के हो पनौतीमा खिचेको दावी गरिएको बाघको फोटोको तथ्य?

के हो पनौतीमा खिचेको दावी गरिएको बाघको फोटोको तथ्य?

  • फाल्गुण १४, २०८० सोमबार १९:२१

By Raju Acharya/NepalFactCheck.org


के हो पनौतीमा खिचेको दावी गरिएको बाघको फोटोको तथ्य?

काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पनौतीको एउटा वनमा पाटे बाघको फोटो खिचेको दावीसहित राखिएको पोस्ट फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचले उक्त फोटो सम्पादन गरी राखेको देखिएको छ। वास्तविक फोटो पाँच वर्षअघि खिचेको पाइएको छ।

के छ भाइरल दावीमा ?

२०८० फागुन १२ गते पनौतीस्थित तेजगंगा क्याम्पसका प्रमुख अम्बु भवानी कार्की नामको फेसबुक प्रोफाइलमा एउटा फोटो पोस्ट भयो, जसमा क्याप्सन लेखिएको थियो, ‘पनौती थल्पु वनमा हिजो देखिएको पाटे बाघनजिक गएर खिच्न नसकेर जुम गरेर अलि टाढाबाट खिचेको दृश्य २०८० फागुन १२’

फेसबुक पोस्टको स्क्रिनसट। अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्

पोस्ट भएको १९ घण्टामा यो पोस्टमा २४४ रियाक्सन, ९३ कमेन्ट र १६ सेयर देखिन्थ्यो।

उक्त पोस्ट छिट्टै नै वन्यजन्तुसम्बन्धी चर्चा हुने फेसबुक ग्रुपहरुमा पनि भाइरल भयो। ‘भ्वाइस अफ नेचर’ फेसबुक ग्रुपमा केहीले यो पोस्टको सत्यतामा शंका गरे।

यसै क्रममा वन अधिकृत कुशराज गोलेले किटानीका साथ उक्त फोटो बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व कर्मचारी इन्द्र जैसीले बर्दियामै सन् २०१९ को मेमा खिचेको दावी गरे।

हामीले गोलेसित यसको ओरिजिनल फोटो उपलब्ध गराउन आग्रह गर्‍यौँ। उनले त्यतिबेला खिचेका तीन वटा फोटोहरु पठाए।

पहिलो फोटो (5.2 mb)

दोस्रो फोटो (5.4 mb)

तेस्रो फोटो (4.4 mb)

हामीले तेस्रो फोटोलाई ध्यान दिएर हेर्‍यौँ। यस्तो छ तेस्रो फोटो-

हामीले भाइरल फोटोलाई अनलाइन फोटो एडिटर टुलबाट हल्का उज्यालो बनाई हेर्‍यौँ र त्यसलाई ओरिजिनल फोटोसँग तुलना गर्‍यौँ-

हामीले फोटो पत्रकार क्लब (पीजे क्लब नेपाल) का पूर्व अध्यक्ष तथा अनुभवी फोटो पत्रकार विकास कार्कीलाई दुवै फोटो देखाएर यी फोटो एउटै हुन् कि हैनन् भनी सोध्यौँ।

उनले दुवै फोटो एउटै भएको बताए।

उनले भाइरल फोटोमा देखिएको बुट्यान, बाघ र बुट्यानको दूरी, बाघको जिउमा देखिएको लाइटिङ हुबहु भएको प्रष्ट पार्दै ओरिजिनल फोटोलाई सम्पादन गरेर भाइरल बनाइएको प्रष्ट पारे।

‘दुई फोटो फरक भएको भए यति धेरै समानता हुने थिएन’, कार्की भन्छन्।

दुई फोटो समान भएको निश्कर्षमा पुगेपछि हामीले ओरिजिनल फोटो कहाँ र कहिले खिचिएको हेर्ने प्रयास गर्‍यौँ। यसका लागि हामी पिकटुम्याप डट कममा गयौँ।

फोटोमा जिपिएस लोकेशन नभएकोले मेटाडेटाबाट हामीले यो फोटो कुन ठाउँमा खिचिएको प्रमाणित रुपमा पुष्टि गर्न त सकेनौँ तर क्यानन पावरसट क्यामेराबाट २०१९ को मे ११ तारिखमा खिचेको पुष्टि गर्न सक्षम भयौँ।

भाइरल भएको पोस्टमा गरिएको दावीभन्दा पाँच वर्ष अघि वास्तविक फोटो खिचेको देखिएको हुनाले उक्त फोटोमा गरिएको दावी मिथ्या भएको निश्कर्षमा हामी पुग्यौँ।

तथ्य जाँच

दावी :  पनौतीको थल्पु वनमा २०८० फागुन १२ गते पाटे बाघ देखिएको दावीसहितको फोटो।

दावीकर्ता : अम्बु भवानी कार्की।

तथ्य : मिथ्या सूचना। उक्त फोटो बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व कर्मचारी इन्द्र जैसीले सन् २०१९ को मे ११ तारिखमा खिचेको दावी वन अधिकृत कुशराज गोलेले गरे। हामीले फोटोको प्राविधिक विश्लेषण र मेटाडेटाबाट दुवै फोटो एउटै भएको र फोटो पुरानो भएको फेला पार्‍यौँ। तसर्थ भाइरल दावी मिथ्या भएको निश्कर्ष हाम्रो रह्यो।


Related Story

एआई निर्मित तस्बिरले न्यूज एजेन्सीदेखि अनलाइनसम्म यसरी झुक्किए

टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान

'डिपफेक' देखि 'चिपफेक' सम्मः चुनावको बेला फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण

निर्वाचन अवधिमा फैलिएका मिथ्या सूचनाको प्रारम्भिक विश्लेषण शाहरुख खान र अमिताभ बच्चनले नेपाली उम्मेदवारको प्रचार गर्दैछन् ? बालेनकी पत्नी क्रिस्चियन हुन्

२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

सुरज घिमिरे/NepalFactcheck २०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्?

के बालेन र रविले संयुक्त हस्ताक्षरमा मोदीलाई पत्र लेखेका हुन्? NepalFactCheck.org को तथ्यजाँचः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ

के बालेनको फेसबुक स्टाटस एआईले लेखेको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा क्षेत्र ५ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले

गगन थापालाई जनताले लखेटे भन्दै भाइरल फोटोको बास्तविकता

नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि

केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

दीपक अधिकारी/NepalCheck- फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल

अस्पतालमा रवि लामिछानेः घटना सही तर फोटो एआई जेनेरेटेड

टेकमान शाक्य/नेपाल तथ्यजाँच अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको