फुटबल मैदान बनाउन लागेको विरोधमा खुलामञ्चमा भएको प्रदर्शन भनिएको फोटो चार वर्ष पुरानो

फुटबल मैदान बनाउन लागेको विरोधमा खुलामञ्चमा भएको प्रदर्शन भनिएको फोटो चार वर्ष पुरानो

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्‍विटरमा राखेको पहिलाको फोटो ।
  • माघ ७, २०८० आइतबार २३:३२

By Umesh Shrestha/NepalFactCheck.org


काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने तयारी गरेको विरोधमा शुक्रबार (जनवरी १९, माघ ५) खुलामञ्चमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, नेताहरु भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायतले प्लेकार्डसहित प्रदर्शनमा उत्रिएको दावीसहित फोटोसहितका समाचार केही अनलाइन मिडियामा आएका छन्।

तर हाम्रो तथ्य जाँचले ती फोटो चार वर्ष पुरानो भएको देखिएको छ। 

मिडियामा गरिएको दावी

अनलाइन न्युजपोर्टल रातोपाटीले ‘बाबुराम र रविले एकै ठाउँमा उभिएर भने – खुलामञ्च खुला रहन देऊ’ शीर्षकमा शुक्रबार राखेको फोटोसहितको समाचारमा लेखिएको छ- काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने तयारीको विरोध भएको छ । खुल्लामञ्चलाई खेलमैदान बनाउने महानगरको नीतिविरुद्ध स्थानीय बासिन्दा र संरक्षणकर्मी उभिएका छन्। शुक्रवार पूर्व प्रधामन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेताहरू भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायत विरोध प्रदर्शनमा उत्रिए । खुलामञ्च खुला रहन देऊ, पुर्खाको नासो, जनताको हक लगायत नारा लेखिएका पम्पलेट बोकेर उनीहरुले विरोध जनाएका हुन् ।

रातोपाटीको फेसबुक पेजमा यो समाचारको लिङ्कसहित गरिएको पोस्टमा २२ सय रियाक्सन छन् भने ४३६ कमेन्ट र २३ सेयर देखिएको छ। हेर्नुस् समाचारको अर्काइभ लिङ्क। 

त्यसैगरी सूत्रन्युज अनलाइनले पनि ‘खुलामञ्चलाई खेल मैदान बनाउने निर्णयविरूद्ध उभिए रवि र बाबुराम, के गर्लान् बालेन ?’ शीर्षकको समाचारमा लेखेको छ- ‘…काठमाडौंको खुल्ला मञ्चलाई फुटबल मैदान बनाउने तयारीविरुद्ध पूर्वप्रधानमन्त्री भट्टराई र रास्वपा सभापति लामिछाने प्ले कार्डसहित प्रदर्शन गर्दै खुल्ला मञ्चमा उभिन पुगेका हुन्…. लामिछाने शाहको विरुद्धमा टुँडिखेलमा प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिनुलाई अर्थपूर्ण मानिएको छ।’ हेर्नुस् समाचारको अर्काइभ लिङ्क। 

त्यसैगरी अर्को अनलाइन नयाँपेजले ‘बाबुराम र रवि एकै ठाउँ उभिएर भने–खुला मञ्च खुला रहन देऊ, फुटबल मैदान नबनाऊ’ शीर्षकमा फोटोसहितको समाचार राखेको छ। समाचारमा लेखिएको छ- आज (शुक्रबार) पूर्व प्रधामन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेताहरू भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमलालगायत विरोध प्रदर्शनमा उत्रिएका छन् । खुलामञ्च खुला रहन देऊ, पुर्खाको नासो, जनताको हकलगायत नारा लेखिएका पम्पलेट बोकेर उनीहरुले विरोध जनाएका हुन् । हेर्नुस् अर्काइभ लिङ्क।

यही फोटोसहितको समाचार अरु केही अनलाइनहरुमा पनि आएका छन्-

बाबुराम र रविले भने- खुला मञ्च खुला रहन देऊ, फुटबल मैदान नबनाऊ (समुद्रपारी डट कम)

खुलामञ्चलाई फुटबल मैदान नबनाउ भन्दै बाबुराम र रविले एकै साथ चाले यस्तो कदम (खबरसेन्टर डट कम)

के हो तथ्य ?

