'पेटका केही कुरा' अर्थात् आमाको मौन व्यथा

'पेटका केही कुरा' अर्थात् आमाको मौन व्यथा

  • जेठ ३, २०८२ शनिबार ०२:४६

‘पेटका कुरा’ भन्दा तपाईँ के सम्झिनुहुन्छ  ? 

मनका कुरा ?

नभनिएका कुरा ?

भावनाका कुरा ? वा, खाने कुरा ?

पेटका कुराले अनकानेक अर्थबोध गराउँछन् । 

तर म एउटा यस्तो ‘पेटका कुरा’ बारे लेख्दै छु, जहाँ हामी अनेकन थरीका कुरा भेट्नेछौँ, देख्नेछौँ र महसुस गर्नेछौँ  । 

something In the Belly (7).jpg

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदको तेस्रो तलामा गत वैशाख १९ गतेदेखि ‘पेटका केही कुरा’ (Something in the Belly) शीर्षकको प्रदर्शनको अन्तिम दिन थियो ।  

क्युरेटर बुनु ढुंगानाले संकलन गरेका पेन्टिङ, अडियो, भिडियो लगायतका कलाको संयोजनले भरिएको ‘आर्ट काउन्सिल’ को हलभित्र पस्दा बेग्लै खाले शान्तिको अनुभूति भयो । 

भित्ताहरूमा टाँगिएका चित्रहरू, गुञ्जिरहेका ध्वनिहरू, पत्र पत्रमा कोरिएका अक्षरहरू । यी सबैले आ-आफ्नै मौन भाषामा केही गहिरो कुरा भनिरहेका थिए ।

something In the Belly (6).jpg

विषय समान भए पनि हेर्नेका आआफ्ना दृष्टि भइहाल्छन् । मलाई लाग्यो- यहाँ त आमा र सन्तानकै सम्बन्धका अनेक पत्र केलाइएका थिए ।

म ठान्थेँ- आमा भनेको 'माया' र 'न्यानोपन' को खानी हो । तर यहाँ आमासँगको सम्बन्धका अनेक रङ थिए– उज्याला मात्र होइन,अँध्यारा पनि ।

something In the Belly (14).jpg

तपाईँलाई के लाग्छ, आमासँगको सम्बन्ध सधैं एकनासको हुन्छ ? के सन्तानप्रतिको मातृममता सधैँ सरलरेखामा हिँड्छ ?

यहाँ गुञ्जिरहेको एउटा आवाजले झस्कायो । पितृसत्ता, जात व्यवस्था...कसरी यी अदृश्य जन्जिरले हाम्रा आमाहरूलाई, दिदीबहिनीहरूलाई युगौंदेखि बाँधेको छ !

something In the Belly (10).jpg

उनीहरूका प्रतिभा, उनीहरूका चाहना, सबै यही समाजको साँघुरो सोचले कसरी खुम्च्याइदिएको छ ? कवि अस्मिता वादीको कविताले मनमा गाँठो पार्छ, आक्रोश जगाउँछ ।

त्यस्तै अर्को दृष्यमा भनिएको छ- ‘आमाले पर्दा धुन थालेको धेरै भयो, तर उनको हातमा लागेको मसलाको गन्ध अझै गएन।’

तिप्ती तामाङ पाख्रिनले बनाएको एउटा दृष्यकथामा एउटै प्रश्न मनमा गुञ्जियो- कति आमाका सपना र रहर त्यही भान्साको धुवाँ र मसलाको गन्धमा बिलाए होलान् ?

something In the Belly (8).jpg

उनीहरूको संसार त्यही चुलोचौकामा सीमित भयो, हातमा लागेको त्यो मसलाको गन्धजस्तै, उनीहरूको योगदान र पीडाको छाप भने कहिल्यै मेटिएन । यो देख्दा आफ्नै आमालाई सम्झिएँ... उनका हातहरू... काम, समर्पण, तर कहिल्यै नदेखिने, नसुनिने ।

प्रदर्शनीको माथिल्लो तलाको भित्तामा टाँसिएको एउटा छोटो पत्रले ध्यान खिच्यो जहाँ– ‘Mom Tik Tok Live dherai Bhayo, खाना खाने बेला पनि फुर्सद छैन ! Hehe’।

something In the Belly (4).jpg

त्यो निर्दोष 'Hehe' मा कति धेरै गुनासो र एक्लोपन लुकेको थियो होला !

कस्तो समय आयो, जहाँ आमा र सन्तानबीच यस्तो दूरी ? के यो बदलिँदो समाजको चित्र हो ? या, मातृत्व प्रेममा आएको खडेरी ? आमा व्यस्त छिन्, सन्तान एक्लो। यो दृश्यानुभूतिले घोत्लिन बाध्य बनाउँछ । 

something In the Belly (5).jpg

अनि त्यहीँ अर्को एउटा विद्रोहको स्वरले मनमा ऊर्जा भर्‍यो । आमालाई घरको चौघेराबाट बाहिर निस्कन, समाजले ओढाएको घुम्टो फाल्न गरिएको आह्वान ।

कस्तो साहस ! कस्तो प्रेरणा !

उज्वला महर्जनको कविताको आशय छ- 'आमाहरूले अब मौनता तोड्नुपर्छ, आफ्ना लागि बोल्नुपर्छ ।'

something In the Belly (13).jpg

यो भावले एक किसिमको आशाको किरण देखायो, परिवर्तनको संकेत दियो ।

प्रदर्शनीबाट निस्कँदै गर्दा मनभित्र ‘पेटका केही कुरा’ ले घर बनाइसकेको थियो।

यी अनुभवहरूले मलाई हल्लाए, झक्झक्याए। आमा, समाज, पितृसत्ता, मातृत्वप्रेम... यी र यस्तै शब्दले नयाँ अर्थ बोकेका छन्, अझ गहन भएर आएका छन् ।

something In the Belly (12).jpg

साँच्चै, हामीले कहिल्यै आफ्नी आमाको ‘पेटका कुरा’ सुन्ने, बुझ्ने कोसिस गरेका छौं त ?

आमाको मुस्कुराहट पछाडिको पीडा, उनको मौनता पछाडिको चित्कार, उनको अदृश्य त्याग र समर्पण अनुभूत गर्ने प्रयत्न गरेका छौँ ?

अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, रेचल लो, उज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि  श्रेष्ठ, प्रतिभा तुलाधर लगायतका सिर्जनाले हामीलाई प्रश्न गरिरहेका छन् ।

something In the Belly (3).jpg

something In the Belly (1).jpg

something In the Belly (15).jpg

फोटोहरू: निशान्त अधिकारी 

 

 


Related Story

Revitalizing Journalism Education for the Digital Age

How Tribhuvan University Can Bridge Theory, Technology, and Practice in Media Education As students undertake their journey towards higher education, the

'हेर्ने कथा' ले हाम्रो आँखा रसाउँछ, तर के यसले हाम्रो दिमाग पनि चलाउँछ ?

हिरादेवी वाइबा अहिले 'हेर्ने कथा' टिमको पछिल्लो एपिसोडले सञ्जाल रोइरहेको छ । भावुकता र आँसुले छपक्कै भिजेको छ । म

पत्रकार साथीहरू बोलौँ !

प्रिय पत्रकार साथीहरू, ९ फागुन २०७९ को विचार पृष्ठमा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानको ‘कहाँबाट सल्कियो यो मास हिस्टेरिया ?’