सामाजिक सञ्जाल विधेयक: नागरिक अभिव्यक्तिमाथि अंकुशको डर

सामाजिक सञ्जाल विधेयक: नागरिक अभिव्यक्तिमाथि अंकुशको डर

  • फाल्गुण ५, २०८१ सोमबार ००:४२

सरकारी विभागको एकल निर्णयबाट इन्टरनेटमा नागरिकको आवाज बन्द गर्ने खतरनाक प्रावधान


सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनलाई नियमन गर्ने उद्देश्यले सरकारले हालै संसदमा पेश गरेको सामाजिक सञ्जाल विधेयक २०८१ माथि सरोकारवालाले असन्तुष्टि जनाएका छन् । तर सरकार भने विधेयक पास गरेरै छोड्ने अडानमा छ ।

सरोकारवालाहरूले विधेयकका विवादित प्रावधानहरू पहिचान गरी सुझाव दिइरहेकै छन् । सेन्टर फर मिडिया रिसर्च र डिजिटल राइट्स नेपालले दिएका सुझावहरूका आधारमा तयार पारिएका सामग्रीहरू यहाँ पढ्नुहोस्

विधेयक निर्माणका क्रममा सरकारले UNESCO को डिजिटल प्लेटफर्म सम्बन्धी मार्गदर्शनलाई आधार मान्ने अनौपचारिक प्रतिबद्धता जनाएको थियो । तर लोकतन्त्रका मूलभूत अधिकारहरूबारे विश्वभर कानुनी विज्ञता प्रदान गर्ने संस्था सेन्टर फर ल एण्ड डेमोक्रेसीको विश्लेषण अनुसार यो विधेयक UNESCO को मार्गदर्शनसँग मेल खाँदैन । 

Prithvi Subba Gurung.jpg

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा पेस गरेको सामाजिक सञ्जाल विधेयक २०८१ का प्रावधानहरूले इन्टरनेटमा स्वतन्त्र अभिव्यक्तिमाथि कडा सेन्सरसिप लगाउने खतरा देखिएको छ ।


विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्महरूको दर्ता, नियमन र सामग्री नियन्त्रणका प्रावधान प्रस्तावित छन् । यी प्रावधानहरू अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अधिकार र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल नखाने सेन्टर फर ल एण्ड डेमोक्रेसीले उल्लेख गरेको छ । उसको विश्लेषणअनुसार विशेषगरी नियामक संरचना, सामग्री नियन्त्रण र दण्ड व्यवस्थामा गम्भीर समस्याहरू रहेका छन् । विधेयकमा देखिएका मुख्य समस्याहरूलाई चार भागमा बाँडेर प्रतिवेदनमा चर्चा गरिएको छ ।   

१. नियमनको संरचनागत समस्या

विधेयकले सूचना प्रविधि विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई व्यापक नियामकीय अधिकार दिएको छ । "यस्तो संवेदनशील विषयमा सरकारी निकायलाई सिधै नियामक बनाउनु अन्तर्राष्ट्रिय मान्यता विपरीत हो", विश्लेषण प्रतिवेदनमा उल्लेख छ, "स्वतन्त्र नियामक निकायको अभावमा सरकारी हस्तक्षेपको जोखिम बढ्छ ।" विशेषगरी सामग्री हटाउने, जरिवाना गर्ने र दर्ता खारेज गर्ने जस्ता महत्वपूर्ण अधिकारहरू विभागलाई प्रदान गरिनु अनुचित छ ।

२. दायरा र परिभाषाको समस्या

विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्मको परिभाषा अत्यन्त फराकिलो भएको प्रतिवेदनको ठहर छ । "यसले प्रयोगकर्ताबीच सूचना र विचार आदानप्रदान हुने सबै डिजिटल प्लेटफर्महरूलाई समेट्छ", प्रतिवेदनमा भनिएको छ, "यसअन्तर्गत सञ्चारमाध्यमका वेबसाइट, ब्लग र नागरिक समाजका वेबसाइटहरू पनि पर्न सक्छन् ।" साथै नेपालसँग कुनै सम्बन्ध नभएका विदेशी वेबसाइटहरूलाई पनि दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । प्रयोगकर्ताको परिभाषा पनि अस्पष्ट रहेको र सामग्री साझा गर्ने तथा टिप्पणी गर्ने जस्ता सामान्य क्रियाकलापलाई पनि समान रूपमा नियमन गर्न खोजिएको प्रतिवेदनको निष्कर्ष छ ।

३. सामग्री नियन्त्रणको समस्या

विधेयकमा विभाग र द्रुत प्रतिक्रिया टोली (RRT) लाई कुनै पनि सामग्री हटाउन आदेश दिने अधिकार दिइएको छ । यो अधिकार न्यायिक निरीक्षणबिना प्रयोग गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । साथै "राष्ट्रिय एकता", "राष्ट्रिय हित" र "सामाजिक सद्भाव" जस्ता अस्पष्ट आधारमा सामग्री नियन्त्रण गर्न सकिने प्रावधान छ । यसले अभिव्यक्ति स्वतन्त्रतामाथि अनावश्यक अंकुश लगाउन सक्ने प्रतिवेदनमा चेतावनी दिइएको छ ।

४. दण्ड व्यवस्थाको समस्या

विधेयकमा अनुपातहीन र विभेदकारी दण्डको व्यवस्था छ । सामाजिक सञ्जाल मार्फत कसुर गरेको भन्दै थप एक वर्ष कैद सजाय थप्ने, पटक-पटकको कसुरमा दोब्बर सजाय दिने र सरकारी सुविधा पाएका व्यक्तिलाई ५०% बढी सजाय दिने जस्ता प्रावधानहरू छन् । यस्ता व्यवस्थाले समान व्यवहारको सिद्धान्त र अन्तर्राष्ट्रिय मापदण्डको उल्लंघन गर्ने प्रतिवेदनमा उल्लेख छ ।  

के छन् विधेयकमा सुझाव ?

विधेयकमा देखिएका समस्याहरूको समाधानका लागि सुझाव पनि दिइएको छ ।

१. संरचनागत सुधार

सामाजिक सञ्जाल प्लेटफर्म वा सञ्चालक कम्पनीहरूलाई व्यवस्थित गर्न स्वतन्त्र नियामकीय निकाय स्थापना गर्न प्रतिवेदनमा सुझाइएको छ । उक्त निकाय स्वायत्त र सरकारी हस्तक्षेपबाट मुक्त हुनुपर्ने र विभाग र मन्त्रालयमा रहेका सबै नियामकीय अधिकारहरू उक्त स्वतन्त्र निकायमा हस्तान्तरण गर्न सुझाव दिइएको छ । यस्तै, नियामकीय निकायका निर्णयउपर पुनरावेदन मन्त्रालयमा नभई अदालतमा जाने व्यवस्था गर्न र उक्त निकायको जवाफदेहिता सुनिश्चित गर्न संसदीय निगरानीको व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।

२. कानुनी दायरामा सुधार

सामाजिक सञ्जाल प्लेटफर्मको परिभाषा संकुचित गरी नेपालसँग पर्याप्त सम्बन्ध भएका र न्यूनतम आकारका प्लेटफर्महरूलाई मात्र समेट्न सुझाव दिइएको छ । यस्तै, प्लेटफर्महरूको दर्ता प्रणाली हटाउने वा पूर्ण पुनर्संरचना गर्नुपर्ने, प्रयोगकर्ताको भूमिकाअनुसार फरक-फरक जिम्मेवारी तोक्नुपर्ने तथा साना प्लेटफर्महरूलाई केही दायित्वहरूबाट छुट दिनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।

३. सामग्री नियन्त्रणमा सुधार

सामग्री हटाउने अधिकार अदालतमा मात्र सीमित गर्न सुझाव दिइएको छ । विभाग वा RRT ले शंकास्पद सामग्रीबारे अदालतमा निवेदन दिन सक्ने व्यवस्था गर्नुपर्ने, सामग्री नियन्त्रणका लागि स्पष्ट र अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका आधारहरू तोक्नुपर्ने र प्लेटफर्महरूलाई आफ्नै नीतिअनुसार सामग्री व्यवस्थापन गर्ने स्वायत्तता दिनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।

