अहिले 'हेर्ने कथा' टिमको पछिल्लो एपिसोडले सञ्जाल रोइरहेको छ । भावुकता र आँसुले छपक्कै भिजेको छ । म पनि रोएँ । तर, रुवाइले म भित्रका प्रश्नहरू बगाएनन् । बरु मेरो आँसुमा अनेकन प्रश्नहरू तैरिरहे । ती प्रश्नहरूको उत्तर खोज्न यो ब्लग लेख्दैछु ।
म आफैं पनि 'हेर्ने कथा' टिमको नियमित दर्शक हुँ । शिक्षण पेसामा छु र हेर्ने कथाका धेरै एपिसोडहरू मैले आफ्ना विद्यार्थीहरूलाई समयसमयमा देखाउँदै आइरहेको छु । छानेर एपिसोडहरू म उनीहरूलाई पनि देखाउँछु ताकि उनीहरूले सोच्ने, हेर्ने र अनेकन मुद्दालाई बुझ्ने दृष्टिकोण समानुभूतिपुर्ण रहोस् । उनीहरूले त्यसमा छलफल गरुन् र थाहा पाऊन्, मानिसहरू त्यो अवस्थामा किन छन् । भुइँमान्छेहरू दुर्दशाको दुष्चक्रमा किन, कसरी, केके कारणले पिल्सिरहेका छन् ।
तर, 'हेर्ने कथा'को पछिल्लो अंकसम्म आइपुग्दा, मलाई भने सधैं नै एउटा कुराले लखेटिरहेको छ । 'हेर्ने कथा' टिमले दूरदराजका गाउँहरूको कथा ल्यायो, किनारीकृत मान्छेहरूको व्यथा हामीलाई देखायो तर प्रश्न गर्न सक्ने, सरोकारवालाहरूलाई जवाफदेहिता माग्नसक्ने दृष्टिकोण कहिल्यै ल्याएन ! ल्यायो त फगत आँसु र भावुकता ! निरन्तर ल्याइरह्यो सहानुभूतिको बाढी, तर किन ल्याएन दृढसंकल्पको भंगालो ? म अनुत्तरित छु ।
अब गरौं 'पोभर्टी पोर्न'को कुरा । पोभर्टी पोर्न (Poverty Porn) भनेको गरीबीमा रहेका मानिसहरूको अवस्था वा पीडालाई अतिरञ्जित वा अस्थिर रूपमा प्रस्तुत गरेर दर्शकको सहानुभूति वा प्रतिक्रिया उत्पन्न गर्ने उद्देश्यले सामग्री निर्माण, उत्पादन र प्रसारण गर्ने गतिविधि हो । यस्ता सामग्री निर्माण/प्रसारणको उद्देश्य प्रायः चन्दा सङ्कलन गर्नु, सोसल मिडिया वा अन्य माध्यममा प्रयोग गरेर गरीबीलाई देखाउनु, कमजोर सामाजिक-आर्थिक स्थितिलाई ग्ल्यामराइज गर्नु हो ।
पोभर्टी पोर्नको उद्देश्य गरीबीको समस्यालाई समाधान गर्नेभन्दा पनि दर्शकलाई भावनात्मक रूपमा प्रभावित पार्ने हुन्छ, जसले गर्दा मानिसहरूले चन्दा दिने वा अन्य आर्थिक सहयोग गर्ने सम्भावना हुन्छ । यसले गरिबीको वास्तविकता र कमजोर सामाजिक-आर्थिक अवस्थाका मानिसहरूको मर्यादालाई हानी पुर्याउन सक्छ, किनकी यसमा उनीहरूलाई केवल सहानुभूतिका पात्रको रूपमा देखाइन्छ, समस्या समाधान गर्न सक्ने व्यक्तिको रूपमा होइन । पोभर्टी पोर्नको मुख्य लक्षण भनेको गरिबी वा पीडाको समस्यामात्र देखाएर दर्शकको सहानुभूति वा ध्यान खिच्ने, तर कुनै दीर्घकालीन समाधान वा स्थायी परिवर्तनमा योगदान नदिने हो ।
तर, कसैले पोभर्टी पोर्नको व्यापार गरिरहेको छ कि छैन भन्ने कुराको निर्धारण निर्माण गरिएका सामग्रीको उद्देश्य र प्रस्तुत गर्ने तरिकाले गर्छ भनिन्छ । यदि सामग्रीले गरिबीमा रहेका मानिसहरूको मर्यादा र आत्मसम्मानलाई ख्याल राखेर प्रस्तुत गर्छ भने, त्यो पोभर्टी पोर्न हुँदैन भनिन्छ । तर 'हेर्ने कथा' टिमले प्रस्तुत गरेका 'प्रकाश'जस्ता पात्रहरू किन 'कठैबरा'मा सीमित छन् ?
