By: वसन्त खड्का/NepalFactCheck.Org
पूर्व राजा ज्ञानेन्द्र शाह पोखराको भ्रमण सकेर आइतबार (फागुन २५, २०८१) मा काठमाडौँ फर्किने क्रममा उनको स्वागतको तयारी भइरहेका बेला एक सामग्री सामाजिक सञ्जालमा भाइरल भयो। उक्त सामग्रीमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको फोटो राखेर सेनाको नाममा एक दाबी गरिएको थियो।
तर, हाम्रो तथ्य जाँचबाट उक्त सामग्री पूर्ण रूपमा गलत रहेको पुष्टि भएको छ।
के छ भाइरल सामग्रीमा ?
सामाजिक सञ्जाल फेसबुकमा ७ लाख ३६ हजार फलोअर्स रहेको ‘दैनिक खबरहरुको संगालो’ नाम गरेको पेजबाट आइतबार बिहान (मार्च ९, २०२५) मा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको फोटोसहित एउटा सामग्री गर्यो।
त्यसमा भनिएको छ, ‘नेपाली सेनाले अन्ततः आफ्नो स्थिति स्पष्ट गरेको छ। हामी राष्ट्रको सेना हौँ, सरकारको सेना होइनौँ। भोलि जनताले जुन निर्णय गर्छन्, हामी मान्न तयार छौँ।’
मंगलबार दिउँसोसम्म यसका ५ हजार ३ सय रियाक्सन र ६०८ वटा कमेन्ट गरिएको छ भने १ हजार ७ सय पटक सेयर गरिएको छ।

भाइरल सामग्रीको स्क्रिनसट (माथि)। अर्काइभ लिङ्क।
यही सामग्रीलाई अन्य विभिन्न फेसबुक पेज, ग्रुप र अकाउन्टमार्फत् पनि सेयर गरिएको छ। हेर्नुहोस् उक्त सामग्रीको स्क्रिनरेकर्ड भिडियो
तथ्य के हो ?
भाइरल सामग्रीमा नेपाली सेनाको भनाइ दाबी गरिए पनि नेपाली सेनाले यस्तो कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
सामान्यतया, नेपाली सेनाले कुनै औपचारिक जानकारी प्रेस विज्ञप्ति वा पत्रकार सम्मेलनमार्फत मात्र सार्वजनिक गर्छ। भाइरल सामग्रीमा दाबी गरिएझैं कुनै आधिकारिक स्रोतबाट यस्तो बयान जारी भएको प्रमाण भेटिएन।
भाइरल भइरहेको सामग्री बारे हामीले नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीसँग जिज्ञासा राख्यौँ। उनले भाइरल सामग्रीमा सत्यता नरहेको र नेपाली सेनाले त्यस्तो कुनै भनाई सार्वजनिक नगरेको बताए।
प्रवक्ता केसीले कसैले सामाजिक सञ्जालमा हुँदै नभएको कुरा लेखेर पोस्ट गरेको र त्यही कुरा अरुले पनि सेयर गरेको हुनसक्ने बताए। ‘आधिकारिक सामग्रीका लागि हामीले विज्ञप्ति निकाल्छौँ। सामाजिक सञ्जालमा भाइरल भइरहेको सामग्री पूर्णतया: डिसइन्फरमेसन (दुष्सूचना) हो,’ प्रवक्ता केसीले भने।
तथ्य जाँच
दावी : प्रधानसेनापतिको फोटोसहित नेपाली सेनाको भनाई।
दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्य : मिथ्या सूचना। नेपाली सेनाले यस्तो कुनै औपचारिक भनाइ सार्वजनिक गरेको छैन। सेनाका प्रवक्ता गौरवकुमार केसीले भाइरल सामग्री डिसइन्फरमेसन (दुष्सूचना) रहेको बताए।