यसको तथ्य जाँचका लागि हामीले अनलाइन मिडियामा आएको फोटोलाई गुगलबाट रिभर्स इमेज सर्च गरी खोजी हेर्‍यौँ। यो क्रममा हामी माइरिपब्लिकाको २०१९ नोभेम्बर ९ तारिखमा प्रकाशित यो समाचारमा आइपुग्यौँ-

सार्वजनिक भूमिमा बढ्दो अतिक्रमणले खुला ठाउँ खुम्चिन थालेको विरोधमा चार वर्षअघि ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु हुँदा समाचारमा रहेको फोटो र शुक्रबार खुलामञ्चमा फुटबल मैदान बनाउन लागेको विरोधमा भएको प्रदर्शन दावी गर्दै प्रकाशित फोटो हुबहु देखियो। हेर्नुस् माइरिपब्लिकाको समाचारको अर्काइभ लिङ्क। 

माइरिपब्लिकाले फोटोको स्रोत समाजवादी पार्टी/ट्विटर उल्लेख गरेको देखेपछि हामीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको एक्स (पहिलेको ट्विटर) अकाउन्टमा यही फोटो खोज्यौँ।

नोभेम्बर ९, २०१९ मा नेपाल समाजवादी पार्टीको एक्स अकाउन्ट @SPONepal मा तीन वटा फोटो पोस्ट गरिएकोमा यही फोटो पनि रहेको हामीले देख्यौँ-

 

यही पुरानो फोटो राख्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार (जनवरी १९) मा ‘खुलामञ्चलाई खुलै रहन दिउँ’ लेख्दै एक्समा पोस्ट गरेका थिए

अकुपाई टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले  खुलामञ्चमा दुई वटा फुटबल मैदान बनाउन लागेको जानकारी प्राप्त भएको भन्दै स्थानीय सरकारलाई फुटबल मैदान आवश्यक लागेमा रङ्गशाला (पूर्ण टुँडिखेलको भाग) वा सानो टुँडिखेल प्रयोग गर्न सकिने भएकोले खुलामञ्चलाई पूर्ण रुपमा खुल्ला नै राख्न आग्रह गर्दै पुस २९ गते विज्ञप्ति सार्वजनिक गरेका थिए। उक्त विज्ञप्ति एक्समा पनि राखिएको छ।

यसबाहेक अकुपाई टुँडिखेलले टुँडिखेलमा विरोध प्रदर्शनको कुनै कार्यक्रम गरेको देखिएको छैन। अतः चार वर्षअघि अकुपाई टुँडिखेल अभियान सुरु हुँदाको फोटोलाई अहिले बाबुराम भट्टराईले गरेको ट्विटसँग जोडेर भ्रामक सूचना सम्प्रेषण भएको निश्कर्षमा हामी पुग्यौँ।

तथ्य जाँच

दावी : काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने तयारी गरेको विरोधमा शुक्रबार (जनवरी १९, माघ ५) खुलामञ्चमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, नेताहरु भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायतले प्लेकार्डसहित प्रदर्शन गरे।

दावीकर्ता : रातोपाटी, सूत्रन्युज, नयाँपेज, समुद्रपारी, खबरसेन्टर।

तथ्य : भ्रामक सूचना। समाचारमा प्रकाशित फोटो चार वर्षअघि अकुपाई टुँडिखेल अभियान सुरु हुँदाताकाको हो। बाबुराम भट्टराईले  खुलामञ्चलाई खुला राख्न अनुरोध गर्दै पुरानो फोटो ट्विट गरेका हुन्। तर मिडियाले शुक्रबार विरोध प्रदर्शन गरिएको दावी गर्दै भ्रामक समाचार राखेको निश्कर्ष हाम्रो छ।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको