कान्तिपुर मिडिया ग्रुपले आफ्नो सम्पादकीय संरचनामा व्यापक फेरबदल गरेको छ ।
कान्तिपुरले आफ्ना सबैजसो प्लाटफर्मका सम्पादकीय नेतृत्त्वलाई समेत दिशानिर्देश गर्न अर्को सर्वोच्च पद ‘ग्रुप एडिटोरियल डाइरेक्टर’ (Group Editorial Director) सिर्जना गरेको छ ।
उक्त पदमा अन्तर्राष्ट्रिय मिडियामा अनुभवी पत्रकार अनुप काफ्लेलाई नियुक्त गरेको कान्तिपुरले जनाएको छ ।
‘संस्थाको इतिहासमै पहिलो पटक सिर्जना गरिएको यो सर्वोच्च पद’ले कान्तिपुरका सबै सञ्चारमाध्यमलाई एउटै सम्पादकीय नेतृत्त्व मातहत ल्याएको देखिन्छ ।
बदलिँदो राजनीतिक र प्राविधिक परिवेशबीच कान्तिपुरले यसलाई आफ्नो संस्थागत विकासको ‘निकै महत्त्वपूर्ण मोड’ भनेको छ ।
एकीकृत सम्पादकीय नेतृत्त्वमा काफ्लेको नियुक्तिको औपचारिक घोषणा अहिले भए पनि उनी गएका ६ महिनादेखि कान्तिपुरसँगै काम गरिरहेका कान्तिपुरका पत्रकार कर्मचारीहरू बताउँछन् ।
उसो त काफ्ले कान्तिपुरका लागि नयाँ व्यक्ति होइनन् । न काफ्लेका लागि नै कान्तिपुर नयाँ हो । यसअघि सन् २०१८ देखि २०२० सम्म उनले द काठमाडौं पोस्टमा प्रधान सम्पादकका रूपमा काम गरेका थिए ।
समग्र सम्पादकीय नेतृत्त्व
नयाँ जिम्मेवारीअनुसार काफ्लेले कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमको समग्र सम्पादकीय नेतृत्त्व प्रदान गर्नेछन् ।
काफ्ले कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाप्रति सिधै जवाफदेही हुने कान्तिपुरको विज्ञप्तिमा जनाइएको छ ।
काफ्लेसँग वासिङ्टन पोस्ट, बजफिड न्युज र रेस्ट अफ वर्ल्ड जस्ता अन्तर्राष्ट्रिय सञ्चारगृहमा दुई दशक काम गरेको अनुभव छ ।
केएमजीले आफ्ना सबै माध्यममा "एकीकृत सम्पादकीय दृष्टिकोण र सशक्त नेतृत्व" दिन यो नयाँ पद सिर्जना गरेको जनाएको छ । काफ्लेले अब सबै प्लेटफर्मका लागि साझा सम्पादकीय दिशा र मापदण्ड तय गर्नेछन् ।
यसअघि प्रत्येक माध्यमका सम्पादकहरूले छुट्टाछुट्टै काम गर्ने परम्परा रहेकोमा अब एउटै नेतृत्वले सबै माध्यमको समन्वय गर्ने गरी संरचना बदलिएको देखिन्छ ।
खुला आवेदनको अभ्यास
कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले गत फागुन अन्तिम साता राजीनामा दिएका थिए । चौहानको बहिर्गमनपछि कान्तिपुरले नयाँ प्रधान सम्पादकका लागि ‘खुला आवेदन’ माग गर्दै सार्वजनिक सूचना जारी गर्यो ।
नेपालका मुलधारका मिडियामा खुला प्रतिस्पर्धाबाट प्रधान सम्पादक छान्ने यो अभ्यास विरलै हुने गर्छ ।
कान्तिपुरले हालै थप एक शक्तिशाली पद ‘म्यानेजिङ एडिटर’ (फिचर, इन्भेस्टिगेसन र इन्टरप्राइज) का लागि पनि दरखास्त आह्वान गरेको छ । यो पदमा नियुक्त हुने व्यक्तिले कान्तिपुर दैनिक र द काठमाडौं पोस्ट दुवैका लागि खोजमूलक समाचार सामग्री तयार पार्ने साझा टोलीको नेतृत्व गर्नेछन् ।
यसले दुई भिन्न भाषाका समाचार कक्षलाई एउटै टोली (Cross-publication team) मार्फत जोड्ने र समाचार कक्षका अलग अलग इकाइहरू हटाउने लक्ष्य राखेको छ ।
कान्तिपुरको विज्ञप्ति अनुसार काफ्लेको मुख्य जिम्मेवारी पाठकहरू तीव्र गतिमा प्रिन्टबाट डिजिटलतर्फ सर्दै गएको अवस्थालाई व्यवस्थापन गर्नु हो । उनले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को बढ्दो प्रभाव र आगामी दशकमा सञ्चारमाध्यममा आउने चुनौतीका लागि संस्थालाई तयार पार्नेछन् ।
प्रबन्ध निर्देशक सम्भव सिरोहियाका अनुसार काफ्लेसँग परम्परागत समाचार कक्षलाई डिजिटल रूपान्तरण गर्ने विशेष अनुभव भएकाले यो जिम्मेवारी दिइएको हो ।
“देश परिवर्तन हुँदैछ, प्लेटफर्महरू परिवर्तन हुँदैछन्, समाचार उपभोग गर्ने बानी परिवर्तन हुँदैछ, व्यापार मोडेल परिवर्तन हुँदैछ, केएमजी परिवर्तन हुँदैछ”, सिरोहियाले एक्समा लेखेका छन्, ‘र अनुप काफ्ले त्यस्तो नेतृत्त्व हुनुहुन्छ जसको आवश्यकता केएमजीलाई अहिले छ ।”
The country is changing, platforms are changing, consumption habits are changing, business models are changing, KMG is changing and @AnupKaphle is exactly the kind of leader KMG needs at this moment in Nepal.
— SambhavSwarSirohiya (@swarsirohiya) March 29, 2026
Having known him for a decade, I’m confident that under his… https://t.co/HqueEp7Eyz
दुई दशक अन्तर्राष्ट्रिय समाचार कक्षहरूमा काम गरेर देशकै सबैभन्दा ठूलो सञ्चार माध्यमको नेतृत्व गर्न मुलुक फर्केको उल्लेख गर्दे काफ्लेले आफूहरूले गर्न खोजेका कामबारे चाँडै थप जानकारी दिने एक्समा लेखेका छन् ।
After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director.
— Anup Kaphle 🐐 (@AnupKaphle) March 29, 2026
I'll have more soon on what we're building.https://t.co/2GZ9ZvgL8O pic.twitter.com/3dM79GCewo
केएमजीले यो नियुक्तिलाई आफ्नो तीन दशकको विरासतलाई थप सुदृढ बनाउने र नयाँ युगमा प्रवेश गर्ने संकेतका रूपमा लिएको छ जनाएको छ ।
काफ्लेले १५ चैत २०८२ देखि औपचारिक रुपमा आफ्नो कार्यभार सम्हालेका हुन् ।
पोखरामा हुर्केका अनुप काफ्लेको पत्रकारिता यात्रा सन् २००३ देखि सुरु भएको हो । ४२ वर्षे अनुपले अमेरिकाको कोलम्बिया स्कुल अफ जर्नलिज्मबाट स्नातकोत्तर गरेका छन् ।