एक डेढ बर्ष अघि हुनुपर्छ, 'हेर्ने कथा' टिमले आफ्नो डकुमेन्ट्री 'बाघको बङ्गारा' किम्फमा देखाएको थियो । त्यो डकुमेन्ट्री Honey Hunter हरूले न्युनतम उपलब्धिका लागि तय गर्ने जोखिमपूर्ण यात्राको बारेमा थियो । त्यो डकुमेन्ट्री हेरिसक्दा म आफैंलाई सम्हाल्न नसकेर भक्कानिएको थिएँ । वर्षभरिमा हुने जम्मा ४०-४५ हजार आम्दानीको लागि अक्करे भिरमा बिना कुनै सुरक्षाका साधन, सुख्खा रोटीको भरमा गाउँका लोग्ने मानिसहरू आफ्नो ज्यानको पर्वाह नगरी भिरमौरीको मह काढ्न भिर चढेको देख्दा म भित्रैबाट भत्किएको थिएँ । डकुमेन्ट्री सकिएपछि दर्शकको प्रतिक्रिया लिने समयमा अधिकांश प्रतिक्रिया आयो, "कस्तो एडभेन्चरस," "कस्तो रुवाउने," "खत्रा लाग्यो," "नेपाली बियर ग्रील्सहरू !"
प्रतिक्रियाहरू सुनेर म अवाक भएँ । न्यूनतम कुराका लागि मान्छेले आफ्नो ज्यानको बाजी थापेको कुरा उपस्थित जमातलाई रमाइलो र खत्रा एडभेन्चर लागिरहेको थियो । वा भनौं, थ्रिलिङ इन्टरटेन्मेन्ट !
उपस्थित कसैलाई पनि लागेन कि त्यो वृत्तचित्र देशको दुर्दशा थियो । त्यसको लागि जिम्मेवार राज्यसंयन्त्र कब्जा गरेर बसेकाहरू, हामीजस्तै नागरिकहरूको खुन र पसिनामा रगजग गर्नेहरू हुन् र उनीहरूलाई प्रश्न गर्नुपर्छ । न यो कुरा वृत्तचित्रले कतै भन्यो, न त उपस्थित टिमले नै !
यो वृत्तचित्र प्रदर्शनीको समय काठमाडौंका मेयर बालेन शाहले निम्नवर्गीयहरूमाथि चरम उत्पीडन गरिरहेको समय थियो ।
सडक व्यापारीहरूमाथिको दमन र धरपकड उत्कर्षमा थियो । वृत्तचित्र प्रदर्शनीमा उपस्थितहरूको प्रतिकृया र हेर्ने कथा टिमको मौन तटस्थताले मलाई यति बिझायो कि मैले आफ्नो बोल्ने पालो मागें । मैले त्यहीँनेर टिप्पणी गरें कि, यो वृत्तचित्र मनोरञ्जन कम र राज्यलाई ऐना देखाउने प्रयत्न ज्यादा हो !
मैले मेयर बालेनले गरिरहेको क्रुर व्यवहारलाई पनि जोडेर निम्नवर्गीय मानिसहरू कसरी पेलिइरहेका छन् भन्नेबारे टिप्पणी गरेको थिएँ । तर, हेर्ने कथा टिमले त्यति दर्दनाक वृत्तचित्रमाथि आएको सतही टिप्पणीबारे केही बोलेन । म रनभुल्लमा परें, उनीहरूले आम दर्शकलाई दुर्दशाको ऐना देखाउने प्रयत्न गरेका हुन् वा हलमा उपस्थित प्रायः सबैको टिप्पणीजस्तो 'एड्भेन्चर फिल्म'मात्रै बनाएका हुन् ।
त्यसपछि मैले 'हेर्ने कथा'का एपिसोडहरू कम पछ्याउँदै आएँ ।
मलाई कोइला खानीको कथाले मेरो बुवाको विगत देखाएको थियो । न्युनतम प्राप्तिका लागि बुवाले गरेको सङ्घर्ष र खपेको कठिन समय देखाएको थियो । ज्यान जोखिममा राखेर न्युनतम ज्यालाको लागि भोगेको चर्को श्रमशोषण देखाएको थियो । म सधैं सोच्दथें कि 'हेर्ने कथा' टिमको प्रयत्न समाज र राज्यलाई ऐना देखाउनु नै हो । तर, पछिल्लो अंकसम्म आइपुग्दा मभित्र सन्देह पैदा भएको छ; हेर्ने कथाको उद्देश्य के हो ?
