डा. कुन्दन अर्याल -
विश्वव्यापी महामारीका कारण समग्र मानव सभ्यता आक्रान्त भइरहेका बेला सत्यापन गरिएको जीवनोपयोगी सूचनाको महìव झनै बढेको छ । किनकि, गलत सूचना वा अफवाहको गति कोरोना भाइरसभन्दा कम छैन । यही गम्भीर समयस्यालाई दृष्टिगत गर्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन, युनेस्कोेले यस वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सार्वजनिक महìवका सूचनालाई जनताको नासोका रूपमा बुझ्न आह्वान गर्यो । युनेस्कोले विश्वव्यापी महामारीको यो सङ्कटपूर्ण घडीमा ‘इन्फरमेसन एज ए पब्लिक गुड ’ भन्नुको विशेष र व्यापक अर्थ छ ।
गएको साता विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोले गरेको आह्वान स्वतन्त्र तथा व्यावसायिक पत्रकारहरूबाट आज संसारले नै गरेको अपेक्षाको दृष्टान्त हो । यो आह्वानले सत्यापन गरिएको भरपर्दो सूचनाको उत्पादन, प्रशोधन र प्रसार गर्ने आमसञ्चार माध्यमको अत्यावश्यक भूमिकाप्रति यसका वाहकहरूको पुनः ध्यानाकर्षण गराएको छ । हिजो मात्र राष्ट्रिय पत्रकारिता दिवस मनाइएको नेपालको सन्दर्भमा यो विषय झनै सान्दर्भिक छ । नेपालका आमसञ्चार माध्यमहरूबाट सङ्कटको यो घडीमा अफवाह र हानिकारक सामग्रीलाई निरुत्साहित गर्ने झन् बढी अपेक्षा गर्नै पर्छ । वस्तुतः युनेस्कोले गरेको आह्वानजस्तै मिडियाका आमउपभोक्ताले यतिखेर विश्वभर नै संस्थागत मिडिया र व्यावसायिक पत्रकारिताको महìवलाई झन् बढी आत्मसात् गर्न जरुरी छ । कुनै पनि समाजमा र नैतिक मूल्यको कसीमा घोटिएको तथ्यपूर्ण आधिकारिक र भरपर्दो सूचनाका लागि संस्थागत आमसञ्चार माध्यमको प्रभावकारी भूमिका हुन्छ । त्यस्ता माध्यमबाट हुने व्यावसायिक पत्रकारिताले नै भ्रम र अफवाहलाई चिर्न सक्छन् ।
समाजका आर्थिक–सामाजिक र राजनीतिक क्षेत्रमा मिडियाप्रतिको निर्भरता झन्झन् बढ्दै गएको आजको युगमा मिडिया विनाको लोकतान्त्रिक समाजको कल्पना गर्न सकिंँदैन । तर सूचनाको अत्यधिक प्रवाहका बीच सत्यापनको विधि अवलम्बन नगरिएका अप्रशोधित सामग्री पनि प्रयोगकर्ताहरूबीच पुगिरहेका छन् । त्यसैले कोभिड १९ को महामारीबीच आममानिसका लागि जीवनोपयोगी सूचना र सामग्रीको प्रवाह बढाउन संस्थागत मिडिया र व्यावसायिक पत्रकारहरू नै चाहिन्छन् । गलत सामग्रीको विस्थापन सत्य र अत्यावश्यक सामग्रीले मात्र गर्न सक्छन् । तर सञ्चारका वाहक संस्थागत माध्यम वा पत्रकारहरूले आफूप्रति गरिएको यस्तो भरोसाको हरेक क्षण हेक्का राख्नै पर्छ । पढ्नुहोस् डा. कुन्दन अर्यालको लेख गोरखापत्र दैनिकमा ।