By Nepalfactcheck.org
केही अनलाइन मिडियासहित सामाजिक सञ्जालमा नेपालको यति एयरलाइन्स विश्वकै चढ्न नहुने, असुरक्षित एयरलाइन्सको सूचीमा परेको खबर भाइरल भएको छ । ती समाचारमा दावी गरिए अनुसार एयरलाइन्सरेटिङ्ग्समा सात स्टार मध्ये तीनभन्दा कम रेटिङ पाउने विश्वका तीन एयरलाइन्समध्ये एकमा यति परेको हो ।
तर हाम्रो तथ्यजाँचमा यो दावी भ्रामक देखियो । एयरलाइन्सरेटिङ्ग्सले नेपाल एयरलाइन्सबाहेक नेपालका अरु कुनै पनि एयरलाइन्सको रेटिङ गरेको देखिएन । इयुको प्रतिबन्ध सूचीमा भने यति एयरलाइन्समात्र हैन, नेपालका सबै एयरलाइन्स समेटिएको छ ।
के छ दावी ?
१९ लाख फलोअर्स भएको सूत्रन्युज नामको फेसबुक पेजले जनवरी ९ मा ‘विश्वमै अति असुरक्षित विमान कम्पनी’ लेख्दै एउटा पोस्ट फेसबुकमा सेयर गरेको छ जसमा सूत्रन्युज डट कममा प्रकाशित ‘यति एयरलाइन्स : विश्वमै अति असुरक्षित विमान कम्पनी !’ शीर्षकको समाचारको लिङ्क छ । जनवरी १७ सम्म यो पोस्टमा २ हजार रियाक्सन, १५५ कमेन्ट र १ सय पटक सेयर गरिएको छ ।

सूत्रन्युजको फेसबुक पेजको स्क्रिनसट । फेसबुक पेज लिङ्क । अर्काइभ लिङ्क
समाचारमा दावी गरिएको छ- ‘विश्वका जोखिमपूर्ण तीन एयरलाइन्स भित्र नेपालको यति एयरलाइन्स अति जोखिम हुने कम्पनी भित्र परेको उड्डयन सम्बन्धि समाचार प्रकाशन गर्ने टकर न्युज डट कोले उल्लेख गरेको छ ।’ सूत्रन्युजको समाचार अर्काइभ लिङ्क ।

रुटिन अफ सेयर मार्केट फेसबुक पेजको स्क्रिनसट । फेसबुक लिङ्क । अर्काइभ लिङ्क ।
त्यसैगरी ‘रुटिन अफ सेयर मार्केट’ नामको फेसबुक पेजले पनि ‘यती एयरलाइन्सका यात्रु १००% असुरक्षित, २०२४ मा चढ्न नहुने तीन विश्वका एयरलाइन्स सूचीमा नेपालको यती एयरलाइन्स !’ शीर्षकमा एउटा पोस्ट राखेको छ जसमा यो फ्याक्ट चेक गर्दासम्म ११ सय रियाक्सन, ११० सेयर र २९ कमेन्ट छन् । उक्त पोस्टमा अर्थकागज डट कममा प्रकाशित सोही शीर्षकको समाचारको लिङ्क राखिएको छ ।
अर्थकागज डट कममा प्रकाशित समाचारमा पनि ‘टकरन्युज डट को’को समाचारलाई आधार बनाइएको छ । हेर्नुस् अर्थकागजमा प्रकाशित समाचारको स्क्रिनसट ।