यति लामो यात्रामा अघि बढिसकेको र एक मिलियन सब्स्क्राइबरको परिवार निर्माण गरिसकेको 'हेर्ने कथा' टिमले आजसम्म पनि प्रश्न गर्नसक्ने, जवाफदेहीता माग्न सक्ने दृष्टिकोण आफ्ना केही दर्शकमामात्रै पनि निर्माण गर्न नसक्नु संयोगमात्रै हो र ? भावुकता र आँसुको खोलोमात्रै बगाउने कथाहरू 'हेर्ने कथा' टिमले प्रस्तुत गर्नुले म भित्रको सन्देहलाई अझै टेवा दिएको छकि, कतै यो टिम औसत युट्युबरहरूको उन्नत भर्सनमात्रै त होइन ?
यत्रो विश्वास र भरोसा आर्जेको टिमको यति लामो समयसम्मका प्रस्तुतिहरू यति कमजोर किन छ कि, आफ्नो दर्शकहरूमा सरोकारवालाहरूलाई प्रश्न गर्नुपर्छ भन्ने चेतनाको झिल्कोसम्म सल्काउन सकेको छैन ? उल्टो आँसुको आहालमा डुबेर, भावुकताको भुमरीमा परेर सारा संसार रोएकोमात्रै कुरा गर्ने जमात किन बनिरहेको छ !
पछिल्लो एपिसोडको कुरा गर्दा, 'हेर्ने कथा' टिमले प्रकाश, उर्फ शुक्रको कथा यति कारुणिक बनाएर प्रस्तुत गर्यो कि हामी सबै रोयौं । तर, प्रकाशको हराएको वर्षको हिसाब, लेखाजोखा न टिमले कतै दाबी गर्यो न दर्शकहरूले स्वस्फूर्त हिसाब माग्ने ढङ्गले प्रस्तुत गर्यो !
सबैले भने, "वाह, यो त विदेशी वृत्तचित्रहरूभन्दा पनि खतरा बन्यो !" तर, कसैले यसो किन भनेन ? "प्रकाशहरू वर्गीय राज्यसंरचनाको हिंसामा परेका आममान्छेहरू हुन् भनेर ? उनीहरूलाई यो अवस्थामा पुर्याउने सबै जिम्मेवार निकायहरू सजायको भागिदार छन् ! प्रकाशहरूको सम्मानजनक पुनर्स्थापना हुनुपर्छ !"
लाखौं मान्छेले भरोसा गरेको टिमले कमसेकम वर्षेनी हराउने बालबालिकाको तथ्यांकसम्म राखिदिएको भए, वा हराएर प्रकाश जहाँ पुगे, त्यहाँको स्थानीय सरोकारवाला निकायसँग उनको पहिचान त्यो ठाँउमा कसरी गरिएको थियो भन्ने संवादमात्रै समावेश गरिदिएको भए दर्शकहरूले जवाफदेहिता बुझ्थे होलान् ।
मलाई स्पष्ट याद छ, उदयपुरको एउटा गाउँ, जहाँ म हुर्किएँ, त्यहाँ एकजना दाइ यसैगरी हराएर आइपुगेका हुन् भन्थे । बालखैमा त्यो गाउँ पुगेका ती दाइको नामथर कसैलाई थाहा थिएन । एकजना भट्टराईको घरमा बस्थे । सबैले 'धने' भन्थे । अत्यन्तै सोझा मान्छे थिए । गाउँभरिको गाइवस्तु लगेर निकुञ्जमा चराउँथे । वा यसो भनौं, गाउँ नै मिलेर उनलाई गोठालो बनाएको थियो । उनको परिवार, आफन्त, गाउँबारे कसैले कुरा गरेन । किनकि गाउँलाई चाहिएको थियो एउटा ज्याला दिन नपर्ने गोठाला, जसको पूर्ति सोझासाझा धने दाइको उपस्थितिले गरिदिएको थियो ।
