रकारिता यात्रामा कति धेरै ‘आवाज विहीनहरूको अवाज’ बन्यौँ ?

तर, दुर्भाग्य हाम्रो आफ्नै आवाज भने कतै हराएको छ । आफैँमाथि संकट आइलाग्दा पनि हाम्रो बोली फुटेको छैन । हाम्रो बोली रोक्ने त्यो कुन तागत हो ? आफैँमाथि अन्याय हुँदा पनि बोल्न नसक्ने गरी हामी किन निरीह भयौँ ? कसरी हामी लाचार भयौँ ?

सवाल ‘कान्तिपुर मिडिया ग्रुप’को होइन । यो सवाल पत्रकारको हो । हाम्रो जीवनको । हामीले सम्मानित जीवन बाँच्न पाउने सवाल हो । हामीले कानुनले तोकेअनुसार श्रमको मूल्य पाउने सवाल हो । र, यो पत्रकारिताको सवाल हो ।

कोभिडको कहरमा सञ्चारगृहले तपाईं–हामीलाई गलहत्याएर निकालेको कानुनसम्मत थियो ? त्यसबखत सञ्चारगृहको त्यो गैरकानुनी व्यवहारविरुद्ध हामीले मौनता साँध्यौँ । हाम्रो त्यो मौनताको दुष्परिणाम अन्नपूर्ण पोस्ट, राजधानी लगायतका सञ्चारगृहमा देखिसक्यौँ । र, हाम्रो मौनतालाई आफ्नो शक्ति ठानेर सञ्चारगृहले मच्चाएको दादागिरी शनैःशनै तपाईं–हामी सबैमाथि बर्सिने निश्चित छ । ढिलो चाँडो यो अन्यायको शिकार तपाईं–हामी सबै हुनेछौँ । हामी सबैको थाप्लोमा यो अत्याचारको लाठी बर्सिनेछ ।

त्यसैले त हामी तपाईंहरूलाई आग्रह गर्दैछौँ, आज हामी बोलेनौँ भने त्यतिखेर हाम्रा लागि बोल्दिने पत्रकार बाँकी हुने छैनन् ।

प्रियजनहरू बोल्नुहोस् । तपाईं बोल्नुभएन भने यो अन्यायको गति बढ्छ । यो अन्यायको आगोले हामी सबैलाई पनि एकदिन पोल्ने निश्चित छ । तपाईं–हामी बोल्न, लेख्न डराउनु पर्दैन किनभने तपाईं–हामी न्यायका पक्षमा निर्भिकतासाथ लेखेर र बोलरै पत्रकार भएका हौँ । आफैँमाथि अन्याय पर्दा पत्रकारको आधारभूत गुण, विशेषता कसरी भूल्न सक्छौँ हामी ?

पत्रकारमाथि भइरहेको अन्यायविरुद्ध बोल्दा ‘मालिक’ले जागिरबाट निकाल्छ । सम्पादकको ‘रेड नोटिस’मा परिन्छ । सञ्चारगृहले भविष्यमा जागिर दिँदैनन् कि भनेर धेरै साथीहरू बोल्न डराइरहेका छन् । धेरै साथीहरू यो त्रासले भयभित छन् ।

प्रिय पत्रकारहरू, तपाईंलाई सम्पादक, मालिक वा सञ्चारगृहले दया, माया गरेर जागिर दिएको होइन । पत्रकारिता कुनै सञ्चारगृह, मालिक वा सम्पादकको बिर्ता पनि होइन ।

सोच्नुहोस् त, तपाईँले लेखेका समाचारले के–कस्ता परिवर्तन भए ? तपाईंकै समाचारका कारण कतिले न्याय पाए । कति अन्यायीहरू कानुनको दायरामा आए । हरदम, हरबखत तपाईं न्याय र कानुनी राजका लागि बोल्नुभयो । तपाईं–हामीले लेखेका सबैजसो समाचारका आधारभूत सार भनेकै कानुनी शासन हो । न्यायको पक्ष र अन्यायको विपक्ष हो । त्यसो भए सञ्चारगृहले आफूमाथि गरेको अन्यायविरुद्ध बोल्न किन डराउनुहुन्छ ? ‘ममाथि अन्याय भयो, मेरो शोषण भयो’ भन्न तपाईंलाई कुन तागतले रोकेको छ ? आउनुहोस् एकै स्वरमा बोलौँ, ‘पत्रकारमाथिको शोषण बन्द गर् ।’

तपाईं पत्रकार हो । तपाईं मिडिया होइन । पत्रकारका लागि पत्रकारिताभन्दा महत्वपूर्ण मिडिया वा सञ्चारगृह हुन सक्दैन । यसो भनेर हामी यी सञ्चारगृह समाप्त हुनुपर्छ, बन्द हुनुपर्छ भनिरहेका छैनौँ । नेपाली कानुनअनुसार दर्ता भएका सञ्चारगृहले ‘श्रमजीवी ऐन’ मान्दिनँ भन्न पाउँदैनन् । उनीहरूलाई यो कानुन नमान्ने छुट छैन ।

कतिपय ‘विद्वान’ पत्रकारको समस्या पत्रकार र सम्बन्धित संस्थाको आन्तरिक विषय भनेर पन्छिन खोज्छन् । यदि कुनै संस्थाले सार्वभौम संसद्ले पास गरेको कानुन मिचिरहेको छ, सयौँ मानिसमाथि अन्याय गरिरहेको छ भने त्यो विषय कसरी आन्तरिक मात्र हुन्छ ? यसरी विभिन्न संस्थाहरूले कानुन मिचेको समाचार त तपाईं हामीले नै निरन्तर लेखिरहन्छौँ, होइन र ? कहीँ कतै पनि हुने अन्याय सार्वजनिक चासोको विषय हो । सरोकारको विषय हो ।

आम नागरिकको विश्वास र भरोसामा अडिएका सञ्चारगृहहरू त निश्चय नै ‘पब्लिक अडिट’मा हुन्छन् । सञ्चारगृहले प्रकाशन/प्रशारण गरेका विषयवस्तु मात्र होइन उनीहरूले आफ्ना पत्रकार, कर्मचारीमाथि गरेको व्यवहार पनि सार्वजनिक चासोको विषय हो ।

प्रिय पत्रकार साथीहरू, पत्रकारले राम्रो/महँगो लुगा लगायो भने । गाडी चढ्यो भने तपाईँ हामी नै आश्चर्य मान्छौँ । शंका उपशंकाका तीर सोझ्याउँछौँ । किन थाहा छ ?

किनभने हामीमाथि गरिबी र अभावको भाष्य लादिएको छ । हामी यो गरिबी र अभावको दुःखीयारी मानसिकताबाट ग्रसित छौँ । महिनौँ तलब नदिने सञ्चारगृहले हामीलाई यस्तो सोच्ने अवस्थामा पुर्‍याएका हुन् भन्न धक मान्नु पर्दैन । ती सञ्चारगृहका मालिकले हामीलाई सदा अभाव र गरिबीमै रहिरहन बाध्य पारेका हुन् भन्न संकोच मान्नु पर्दैन ।

Journalist Laxman Karki @ FNJ Protest in covid 19.jpg

अरुको आवाज हामीले सुन्यौँ, हाम्रो आवाज कसले सुन्ने ?फोटोः अमित मचामसी/पहिलोपोस्ट


श्रम ऐन, श्रमजीवी पत्रकार ऐन र सम्बन्धित कानुनको धज्जी उडाउँदै हामीलाई सञ्चारगृहले जबरजस्ती अभावमा बाँच्ने बानी पारिदिएका छन् । र, तपाईं–हामी त्यसैलाई आफ्नो नियति ठानेर मौन बसिरहेका छौँ ।

ख्याल गर्नुभएको छ ?: पार्किङ लटमा हरेक महिना मालिकको गाडी परिवर्तन हुन्छ । घरको ठेगाना परिवर्तन हुन्छ । तर, तपाईं घरमा चुलो बाल्ने ग्यास किन्न सापटी खोज्न भौँतारिनुहुन्छ । अभावले थिचिएका तपाईं–हामी बिरामी हुँदा पनि अस्पताल जान पन्छिन्छौँ । आज कसले चिया खुवाउँछ ? भनेर ‘स्पोन्सर’ खोज्दै हिँड्नु तपाईं–हामी सबैको साझा अनुभव भएको छ ।

वर्षौंदेखि हामी यो अन्याय सहिरहेका छौँ । त्यसैले हामीलाई विभेदको आदत भइसक्यो । सञ्चारगृहले हामीलाई पीडामा सुस्केरा हाल्नसमेत नसक्ने बनाएर राखेका छन् । ‘अभिव्यक्ति स्वतन्त्रता, सम्मानपूर्वक बाँच्न पाउने, श्रम शोषण विरुद्धको हक’ भएको संविधानको छायामा बसेका तपाईं–हामी सञ्चारगृहका आधुनिक दास बनाइएका छौँ । आफूमाथि भएको शोषण, अन्यायबाहेक हामीलाई सबै कुरा थाहा छ ।

अलिखितै सही राज्यको चौथो अंग भनिएका हामीले नै अन्याय/अपमान सहनु अन्याय गर्नुभन्दा ठूलो अन्याय हो । त्यसैले म फेरि आग्रह गर्छु, बोल्नुहोस् । चिच्याएर भन्नुहोस्, ‘म/हामी पत्रकारमाथि अन्याय भएको छ । हाम्रो शोषण भएको छ ।’

‘अरुमाथि अन्याय भयो भन्दै चिच्याउनेहरू, आफैँमाथि अन्याय हुँदा त बोल्न सक्दैनन्,’ भनेर सामाजिक सञ्जाल र सार्वजनिक प्लेटफर्ममा हामी लक्षित टिप्पणी हुँदा तपाईँलाई आफू पत्रकार हुँ भन्न शरम लाग्दैन ? तपाईं आफैँले न्यायका पक्षमा लेखेका समाचारको नैतिक धरातल खस्किएजस्तो लाग्दैन ?

कानुनी शासन/राजको पक्षमा वकालत गरिरहँदा आफैँमाथि गैरकानुनी ज्यादती भइरहेको यथार्थले बिझाउँदैन ? पिरोल्दैन ? अन्याय सहेर बसिरहेका हामीले अरुको न्यायको पक्षमा लेखिरहँदा तपाईं हाम्रा हात काँप्दैनन् ?

पत्रकारमाथि ज्यादती र अन्याय भइरहँदा पनि पत्रकारहरू मौन थिए भन्ने कुरा इतिहासमा दर्ज हुनु हाम्रो पत्रकारितामाथि नै प्रश्न हो । हाम्रो समयमाथि प्रश्न हो । हाम्रो न्यायचेत र न्याय प्रेममाथि प्रश्न हो । हाम्रो पत्रकारिताको वैधतामाथि नै प्रश्न हो । त्यसैले प्रियजनहरू यो प्रश्न उठ्न नदिऊँ ।

आउनुहोस् हामी सबैले आफू कार्यरत सञ्चारगृहका सम्पादक र नेतृत्वकर्तालाई भनौँ, ‘पत्रकारमाथि भएको शोषण, अन्याय र अत्याचारको समाचार लेखिनुपर्छ ।’ हामीमाथि हातपात हुनु, कुटपिट हुनु वा धम्की खप्नु मात्र पत्रकारमाथि हुने अन्याय होइन । हाम्रा सञ्चारगृहले गरेको श्रम शोषण ।

‘श्रमजीवी पत्रकार ऐन’ लत्याउने हाम्रा सञ्चारगृहले नै हामीमाथि शोषण, अत्याचार गरिरहेका छन् भन्न समाचार लेख्न अब ढिला गर्नुहुँदैन । जति ढिला हुन्छ हामीमाथि हुने अन्यायको ग्राफ त्यति नै बढ्छ ।

संविधान, लोकतन्त्र र देशको संकटका विषयमा हतारो गर्दै विज्ञप्ति निकाल्ने हाम्रा सबै सम्पादकलाई ‘न्युज रुम’मा मात्र होइन सार्वजनिक रुपमै सोधौँ, ‘पत्रकारको शोषण हुँदा तिमी किन मौन ?’ ती सबै सम्पादकलाई प्रश्न गरौँ, जसले हामीलाई अन्याय र शोषणविरुद्ध निर्भिक भएर समाचार लेख्न सिकाएका थिए । तिनलाई आज प्रश्न गरौँ,‘तिम्रा पत्रकारमाथि शोषण र अन्याय हुँदा तिमी किन मौन ?’

क्याथेरिन रेनोल्ड्स ल्वीस भन्छिन्, ‘प्रिय पत्रकारहरू, हामीलाई जोगाउन कोही आउनेछैन’ हामीलाई जोगाउने हामी आफैँले मात्र सक्छौँ । यी सञ्चार गृह र यिनका मालिकले हामी पत्रकारलाई जोगाउने छैनन् । उनीहरूलाई पत्रकारिता र हामी जस्ता पत्रकार होइन नाफा चाहिएको हो । उनीहरू जसरी आफूलाई नाफा हुन्छ त्यही गर्छन् ।

प्रियजनहरू, हामीमाथि भएको अन्याय, हामीमाथि भएको शोषणको कुरा अब तपाईं हामीले हाम्रा पाठक, नागरिक समाजलाई सुनाउनुपर्छ । ‘अन्याय र शोषणका विरुद्ध डटेर उभिने दायित्वबाट हामी पछि हटेका छैनौँ, तर आज हामी नै यो अत्याचारको शिकार भएका छौँ । हाम्रो शोषण भएको छ, त्यसैले हाम्रो न्यायको संघर्षमा उभिनुहोस्,’ भनेर हाम्रा पाठकलाई आग्रह गरौँ । हाम्रा पाठक र नागरिक समाज सदैव शोषण र अन्यायको विपक्षमा उभिएका छन् ।

