"स्काइप गरौँ !"
एक समय यो वाक्यांश संसारभर चल्ने गर्थ्यो ।
आजको दिनमा जुम, गुगल मिट वा माइक्रोसफ्ट टिम्समा केही क्लिकमा भर्चुअल मिटिङ्ग सम्भव छ । तर २० वर्ष अघिको अवस्था यति सजिलो थिएन । र, आजको दिनको सहज भिडियो कन्फरेन्सिङको श्रेय त्यही स्काइपलाई जान्छ । तर यो अग्रणी प्लेटफर्म अब इतिहासको पन्नामा सीमित हुँदैछ - माइक्रोसफ्टले २०२५ को मे ५ देखि स्काइप सेवा बन्द गर्ने घोषणा गरेको छ ।
२००३ को अगस्त २९ मा स्वीडेनका निक्लास जेनस्ट्रोम र डेनमार्कका जानस फ्रिसले "स्काइ पिअर टु पिअर" को सुरुवात गरेका थिए । यही लामो नामबाट "स्काइपर" हुँदै "स्काइप" नाम आएको हो । उनीहरूको लक्ष्य थियो- इन्टरनेट मार्फत निःशुल्क भिडियो कल सेवा प्रदान गर्ने ।
इस्टोनियाका प्रतिभाशाली डेभलपरहरू - आह्ती हेनला, प्रीत कासेसालु, र यान टाल्लिनको सहयोगमा यो सपना साकार भयो ।
त्यस समयमा अन्य भिडियो कन्फरेन्सिङ टुल्स अत्यन्त जटिल र महँगा थिए, मुख्यतया ठूला व्यवसाय र सरकारी संस्थाहरूको लागि मात्र उपलब्ध थिए ।
स्काइपले उक्त अवस्थालाई आमूल परिवर्तन गर्यो - आम मानिसहरूले विश्वभरका आफन्तहरूसँग निःशुल्क कुराकानी गर्न सक्ने बनाइदियो । विदेशमा फोन गर्दा शुल्क नलाग्ने अवधारणा स्काइप अघि अकल्पनीय थियो ।
स्काइपले बजारमा प्रवेश गरेपछि तत्कालीन परम्परागत टेलिकम कम्पनीहरूमा भूकम्प गयो । पारम्परिक अन्तर्राष्ट्रिय कलको महंगो शुल्क तिर्नुको विकल्प अब उपलब्ध थियो - इन्टरनेट जडान भएसम्म, जोसुकैसँग पनि फेस-टु-फेस कुरा गर्न सकिन्थ्यो ।
यो नवीन सुविधाले गर्दा स्काइप छिट्टै विश्वकै सबैभन्दा लोकप्रिय इन्टरनेट कलिङ सेवा बन्यो । यसको महत्त्व यति बढ्यो कि २०११ मा विख्यात टेक कम्पनी माइक्रोसफ्टले स्काइपलाई ८.५ बिलियन डलरमा अधिग्रहण गर्यो ।
समयसँगै, नयाँ खेलाडीहरू बजारमा आए - जुम, ह्वाट्सएप, गुगल मिट, र माइक्रोसफ्ट आफैले विकास गरेको टिम्स । यी प्लेटफर्महरूले बिस्तारै स्काइपलाई पछाडि पार्दै गए, विशेष गरी महामारीको समयमा रिमोट कामको आवश्यकतासँगै मानिसहरूले नयाँ फिचरसहितका सेवाहरू अपनाउँदै गए ।
अब माइक्रोसफ्टले आफ्नो रणनीतिक ध्यान बदलेर टिम्सलाई अघि बढाउने निर्णय गरेको छ । सन् २०२५ को मे ५ पछि, स्काइप सेवा सञ्चालनमा रहने छैन ।
तपाईँको स्काइप अब के हुन्छ ?
यदि तपाईं स्काइप प्रयोगकर्ता हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् किनभने स्काइप बन्द भएपछि, तपाईं स्काइपकै आईडी र पासवर्ड प्रयोग गरेर माइक्रोसफ्ट टिम्समा लगइन गर्न सक्नुहुनेछ । साथै, तपाईंको सबै च्याट हिस्ट्री र कन्ट्याक्ट्सहरू टिम्समा स्थानान्तरित हुनेछन् । माइक्रोसफ्टका अनुसार यदि तपाईं टिम्स प्रयोग गर्न चाहनुहुन्न भने, स्काइप बन्द हुनुअघि आफ्नो सबै डाटा एक्सपोर्ट गर्न सक्नुहुन्छ ।
"परिवर्तन चुनौतीपूर्ण हुन सक्छ । तर हामी हरेक कदममा प्रयोगकर्ताहरूसँग छौँ”, माइक्रोसफ्टले ब्लगमा उल्लेख गरेको छ, “हामी टिम्सले ल्याउने नयाँ अवसरहरूबारे उत्साहित छौं र तपाईंलाई अझै नयाँ र अर्थपूर्ण तरिकाले जोड्न प्रतिबद्ध छौं।"
तर, स्काइप क्रेडिट वा अन्तर्राष्ट्रिय कल सब्सक्रिप्सन जस्ता सशुल्क सेवाहरू अब नयाँ प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने छैनन् । पहिले नै सब्स्क्राइब गरिसकेका प्रयोगकर्ताहरूले अर्को बिलिङ साइकलसम्म ती सेवाहरू प्रयोग गर्न सक्नेछन् ।
पेड प्रयोकर्ताले सबै सेवाहरू स्काइपको वेब पोर्टल र टिम्सबाट लिन पाउने छन् भने नयाँ प्रयोगकर्ताले स्काइपको सुविधा टिम्समा पाउने छैनन् ।
आज जुम, टिम्स वा मिट जस्ता प्लेटफर्महरू लोकप्रिय भए पनि ती सबैको आधारशिला स्काइपले नै बसाएको हो ।
अलबिदा स्काइप - तिमीले संसारलाई जोड्यौ ।