मैले थाहा पाउँदासम्म गाउँमा प्रहरी चौकी थियो । केही गन्नेमान्ने नेताकार्यकर्ताहरू थिए । तर, न त प्रहरी प्रशासनको मान्छेले, न त गाउँलेले नै धने दाइलाई घरपरिवारसम्म फर्काउने चासो देखाएको थियो । उनी एक्कासी गाउँमा झुल्किएका पक्कै थिएनन् । कसैको पछि लागेर, कहिँ कतैबाट आइपुगेका थिए । गाउँभरिको गाईवस्तु चराइदिएबापत धने दाइले पाउने भनेको हेलाँसहितको एकछाक भात, कतै मीठोमसिनो पाक्दा एक भान्सा र दशैँतिहारमा दुईचार पैसा दक्षिणा थियो । एसएलसीपछि मेरो परिवारले गाउँ छाड्यो । अहिले 'धने' दाइ त्यही गाउँमा छन् वा छैनन्, म अनभिज्ञ छु ।
यसरी कति विपन्न बालबालिकाहरू हराउँछन् ? (वा, अपहरणमा पर्छन् ?) कतिको अभिलेख छ सरकारी संयन्त्रसँग ? हराएर आएका बालबालिकाहरूको पुनर्स्थापनाको लागि उक्त ठाँउका सरोकारवाला र सरकारी संयन्त्रहरूले किन फर्काउन पहल गर्दैनन् ? बालबालिका खोजतलास तथा समन्वय केन्द्रले के कस्ता कामहरू गरिरहेको छ ? ती काम कामकारबाहीहरू कतिका प्रभावशाली छन् ? यी र यस्ता सवाल गर्नसक्ने दृष्टिकोण नदिइकन आँसुको भेलले सारा प्रश्नहरू बगाइदिनु आफैंमा प्रश्न गर्नुपर्ने कुरा हो भन्ने मलाई लागिरहेको छ । पत्रकार र पत्रकारिताको धर्म समुन्नत र न्यायोचित समाजनिर्माणको बाटो देखाउनु पनि त हो ।
अब यति पढिसक्दा हेर्ने कथा टिमका शुभचिन्तकहरूले भन्नुहोला, "हेर्ने कथाले प्रकाशको कथा ल्याइदिएर धर्मै गर्यो ! पुण्यको काम गर्यो ! अब सबै मिलेर सकेको सहयोग गरौं !
आँसुको व्यापार भयो भनेर रुवाबासी नगरौं !" तर, तपाईं हामीले के बुझ्नुपर्छ भने, प्रकाशजस्ता सयौं, हजारौं बालबालिका हरेक वर्ष हराउँछन् । के ती सबैलाई हेर्ने कथा वा त्यस्तै अर्को समूहले खोजेर सक्छ ? के ती सबैको अभिलेख उनीहरूसँग हुनसक्छ ? के ती सबैलाई तपाईं हामी चन्दा संकलन गरेर पुनर्स्थापना गर्नसक्छौं ? हो, यदि कुनै व्यक्ति वा संस्थालेमात्रै सारा जिम्मेवारी लिन सक्दैन भने त्यसको लागि को जिम्मेवार रहन्छ ?
उत्तर हो, राज्य र राज्यका संयन्त्रहरू । त्यसको लागि एउटा घटनालाई वाहवाही गरेर, उनीहरूले पुण्यको काम गरे भनेर खास मुद्दाबाट भड्किरहने कि, राज्यका अवयबहरूलाई सबैसबै हराएका, बन्धक बनाइएकाहरूको हिसाब माग्ने ?
'हेर्ने कथा' टिमको उद्देश्य जति नै सफा र निश्छल भए पनि यसले दर्शकमा निर्माण गर्न नसकेको आलोचनात्मक चेतलाई म चाहिँ सन्देह गर्छु । कि त उनीहरूले भन्नुपर्यो कि यी विशुद्ध मनोरञ्जनका लागि बनाइएका सामग्रीहरू हुन् जसले उनीहरूको पक्षधरता स्पष्ट गर्नेछ ।
होइन भने, भुइँमान्छेहरूको कथा देखाउँदा सधैं नै विचरा, ओहो, कठैबराको भावमात्रै ल्याउनु र प्रश्न गर्न नसिकाउनुले उनीहरू पनि पोभर्टी पोर्नकै व्यापार गरिरहेका छन् भन्ने कुरालाई बल दिनेछ ।
(हिरादेवी वाइबाको फेसबुकमा प्रकाशित के 'हेर्ने कथा' टिम 'पोभर्टी पोर्न' कै बाटोमा छ ?शीर्षकको ब्लग लेखकको अनुमतिमा नयाँ शीर्षकसहित मिडिया कुराकानीमा पुनःप्रकाशित गरेका छौँ ।)