भारतका पत्रकार रविशकुमार बारम्बार भन्ने गर्छन्, ‘एक डरा हुआ पत्रकार मरा हुआ नागरिक पैदा करता है ।’ आफूले भोगिरहेको शोषणविरुद्ध बोल्न डराउने हाम्रो हकमा पनि यही कुरा लागू हुन्छ ।

मालिकको बढ्दो र पत्रकारको घट्दो पेटको गति समान भएको छ । अन्यायविरुद्ध लेख्ने, बोल्ने हामी नै अन्यायमा परेका छौँ । मेरा पत्रकार साथीहरू आज हामीले आफूमाथि भइरहेको अन्यायविरुद्ध प्रश्न सोधेनौँ भने भोलि जवाफ दिन सक्नेछैनौँ । त्यसैले आउनुहोस् प्रश्न सोधौँ । हाम्रो पेसा नै हो प्रश्न सोध्ने ।

हामीमाथि गरिएको शोषण र अन्यायलाई न्यायोचित दाबी गर्दै सञ्चारगृहरू आर्थिक मन्दी भएको, सञ्चारगृह घाटामा गएको तर्क दिन्छन् । यस्तो तर्क गर्ने सञ्चारगृहलाई सोधौँ, ‘नाफा हुँदा हामीलाई नाफाको हिस्सा दिएका थियौँ ? थिएनौँ भने तिम्रो घाटाको भागिदार हामी किन ?’ तिनलाई भनौँ, ‘हामीले तिम्रो नाफा र घाटाको हिस्सेदारी नभई कानुनले निर्देषित गरेको पारिश्रमिक, सेवा, सुविधा खोजेका हौँ ।’

यो मुलुकका सबैका लागि कानुन लागू हुँदा, हाम्रा लागि हुनु पर्दैन ? के तपाईं हामीले सम्मानजनक जीवन बाँच्नु पर्दैन ? के तपाईं हामीले कानुनले तोकेअनुसार हाम्रो श्रमको मूल्य पाउनु पर्दैन ?

पत्रकारले मेरो श्रम शोषण भयो भनेर सानो आवाज उठाउँदा ‘प्रेस स्वतन्त्रता हनन भयो’ भन्ने सञ्चारगृहलाई सम्झाऊँ, ‘प्रेस स्वतन्त्रता सञ्चारगृहलाई पत्रकारमाथि शोषण गर्न होइन, पत्रकारिताका लागि हो ।’ हामीले बारम्बार भन्ने गरेको विधिको शासन । कानुनी शासन । नेपाल सरकार र त्यसका निकायका लागि मात्र होइन, हाम्रा सञ्चारगृहका लागि पनि हो भनौँ ।

प्रिय पत्रकार साथीहरू म तपाईंहरूलाई फेरि पनि आग्रह गर्छु, आज हामी बोलेनौँ भने भोलि हाम्रो बोली सदाका लागि बन्द हुनेछ । हाम्रो न्यायका लागि आवाज उठाउन निकै ढिलो भइसकेको छ । अब पनि हामी मौन रह्यौँ भने ‘म पत्रकार हुँ । आवाजविहीनको आवाज हुँ’ भन्ने हाम्रो नैतिक धरातल बाँकी रहने छैन । सगर्व ‘म पत्रकार हुँ’ भन्न सक्ने भविष्य बनाउन बोलौँ । पत्रकार र पत्रकारिताका लागि बोलौँ।

(पत्रकार चन्द नेपाल रिडर्समा कार्यरत छन् ।)


तपाईँ पनि बोल्नुस् । हामीलाई [email protected] मा पठाउनुस् ।


Related Story

'पेटका केही कुरा' अर्थात् आमाको मौन व्यथा

पेटका कुरा भन्दा तपाईँ के सम्झिनुहुन्छ ? मनका कुरा ? नभनिएका कुरा ? भावनाका कुरा ? वा, खाने कुरा ? पेटका कुराले अनकानेक अर्थबोध

Revitalizing Journalism Education for the Digital Age

How Tribhuvan University Can Bridge Theory, Technology, and Practice in Media Education As students undertake their journey towards higher education, the

'हेर्ने कथा' ले हाम्रो आँखा रसाउँछ, तर के यसले हाम्रो दिमाग पनि चलाउँछ ?

हिरादेवी वाइबा अहिले 'हेर्ने कथा' टिमको पछिल्लो एपिसोडले सञ्जाल रोइरहेको छ । भावुकता र आँसुले छपक्कै भिजेको छ । म