कान्तिपुर पब्लिकेसन्स लिमिटेडका आन्दोलित पत्रकारहरूले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सहयोग भन्दै साङ्केतिक रुपमा कान्तिपुरलाई एक एक रुपैयाँ सङ्कलन गरी दान गरेका छन् ।
नेपाल पत्रकार महासंघद्वारा कान्तिपुरमा घोषित तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार कान्तिपुरलाई एक रुपैयाँ सहयोग गर्ने कार्यक्रम थियो ।
नेपाल पत्रकार महासंघद्वारा गठित कान्तिपुरमा कार्यरत पत्रकार तथा कर्मचारी सम्मिलित आन्दोलन संयोजन समितिका संयोजक टीकाराम प्रधानको नेतृत्वमा पत्रकारहरूले 'कान्तिपुरलाई एक रुपैयाँ सहयोग' भन्दै सार्वजनिक स्थलमा रकम सङ्कलन गरिएको थियो ।
पत्रकारहरूले संकलित रकम राखिएको टोकरी कान्तिपुर पब्लिकेसन्स लिमिटेडको 'फाइनान्स' मा बुझाए । "कान्तिपुरमा जारी आन्दोलनअन्तर्गत भएको सांकेतिक विरोध हो", कान्तिपुरका पत्रकार दामोदर न्यौपानेले श्रमजीवी पत्रकार संघको फेसबुक लाइभमा भनेका छन् ।
कान्तिपुर आन्दोलन संयोजन समितिका संयोजक टीकाराम प्रधानले कान्तिपुरलाई ऐन कार्यान्वयन गर्न साङ्केतिक रुपमा कान्तिपुर मुख्यालय आसपासका क्षेत्रमा एक रुपैयाँ उठाइएको बताए ।
'भएन श्रमको सम्मान, कान्तिपुरलाई एक रुपैयाँ दान' लेखिएको प्लेकार्डसहित पत्रकारहरूले कान्तिपुर पब्लिकेसन्स लिमिटेडको कार्यालय आसपासका पसलहरू, सडक व्यापारी तथा बटुवाहरूसँग रकम सङ्कलन गरेका थिए ।
पत्रकार अतुल मिश्रले कान्तिपुरले आर्थिक अवस्था नाजुक भएको दाबी गरेकाले श्रमजीवी ऐन कार्यान्वयन गर्न सहयोग पुगोस् भन्नका लागि साङ्केतिक कार्यक्रम गरिएको बताए ।
कान्तिपुरले निष्कासनपछि आन्दोलित तथा हाल कार्यरत पत्रकारहरूलाई मासिक पारिश्रमिक नदिएको १०० दिन नाघेको छ ।
कान्तिपुर पब्लिकेसन्सले वार्ताका लागि आह्वान गर्दै पत्र पठाएपछि महासंघले वार्ताको वातावरण बनाउन भन्दै मङ्गलबारको कार्यक्रम स्थगन गर्ने सूचना जारी गरेको थियो । कान्तिपुरका पत्रकारहरूले भने महासंघको कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
जन्मदेवको मोबाइल कब्जामा लिएको आरोप
यसैबीच, कान्तिपुरलाई एक रुपैयाँ सहयोग कार्यक्रमका क्रममा कान्तिपुर पब्लिकेसन्सका मानव संशाधन विभागका प्रमुख पुष्पराज गिरीले श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीको मोबाइल कब्जामा लिएको पत्रकारहरूले आरोप लगाएका छन् ।
रकम सङ्कलनदेखि बुझाउँदासम्मको भिडियो लाइभ गरेर सक्ने बेलामा गिरीले मोबाइल खोसेको पत्रकारहरूको आरोप छ । गिरीसँग प्रतिक्रिया लिने हाम्रो प्रयास फोन नउठेपछि सफल हुन सकेन ।
जैसीले मङ्गलबार साँझ महानगरीय प्रहरी वृत्त सिंहदरबारमा 'लुटिएको मोबाइल फिर्ता गराई पाउँ' भन्दै निवेदन पनि दिएका छन् ।
"न्याय माग्ने पत्रकारमाथि दुर्व्यवहार भयो", जैसीले अर्का एक पत्रकारको फोनबाट मिडिया कुराकानीसँग भने, "मेरो मोबाइलमा भएका व्यक्तिगत गोपनीयताका सामग्री डिलिट गरिदिन्छु भनेर मोबाइल कब्जामा लिइएको छ । मैले कारबाहीका लागि निवेदन दिएको छु ।"
वृत्तका डिएसपी चक्रबहादुर शाहले मोबाइल फिर्ता माग्दै उजुरी परेको पुष्टि गरे ।
अपडेटः प्रहरीले गिरीबाट जैसीको मोबाइल फिर्ता ल्याएको छ ।