कान्तिपुर दैनिकको प्रधान सम्पादकबाट हालै राजीनामा दिएका पत्रकार उमेश चौहान हिमालय टेलिभिजन नेटवर्क र अनलाइनखबर डटकमको समूह सम्पादकमा नियुक्त भएका छन् ।
चौहानले अब हिमालय टेलिभिजन र अनलाइनखबरको साझा सम्पादकीय रणनीति निर्माण गर्ने, दुई समाचार कक्षबीच समन्वय कायम गर्ने र कन्टेन्ट इकोसिस्टमलाई थप प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्ने अनलाइनखबरले जनाएको छ ।
"यसअघि बेग्लाबेग्लै र स्वायत्त संस्थाका रूपमा सञ्चालनमा रहेका हिमालय टेलिभिजन र अनलाइनखबरले अब ‘न्यूजरुम कन्भर्जेन्स’ मोडल अँगाल्दै समूह संरचनामा अघि बढ्ने निर्णय गरेका छन्", अनलाइनखबरको समाचारमा भनिएको छ । यी दुबै सञ्चार संस्था एउटै समूहले सञ्चालन गर्छ ।
समूहका अध्यक्ष धर्मराज भुसालले यो पहलको उद्देश्य गुणस्तरीय कन्टेन्ट उत्पादन क्षमता बढाउनु र डिजिटल भविष्यलाई सुदृढ गर्नु रहेको बताएका छन् ।
"न्यूजरुम समाचार उत्पादन गर्ने कारखाना मात्रै होइन, यो सार्वजनिक सेवा र सुशासन परीक्षण गर्ने 'पब्लिक सर्भिस ल्याब' हो", चौहानले आफ्नो नयाँ भूमिकाबारे भनेका छन् । उनले डिजिटल प्लेटफर्मतर्फ पाठक सर्दै गएको र अडियो–भिजुअल कन्टेन्टको बढ्दो प्रभावको सन्दर्भमा दुई संस्थाबीचको समन्वयलाई सार्थक मञ्चमा परिणत गर्ने प्रतिबद्धता जनाए ।
करिब अढाई दशकको अनुभव बोकेका चौहान छापा र दृश्य दुवै माध्यममा दख्खल राख्ने पत्रकारका रूपमा परिचित छन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक र पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन् ।
चौहानले २०८२ चैत १ गते कान्तिपुर दैनिकको प्रधान सम्पादक पदबाट राजीनामा दिएका थिए।