४. दण्ड व्यवस्थामा सुधार

सामाजिक सञ्जाल प्रयोग गरेकै आधारमा थप सजायको व्यवस्था हटाउनुपर्ने, दोहोरो दण्डको प्रावधान हटाउनुपर्ने, सरकारी सुविधा पाएका व्यक्तिलाई बढी सजाय दिने विभेदकारी व्यवस्था हटाउनुपर्ने तगा कसुरको गम्भीरता र वास्तविक क्षतिको आधारमा मात्र सजाय तोक्ने व्यवस्था गर्न सुझाइएको छ । 

अन्तर्राष्ट्रिय मापदण्ड र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तसँग मेल नखाने भएकोले सरोकारवालाहरूसँग व्यापक परामर्श गरेर मात्र विधेयक अघि बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । खासगरी, प्लेटफर्म सञ्चालक, नागरिक समाज र विज्ञहरूसँग थप छलफल गर्नुपर्ने, अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गर्नुपर्ने र UNESCO को मार्गदर्शनको पूर्ण अनुसरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, प्लेटफर्महरूको वर्गीकरण र क्षमताअनुसार दायित्व निर्धारण गर्न, स्वतन्त्र नियामक निकायको संरचना र कार्यविधि निर्माण गर्न र न्यायिक निरीक्षणको प्रभावकारी संयन्त्र विकास गर्न सुझाइएको छ । मौलिक अधिकारको संरक्षणका लागि अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, डिजिटल अधिकारको प्रत्याभूति र प्रयोगकर्ताको गोपनीयताको संरक्षण गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।


Related Story

डलरको लोभमा फेसबुक रिलमार्फत साम्प्रदायिक विद्वेषको खेती

काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल ठहर गरेका कुल ९० वटा सामग्रीमध्ये ६२ वटा त फेसबुक रिल मात्रै रहेका छन् । प्रेस काउन्सिल

काठमाडौंमा डिजिटल प्लाटफर्म सुशासनसम्बन्धी क्षेत्रीय कार्यशाला, दुई टुलकिट अनुमोदन

दक्षिण एसियामा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सुदृढ गर्ने उद्देश्यले काठमाडौँमा आयोजित 'डिजिटल प्लाटफर्मको सुशासनका लागि युनेस्को निर्देशिका कार्यान्वयन' सम्बन्धी

Why Social Media Makes You Angry?

सोसल मिडियाका कतिपय सामग्रीले हामीलाई किन आक्रोषित बनाउँछ भनेर कहिल्यै सोच्नुभएको छ ? हेर्नेबित्तिकै रिस उठाउने यस्ता पोस्टको असर समाजमा कस्तो

जेन जी आन्दोलन: सूचना रिक्ततादेखि सूचना महामारीसम्म

मुलधारका मिडियाले सामाजिक सञ्जालका दृश्य सामग्रीलाई सम्पादन र विश्लेषण नगरी सीधै प्रसारण गरेपछि नागरिकलाई सत्य र झूठ छुट्याउन गाह्रो भयो भदौ

सोसल मिडिया प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय, सूचिमा फेसबुकदेखि हाम्रोपात्रोसम्म

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गरी

३० दिनपछि स्वतः हट्दैछन् फेसबुकका लाइभ भिडियो, जोगाउन के गर्ने ?

फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । अर्थात्, लाइभ गरेको ३० दिनपछि जुनसुकै भिडियो फेसबुकको

इन्टरनेट सेन्सरसिपको हतियार बन्न सक्छ सामाजिक सञ्जाल विधेयक

सरकारले प्रस्ताव गरेको सामाजिक सञ्जाल विधेयक २०८१ ले इन्टरनेटमा स्वतन्त्र अभिव्यक्ति, सञ्चारको हक र गोपनीयताको अधिकारमा गम्भीर सेन्सरसिप लगाउने खतरा

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए पत्रकार महासंघ आन्दोलनमा उत्रने

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता कुण्ठित पार्ने सामाजिक सञ्जाल विधेयक तत्काल फिर्ता लिन माग गर्दै विधेयक फिर्ता नभए आन्दोलनमा उत्रने