समाचारको लिङ्क ।अर्काइभ लिङ्क ।
नेपालप्रेसले पनि पुस २४ गते (जनवरी ९) मा ‘२०२४ मा चढ्न नहुने तीन विश्वका एयरलाइन्स सूचीमा पर्यो नेपालको यती एयरलाइन्स’ शीर्षकको समाचार राखेको थियो । प्रकाशन भएको केही समयमा नै हटाइएको सो समाचारको अर्काइभ हेर्न यहाँ क्लिक गर्नुस् ।
सो समाचारमा पनि ‘टकरन्यूज डट कोले एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर बनाइएको सूचीमा यती एयरलाइन्स पनि परेको’ दावी गर्दै ‘सात स्टारमा तीनभन्दा कम ल्याउने तीन एयरलाइन्समा यती परेको’ लेखिएको छ ।
नेपालप्रेसमा प्रकाशित समाचारको अर्काइभ स्क्रिनसट ।
के हो तथ्य ?
यसको तथ्य जाँचका लागि हामीले नेपाली अनलाइन न्युजपोर्टलहरुमा प्रकाशित समाचारले स्रोत बनाएको ‘टकरन्युज डट को’ मा प्रकाशित समाचार खोज्यौँ । केही अनलाइनहरुले लिङ्कब्याक राखेको कारण पनि हामीलाई ओरिजिनल सोर्समा पुग्न गाह्रो भएन ।
समाचार टकरन्युजमा नभई टिकरन्युज (tickernews.co) मा प्रकाशन भएको हामीले पायौँ ।
टिकरन्युजमा जनवरी ८ मा ‘Worst airlines to avoid in 2024’ शीर्षकमा समाचार प्रकाशन भएको छ । टिकरन्युजले airlineratings.com ले एयरलाइन्सहरुको सुरक्षा मापदण्डलाई मूल्याङ्कन गर्दै दिने सात स्टारको रेटिङमा तीन वटा एयरलाइन्सले तीन भन्दा तल स्टार मात्रै पाएको उल्लेख छ । टिकरन्युजका अनुसार यस्ता एयरलाइन्समा इन्डोनेसियाको लायन एयर, नेपालको यति एयरलाइन्स र पपुआ न्युगिनीको पिएनजी एयर पर्छन् ।
टिकरन्युजमा प्रकाशित समाचारको स्क्रिनसट । अर्काइभ लिङ्क ।
हामीले टिकरन्युजको वेबसाइटलाई ध्यानसँग केलायौँ । यो न्युजपोर्टल कहाँबाट सञ्चालित, यसमा को को छन्, कार्यालयको मोबाइल वा फोन सम्पर्क ठेगाना केही पनि उल्लेख भएको देखेनौँ ।
त्यसपछि हामी टिकरन्युजमा प्रकाशित समाचारले स्रोत बताएको airlineratings.com मा गयौँ । यो वेबसाइटको सेफ्टी रेटिङ टुल (https://www.airlineratings.com/safety-rating-tool/) मा विश्वका विभिन्न एयरलाइन्सको नाम र सात वटा स्टारको रेटिङ राखिएको छ । हामीले त्यसमा नेपाल देशको एयरलाइन्स हेर्न खोज्दा यस्तो भेटियो-

एयरलाइनरेटिङ्गसको स्क्रिनसट ।
यसमा नेपालको नेपाल एयरलाइन्सको सात स्टारमा एक स्टारमात्र रेटिङ देखिएको छ ।
हामीले त्यसैमा यति एयरलाइन्स टाइप गरेर खोज्यौँ, तर देखिएन ।

नेपाल एयरलाइन्सबाहेक अरु कुनै पनि एयरलाइन्सको रेटिङ्ग्स त्यसमा गरेको भेटिएन ।
टिकरन्युजले सातमा तीनभन्दा कम स्टार मात्रै पाउने तीन वटा एयरलाइन्सको नाम मात्रै लेखेकोमा हामीले यसमा तीन भन्दा कम स्टार पाउने प्रशस्त एयरलाइन्स देख्यौँ । दुई स्टारमात्र पाउने एयरलाइन्सहरु ६ वटा छन्-

त्यसैगरी एक स्टार मात्रै पाउने एयरलाइन्स पनि नेपालको नेपाल एयरलाइन्समात्र नभएर विभिन्न देशका ८ एयरलाइन्स छन् ।

यद्यपि, युरोपियन युनियनले आफ्नो क्षेत्रमा उडान प्रतिबन्ध लगाएका एयरलाइन्सको सूचीमा भने यति एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्स परेका छन् । हेर्नुस् २०२३ नोभेम्बर ३० मा प्रकाशित पछिल्लो सूची । अर्काइभ लिङ्क ।


तथ्य जाँच
दावी : यति एयरलाइन्स विश्वकै ‘चढ्न नहुने’, अति असुरक्षित एयरलाइन्सको सूचीमा परेको छ ।
दावीकर्ता : टिकरन्युज, सूत्रन्युज, अर्थकागज
तथ्य : भ्रामक सूचना । नेपाली अनलाइन न्युजपोर्टलहरुले टिकरन्युजलाई र टिकरन्युजले एयरलाइनरेटिङ्ग्सलाई स्रोत बताएको छ । तर एयरलाइनरेटिङ्ग्सले भने यति एयरलाइन्सलाई सूचीकृत नै गरेको छैन । नेपालको नेपाल एयरलाइन्सलाई बाहेक अरु कुनै पनि एयरलाइन्स त्यसमा सूचीकृत छैन । यद्यपि उडान सुरक्षा समेतलाई ध्यानमा राख्दै युरोपियन युनियनले आफ्नो एयरस्पेसमा उडान प्रतिबन्ध लगाएका एयरलाइन्सको सूचीमा यति एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्स पनि पर्छन् ।
First Published by Nepalfactcheck.org